मुख्य समाचार :


जीटीएले गोर्खाहरूको राष्ट्रिय चिन्हारी पूर्ण गर्न सक्दैनःपाखरिन

गोरानिमो गोर्खाल्याण्डकै निम्ति आन्दोलनरत्‌ रहने
सन्दिप कुलुङ
कालेबुङ,20 जुलाई।
18 जुलाईको दिन पहाड़को समस्या विषय लिएर मोर्चा राज्य अनि केन्द्र सरकार माझ जीटीएमा सम्झौता भएपछि मोर्चाले जीटीएबारे जनतालाई अवगत गराउने कार्य शुरू गरेको छ भने अर्कोतिर पहाड़का अन्य दलहरूले भने जीटीएको विरोध जनाउँदै जीटीएले गोर्खाहरूको चिन्हारीको समस्या समाधान नगर्ने बताइरहेको छ।
आज गोरानिमो अध्यक्ष दावा पाख्रिनले मोर्चाले सम्झौता गरेको जीटीएमाथि असन्तुष्टि जाहेर गरेका छन्‌। आन्दोलन चिन्हारीको निम्ति रहेको अनि चिन्हारीको समस्या गोर्खाल्याण्डले मात्र पूर्ण हुने बताए।

चिन्हारीकै निम्ति पहाड़वासीले दागोपाप रद्द गरेको बताउँदै जति क्षमता र विभाग दिएपनि जीटीए बङ्गालभित्रनै रहने औ गोरानिमोले अब गोर्खाल्यण्डको आन्दोलनलाई नै अघि बढ़ाउने बताएका छन्‌। आफूले गोर्खाहरूको चिन्हारीकै निम्ति गोरामुमो त्यागेको जनाउँदै भने, हामीले भारतको संविधान अनुसार गोर्खाल्याण्ड मागेका हौं। 86 मा बाह्र सय शहीद भए, गोजमुमोले गरेको आन्दोलनमा 5-6 जनाले ज्यान गुमाउन पर्‍यो। ती शहीदहरूले जीटीए र दागोपापको निम्ति ज्यान दिएका होइनन्‌। तेलेङ्गनाले आफ्नो आन्दोलन जारी राखेको छ भने गोर्खाहरूलाई मात्र हतार किन? उनले प्रश्न गरे।
सम्झौता भएको दिन बङ्गालका मुख्य मन्त्री ममता ब्यानर्जीले बङ्गाल टुक्रा हुँदैन भन्दा पहाड़वासीले थपड़ी बजाएको कुरा बढ़ो दुःख लाग्दो रहेको बताउँदै पाखरिनले भने, यसरी मानिसहरूले थपड़ी बजाउनु जीटीए पहाड़वासीको निम्ति सन्तुष्ट रहेको प्रमाण दिनु हो। सरकारले त्यस दिन पहाड़वासीको मन बुझेर गएको छ। गोर्खाहरूको निम्ति यो ठूलो घात हो।

गोरानिमोले अब गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढ़ाउने आज घोषणा गरेको छ भने अगस्त महीनाको पहिलो हप्तामा दिल्लीमा धर्ना दिने भएको छ। यसरी महाराष्ट्र अनि अन्य ठाउँमा पनि गोरानिमोले सेमिनार गर्ने भएको जनाउँदै उनले भने आन्दोलनबाट थाक्नेहरू जीटीएमा बस्दा हुन्छ। गोर्खाल्याण्ड आन्दोलन गर्नेहरूलाई हामी स्वागत जनाउँछौं।

जीटीएमाथि विपक्ष खेमाबाट विरोधको निकै बयानबाजी भएको भए पनि आजसम्म कुनै दलले खुलेर विरोध भने गरेको छैन। यसै विषयमाथि प्रश्न गर्दा उनले आफ्नो बलबुँता अनुसार विरोध जनाउने अनि उनले आन्दोलनलाई मार्ग निर्देश गर्ने कार्य गरिरहेको बताउँदै भने, हामीले विधानसभा चुनाउमा मैन बसेर सघाएका थियौं तर काम बिराएको ठाउँमा हामी अवश्यै औंल्याउँछौं।
मोर्चाले दाबी गरेको अन्तर्भुक्तिमाथि जान्न चाहँदा उनले मोर्चाले सम्झौता गरेको खेस्रा अनुरूप डुवर्सको दुइचारवटा गाउँ मात्र गाभ्न सक्ने औ छैंटौं अनुसूचिमा गाभिएका क्षेत्रहरू कालीझोड़ा, सेभोक, निरपानी, नक्सलबारी आदि क्षेत्रहरू मात्र पस्न सक्ने सम्भावना रहेको बताएका छन्‌। मोर्चाले दाबी गरेको डुवर्स क्षेत्र भने जीटीएमा गाभ्न नसक्ने पनि उनले बताएका छन्‌।

0 comments: on "जीटीएले गोर्खाहरूको राष्ट्रिय चिन्हारी पूर्ण गर्न सक्दैनःपाखरिन"