मुख्य समाचार :


शान्ति र विकासको निम्ति गॉंसियो आविप र मोर्चाबीच मित्रता


फेरि फेरियो मुद्दा 

मनोज वोगटी
कालेबुङ,30 अक्टोबर।
तिहार सक्ने वित्तिकै गोर्खा जनमुक्ति मोर्चाको नयॉं रणनीति शुरू भएको छ। छुट्टैराज्य गोर्खाल्याण्डको निम्ति जन्मिएको गोर्खा जनमुक्ति मोर्चाले पहाडको तीनवटा महकुमाको विकासको निम्ति राज्य र केन्द्रसित गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिष्ट्रेशनमा सम्झौता गर्दै हस्ताक्षर गरिसकेको छ। अहिले यसको सीमाङ्‌कनको निम्ति हाइपावर कमिटीले सर्वेक्षणको प्रक्रिया शुरू गरिरहेको छ। मोर्चाले जीटीएको निम्ति तराईको 199 अनि डुवर्सको 196 वटा मौजाको अन्तरभुक्तिको दाबी गरेको छ। यता सम्झौता अनुसार केवल गोर्खा बाहुल क्षेत्रहरू अनि त्यो पनि उनीहरूको सहमति भए मात्र अन्तरभुक्त गरिने भएको थियो। मोर्चाले जीटीएको कुरा गर्दै तराई र डुवर्सबाट गोर्खाबाहुल क्षेत्र चुँडाउने रणनीति शुरू पनि गरिसकेको थियो जसको कटाक्ष विरोध गर्दै आदिवासी विकास परिषदले पहाडलाई जीटीए दिन्छ भने तराई र डुवर्सलाई पनि एटीए दिनुपर्छ भन्ने माग शुरू गरेको थियो। आविपको यस्तो मागले मोर्चालाई अप्ठ्यारोमा त पारेको नै थियो राज्य सरकारलाई पनि असुविधामा पारेको थियो। गोर्खाहरूलाई गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिष्ट्रेशन दिँदा आदिवासीलाई पनि आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशन हुनुपर्छ भन्ने आविपको मागलाई मुख्यमन्त्री ममता व्यानर्जीले हरियो झण्डा देखाउँदै शान्ति र विकासको निम्ति आफू प्रतिबद्ध रहेको अनि तराई-डुवर्स र पहाड दुवैलाई अन्याय नगर्ने बताएपछि अचानक हिजो कालेबुङको डेलोमा गोर्खा जनमुक्ति मोर्चा अनि आदिवासी विकास परिषद्बीच गोप्य बैठक भयो। मङपङमा मोर्चा र आदिवासी विकास परिषद र गोर्खा जनमुक्ति मोर्चाले डाकेको संयुक्त पत्रकार सम्मेलनमा आविपका क्षेत्रीय अध्यक्ष जोन बार्लाले बैठक तीनघण्टा भन्दा धेर भएको बताए भने मोर्चा अध्यक्ष विमल गुरूङले भने ममता व्यानर्जीले शान्ति र विकासको निम्ति राज्य प्रतिबद्ध रहेको बताएकोले नै आविप र मोर्चाको मित्रता शुरू भएको जनाए। गुरूङ अनि बार्ला दुवैले नै मुख्यमन्त्री ममता व्यानर्जीलाई मोर्चा र आविपको संयुक्त प्रस्ताव गोर्खाल्याण्ड एण्ड आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशनबारे बताइएको जनाए। यसबारेमा दुवै दलको प्रतिनिधि टोलीले मुख्य मन्त्री लगायत गृहमन्त्रीसित पनि भेट गर्ने पनि उनीहरूले जनाएका छन्‌।

