मुख्य समाचार :


राष्ट्रिय राजमार्ग 31 ए आठ घण्टासम्म अचल

प्रज्ज्वल वोगटी कालेबुङ,20 जुलाई।
मंगलबार राती अनि वुधवार विहान परेको भारी वर्षाको कारण सिक्किमको जीवनरेखा राष्ट्रिय राजमार्ग 31 ए. टिस्टादेखि 1.5 किमि. टाड़ामा 40 मिटर भित्ता धस्किएपछि आठ घण्टासम्म सिक्किमको यातायात सेवा देशसँग बिछिन्न बन्यो। आज विहान 5.30 देखि 6 बजीको बीचमा उक्त ठाउँमा पैह्रो आएको थियो। गत वर्ष मात्र उक्त ठाउँमा नै पैह्रो गएपछि भर्खरै मात्र पैह्रो रोकथाम कार्य पूर्ण भइसकेको थियो।
आज त्यहीं ठाउँमा पुनः भयानक पैह्रो गएकोले गत वर्ष मात्र भित्तामा जाली तारहरूले बेहेरेर लगाइएको देवलहरू पूर्ण रूपले यसपल्टको पैह्रोले भत्किएको छ। आज गएको पैह्रोको खबर पाएपछि ग्रेफ अधिकारी उक्त ठाउँमा पुगी पैह्रो सोहोर्ने कार्य शुरू भएको थियो। सिक्किम कालेबुङ अनि कतिपय दार्जीलिङतर्फ गइरहेका यात्रीहरू सड़कको दुइपट्टि कैयौं घण्टासम्म फँसेका थिए। पहिले ग्रेफको एक डोजरले दिउँसो बाह्र बजेसम्म पैह्रो गएको ठाउँमा भित्ता काट्‌ने कार्य गर्‍यो।

पछिबाट एकतर्फी बाटो खोलिएपछि ट्रान्सिपको माध्यमबाट यात्रीहरू आवत-जावत गरेको देखियो। ट्रान्सिपमा मौकाको फाइदा उठाएर ड्राइभरहरूले धेरै नै मनमानी पनि गरिरहेको थियो। उक्त ठाउँमा आज ट्राफिक व्यवस्था अनियन्त्रित रहेको थियो।
पैह्रो सोहोर्नको निम्ति ग्रेफ अधिकारीले पछिबाट अझ एउटा जीसीबी राहत कार्यमा लगाएपछि लगभग 1.30 बजेतिर सड़कको माथिल्लो भित्ता काटेर वाहन हिँड्‌न लायकको बनाइयो। त्यसपछि धेरै हदसम्म कालेबुङ अनि सिक्किमगामी वाहनहरूले राहत पाए। हाल राजमार्गमा दिनहुँ जाने गरेको पैह्रोले सिक्किमगामी वाहनहरूलाई सबैभन्दा धेर असर परिरहेको छ।
आज पनि सिक्किमको धेरजसो वाहनहरू आधा बाटोबाट नै पुनः सिक्किमतर्फ नै फर्किए भने कालेबुङगामी वाहनहरू गोरूवथान भएर गुड़े। समाचार लेखुञ्जेलसम्म राजमार्गमा वाहनहरू केवल एकतर्फी मात्र चलिरहेको थियो। ग्रेफ अधिकारी एई बलवन्त सिंहले बताए अनुसार बाटो चॉंड़ै नै फराकिलो बनाएर बाहनहरू दुइतर्फी हिँड्न लायकको बनाइनेछ।

0 comments: on "राष्ट्रिय राजमार्ग 31 ए आठ घण्टासम्म अचल"