मुख्य समाचार :


कालेबुङ ट्राफिकको ब्लुप्रिन्ट अनुमोदित वाहन रखरखाउमा व्यापक परिवर्तन

मनोज वोगटी कालेबुङ, 26 सितम्बर।
अब शीघ्र नै कालेबुङको ट्राफिकमा व्यापक परिवर्तन देखिने भएको छ किन भने यसको निम्ति महिनौं लगाएर महकुमा प्रशासनले सबैको सहमतिमा तयार पारेको ट्राफिकको ब्लुप्रिन्टलाई जिल्ला शासक समक्ष पठाएको थियो। त्यसलाई जिल्ला शासकले अनुमोदन गरेर शीघ्र नै कार्यान्वयनको निर्देश कालेबुङ महकुमा अधिकारीलाई दिएका छन्‌। जिल्ला शासकद्वारा अनुमोदित ट्राफिकको चुडान्त प्रस्तावनालाई महकुमा अधिकारीले सम्बन्धित सङ्घसंस्था अनि निकायसमक्ष प्रेषित गरिसकेको छ। कालेबुङको गाडे घाउ समान बनेको ट्राफिकको समस्या समाधान गर्न वर्षौंदेखि महकुमा अनि नगरपालिका प्रशासनले प्रयास गरिरहेको थियोे। यसको निम्ति बेलाबखतमा विभागले विभिन्न नियम कानून बनाएर त्यसलाई लागू गर्ने कोशिष पनि गरेको थियो। दुइचार दिन नयॉं नियम लागू भएपनि केही समयपछि त्यसको उलङ्घन हुने र र पुरानै अवस्थामा ट्राफिकको समस्या आउने क्रम धेरैपल्ट चलिसकेको छ।
यसपल्ट भने महकुमा प्रशासन अनि नगरपालिकाले कालेबुङको गाडे घाउलाई सधैँको निम्ति निको पार्नको निम्ति प्रतिबद्ध ओप्रेशन शुरू गरिसकेको छ। यसको निम्ति निकायले कालेबुङका सम्पूर्ण राजनैतिक दल अनि सामाजिक संस्थाहरूको सहमति पनि लिइसकेको छ। 22 अगस्तको दिन महकुमा अधिकारीले सबैलाई सामेल गराएर नयॉं ट्राफिक व्यवस्थाको रुपरेखाबारे बुझाएका थिए। महिनौं दिनसम्म यसबारे विभिन्न चरणमा बैठकहरू बसेर सम्पूर्ण समस्याहरूको निदान गरेर एउटा चुडान्त योजना तयार पारेको थियो। सोही योजनाको चुडान्त खेस्रा जिल्लाशासकलाई अनुमोदनको निम्ति पठाइएको थियो। जिल्ला शासकले खेस्रालाई उपयुक्त मान्दै शीघ्र नै नयॉं ट्राफिकको नयॉं परिचालना शुरू गर्ने निर्देश कालेबुङ महकुमा अधिकारीलाई दिइसकेका छन्‌। नयॉं ट्राफिक व्यवस्था अनुसार वाहनहरूको रखरखाउमा व्यापक परिवर्तन गरिएको छ। भीड कम गराउनको निम्ति कालेबुङका सम्पूर्ण सानाठूला स्ट्याण्डमा राख्ने वाहनहरूलाई सुनिश्चित गराइएको छ भने उप्रान्त ट्राफिकको नियम पनि परिवर्तन गरिएको छ। यसकोनिम्ति क्षेत्रीय परिवहन अधिकारीले पनि नोटिफिकेशन जारी गर्दै नयॉं नियमहरूलाई शीघ्र नै कार्यान्वयन गराइनुपर्ने जनाइसकेका छन्‌। कतिवटा स्ट्याण्डमा कतिवटा वाहन राख्न सकिन्छ अनि प्राइवेट वाहनहरूलाई पनि त्यहॉं कसरी व्यवस्थित गराइनुपर्ने हो त्यसबारे पनि प्रभावकारी नियमहरू तयार पारिएको छ। नियमका प्रमुख बुँदाहरू अनुसार उप्रान्त बिहान 6 बजीदेखि 9 बजी अनि अपराह्न 2 बजीदेखि 4 बजीसम्म ट्रकहरूले शहर पस्न पाउने छैनन्‌। तोकिएको समय अघि र पछि मात्र ट्रकहरूलाई नगरमा प्रवेश दिइने छ। पसल र घरमा सामान पुर्‍याएर झार्ने काममा पनि नयॉं नियमले प्रतिबन्ध लगाएको छ। यसमा ग्यास, अन्न अथवा खाद्यान्न अनि पेट्रोल बोक्ने वाहनलाई भने छुट दिएको छ। सधैँ जहिले सुकै शहर पस्ने र ट्राफिकमा समस्या उत्पन्न गर्ने मेन लाइन ट्रकहरू शहरबाट 9 बजी निस्केर बेलुकी 4 बजी मात्र शहर पस्न पाउने छन्‌। उप्रान्त पसलहरू अघि रहेको जम्मै ट्राफिक कोन डिभाइडरहरू पनि निकालिने भएको छ। बाहिरबाट आएका सबै वाहनले यात्रुहरूलाई वर्तमान मोटर स्ट्याण्डमा उतारेर नयॉं मोटर स्ट्याण्ड(नोभेल्टी हल परिसर)मा बिसाउने छ भने वान वे-को ट्राफिक नियममा पनि फेरबदल ल्याइएको छ। उप्रान्त एम्बुलेन्स सेनाका साना वाहन, रातो बत्ती भएका अनि अधिकारीका वाहनले पनि ट्राफिकको नियम पालन गर्नुपर्ने भएको छ। मुख्य गरी सेनाका वाहनहरूले शहरमा ट्राफिक समस्या उत्पन्न गर्ने गरेको थियो। अबदेखि नगरपालिका क्षेत्रमा कुनै पनि ठूला वाहनहरू बाटो छेउमा रोकेर राक्न नपाइने भएको छ। नयॉं व्यवस्थापन अनुसार ठाउँठाउँमा नै नो पार्किङ जोन तयार गरिएकोछ जसलाई सबैले नै पालन गर्नुपर्ने भएको छ। घर निर्माणका सामाग्रीहरू उतारेपछि अति शीघ्र सामानहरू उठाइ हाल्नुपर्ने भएको छ भने अबोप्रान्त मा सुपर मार्केट अघिको दुइचक्के स्ट्याण्डलाई पुलिस क्वार्टर र सिल्भरओक्स छेउको बाटोमा सारिने छ। पुरानो मोटर स्ट्याण्डमा 6 वटा बस अनि तोकिएको संख्यामा प्रत्येक लाइनका साना वाहनहरूमात्र राखिने भएको छ। य उप्रान्त पनि धेरै टाउँमा नो पार्किङ अनि शुल्क पार्किङलाई पनि स्थापित गरिने भएको छ।

0 comments: on "कालेबुङ ट्राफिकको ब्लुप्रिन्ट अनुमोदित वाहन रखरखाउमा व्यापक परिवर्तन"