मित्रता ऐतिहासिक

आविपले मोर्चासित भएको सहमति र मित्रतालाई ऐतिहासिक मानेको छ भने मोर्चाले पनि आविपको कुरालाई सहमति जनायो। जोहन बार्लाले भने, अघइघि हामीले एकार्कालाई चिनेनौं,यसकारण लड्यौं। नोक्सान दुवैको भयो। यसरी नै लडिरह्यौं भने दुवैलाई केही हासिल हुने छैन। यो कुरा बुझेर नै मोर्चासित आजदेखि मित्रता गॉंसिएको हो। आजदेखि गोर्खा र आदिवासी भाइ-भाइ। तिनले अझ भने, गोर्खा र आदिवासी बङ्गालमा बराबर शोषित समुदाय हुन्‌। दुवै समुदायको विकासको निम्ति दुवै समुदायबीच मित्रता र संयुक्त रणनीतिको अनिवार्यता पर्छ। जो आज आएर पुरा भइरहेको छ। तिनले आविप र मोर्चाबीच फाटो ल्याउने काम वामफ्रण्ट सरकारद्वारा भएको बताउँदै ममता व्यानर्जीको सरकारमा आविप आस्थावान रहेको पनि बताए। यता मोर्चा अध्यक्ष विमल गुरूङले पनि भने, आजको सहमतिले गोर्खा र आदिवासी मात्र होइन बोडो, टोटो राभा तथा अन्य समुदायको अनुहार उज्यालो भएको छ। यो सँधै रहोस्‌। सबै नै शोषित रहेकोले संयुक्तरुपले सरकारमा दबाव बनाउनुपर्ने तिनले बताए। तिनले भने, यो मित्रता केवल विकास र शान्तिको  निम्ति भएको हो। राजनीति त हुँदै गर्छ। ममता दिदीले शान्ति चहान्छु भनेकी थिइन्‌, त्यसैको फलफल आजको दिन हो। वामफ्रण्टले हामीलाई मिल्न दिएन। गोर्खा आदिवासी टिस्टा रङ्गीत जस्तो भएर  बग्नेछ। तिनले अझ भने, हामीले आन्दोलनमा धेरै गुमाइसक्यौं। आविपले पनि गुमायो। यसकारण शान्ति र विकास अनिवार्य छ। पहाडमा त केही विकास भइरहेकै छ तर तराई र डुवर्समा भएको छैन। म सबैलाई साथ लिएर अघि बढ्‌न चहान्छु। तिनले विकास र शान्तिको कुरा बारम्बार दोहोर्‍याए तर छुट्टैराज्यको कुरो एकैपल्ट पनि गरेनन्‌। आविपसितको मित्रता केवल विकास र शान्तिको निम्ति रहेको अनि छुट्टैराज्यको निम्ति नरहेको  बुझाउन नै तिनले शान्ति र विकासको कुरा बारम्बार दोहोर्‍याइरहेका थिए।

आमालाई अनुरोध

विमल गुरूङले राज्यका मुख्यमन्त्री ममता व्यानर्जीलाई आमाको संज्ञा दिँदै भने, ममता दिदी अब गोर्खा र आदिवासीहरूकोे आमा हुन्‌। हामी तिनलाई 'तपाईँका बालबच्चाहरूलाई विकासको खॉंचो छ, हामी शान्ति कायम राख्ने छौं, दुवै सुमदाय शोषित छन्‌, उनीहरूको विकासको निम्ति आमाले सहयोग गर्नुपर्छ' भन्नेछौं। आदिवासी र गोर्खा एकैसाथ बस्ने अनि विकास गर्ने पक्षमा रहेकोले नै आविप र मोर्चाबीच सहमति बनेको बार्ला अनि गुरूङ दुवैले पत्रकारहरूलाई बताए। विमल गुरूङले आमा ममता व्यार्जीमाथि आफूहरूको भरोसा रहेको बताउँदै मुख्यमन्त्रीले उनीहरूको कुरामाथि सहमति दिने आशा पनि व्यक्त गरे।

विकास भए दङ्गा हुँदैन

गोर्खा जनमिुक्ति मोर्चाले शुरूमा छुट्टै राज्यको निम्ति आन्दोलन गरेको थियो। यसैको निम्ति अध्यक्ष विमल गुरूङ डुवर्स पस्ने कार्यक्रमको अवधी सिब्सु गोली काण्ड भएको थियो जहॉं तीनजनाले ज्यान गुमाए। यता पहाडमा गोर्खालीग नेता मदन तामङको हत्या भयो अनि अन्य धेरैले पनि ज्यान गुमाए। अब मोर्चा फेरि गोर्खाल्याण्डको आन्दोलन गर्ने पत्रमा छैन। मोर्चा पहाडको विकासको निम्ति लड्‌न चहान्छ यसैकारण नै जीटीएमा सम्झौता भएको थियो। आज विमल गुरूङले स्पष्ट भने, विकास भए दङ्गा हुने छैन। गोर्खा र आदिवासीबीच विकासको मुद्दामा सहमति र मित्रता गॉंसिएको छ। तराई-डुवर्स र पहाडका जनतालाई मात्र होइन हाइपावर कमिटी, मुख्यमन्त्री अनि गृहमन्त्रीलाई पनि यसबारेमा बुझाइने छ। तिनी अनुसार गोर्खाल्याण्ड एण्ड आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशनको निम्ति नयॉं गरी राज्य र केन्द्रसित सम्झौता हुनुपर्छ। यसमा सीमाङ्‌कनको कुरा प्रमुख थियो तर आविप र मोर्चाको सहमति पछि जम्मै डुवर्स र तराईको अन्तरभुक्तिको कुरा सहज बनेको छ। गोर्खाल्याण्ड एण्ड आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशनको सीट, यसको फण्ड तथा अन्य क्षमताहरूबारे पनि केन्द्र र राज्यसित सहमति हुनुपर्छ। यसैको निम्ति आविप र मोर्चाको टोलीले  शीघ्र नै बैठक गरेर संयुक्त रणनीति तयार पार्ने छ।

सतर्कता अनिवार्य

जोहन बार्लाले आविप र मोर्चाबीच मित्रता गॉंसिए पनि यसलाई फुटाउने धेरैपक्षबाट षडयन्त्र हुनसक्ने शंका व्यक्त गरे। तिनले भने, हामीलाई फुटाउने षडयन्त्र हुनसक्छ, आविप र मोर्चा दुवैले  सतर्कता अप्नाउनु अनिवार्य छ। अब एकसाथ एकै मञ्चबाट संयुक्त आन्दोलन हुनेछ जसलाई तराई-डुवर्स अनि पहाडका जनताले समर्थन गर्नेछन्‌। यता आविपको राज्य समिति अध्यक्ष विरसा तिर्कीको उपस्थिति थिएन यसबारे प्रश्न गर्दा राज्य सिमितिका सचिव तेजकुमार टोप्पोले राज्य समितिको प्रतिनिधि आफू उपस्थिति रहेको अनि सहमतिबारे राज्य सिमितिलाई बुझाइने स्पष्ट पारे। पत्रकार सम्मेलनमा मोर्चाको पक्षमा मोर्चा महासचिव रोशन गिरीले सम्बोधन गरेका थिए भने आविपको पक्षमा आविप क्षेत्रीय समितिका उपाध्यक्ष सुक्रा मुण्डाले सम्बोधन गरेका थिए। रोशन गिरीले आजको दिनलाई अघिको तितो अनि पछिको मीठो बताए भने मुण्डाले आफूहरुलाई 55 हजार बोडोहरू अनि अन्य समुदायको समर्थन रहेको बताए। पत्रकार सम्मेलनमा विनय तामङ, डा.हर्कबहादुर छेत्री, रोहित शर्मा, अनि डा.त्रिलोक देवानको पनि उपस्थिति थियो भने आविपको पक्षमा निकोटिन मिञ्चको उपस्थिति थियो।

0 comments: on "शान्ति र विकासको निम्ति गॉंसियो आविप र मोर्चाबीच मित्रता"