मुख्य समाचार :


घिसिङ र विमलले दुइवटा अध्याय सके पछि अब गोर्खाल्याण्डको निम्ति खास अध्याय शुरू हुनेछ-सी.के श्रेष्ठ

मनोज वोगटी
कालेबुङ,10जून।



विकास गोर्खाल्याण्ड होइन

गोर्खा जनमुक्ति मोर्चाले अहिले जुन शीर्षक विनाको व्यवस्था ल्याउने तरखर गरिरहेको छ, यसैलाई नै गोर्खाल्याण्ड बताइरहेको छ। मान्नेले गोर्खाल्याण्ड माने ठीकै छ नमान्नेलाई पनि मोर्चाले भनेको छ, यही गोर्खाल्याण्डको घड़ेरी हो। गोर्खाल्याण्डको नाममा आइरहेका यस्ता तमाम टिप्पणीहरूलाई मिशन जाग्रत समाजले दलीय वर्चस्वको बाध्यता मात्र मानेको छ। क्षेत्रीय दलहरूलाई लिएर कहिल्यै टिप्पणी नगर्ने समाजका निदेशक सी.के.श्रेष्टले भने, मोर्चा भनेको क्षेत्रीय दल हो। क्षेत्रीय दलले क्षेत्रीय आवश्कताका कुराहरूकै वकालत गर्छ। पर्यटन, स्थायीकरण, कलेज, पैसा, चौकी उनीहरूको मुद्दा हुन्छ।

यस हिसाबले कमसेकम तीनोटा महकुमाको विकासको निम्ति यो दलले जति कुरा ल्याउँछु भनिरहेको छ, त्यो राम्रो कुरा हो। खुद्रा समस्या समाधान गर्ने यस्तो दलको कामै हो। यति पनि गरेन भने राजनैतिक खेलो कसरी हुन्छ? विकास हुन्छ भने, कुरा ठीकै हो तर यसलाई गोर्खाल्याण्डसित जोड्यो भने चॉंही पत्याउने कुरा होइन। मोर्चाको यो व्यवस्था र गोर्खाल्याण्डबीच गोरू बेचेको साइनो पनि छैन।


अब तेस्रो अध्याय

सुवास घिसिङले पहिलो अध्याय सक्यो, विमल गुरूङले दोस्रोे अध्याय सके अब राष्ट्रिय स्तरमा तेस्रो अध्याय शुरू हुने छ। सी.के श्रेष्टले अहिलेसम्मको आन्दोलनहरू(घिसिङ र विमलको आन्दोलन) गोर्खाल्याण्डको निम्ति नै नभएको स्पष्ट पार्दै भने, गोर्खाल्याण्ड भनेको भारतभरिका डेड़ करोड़ गोर्खाहरूको राष्ट्रिय र राजनैतिक चिह्नारीको प्रश्न हो। पहाड़को पर्यटन, अस्थायीहरूको समस्या, विकास भनेको गोर्खाल्याण्डको कुरा होइन। यो त क्षेत्रीय समस्याहरू हुन्‌। मोर्चाले छुट्टै राज्यको होइन छुट्टै विकासको आन्दोलन गरेको, 11 पल्टको वार्ताको निष्कर्षले स्पष्ट पार्छ। मोर्चाले क्षेत्रीय समस्या समाधान गर्‍यो, ठीकै गर्‍यो तर गोर्खाल्याण्डको आन्दोलन गरेन।

राष्ट्रियस्तरमा सहमति बिटो पारेर संसदमा पुग्नुपर्छ गोर्खाल्याण्डको लागि। उनीहरू ममताकोमा पुगे। ममता र गोर्खाल्याण्डको सन्दर्भ अत्यन्तै हासँ उठ्‌दो कुरा हो। ममता त गोर्खाल्याण्डको सन्दर्भमा अत्यन्तै अन्तिममा आउने कुरा हो। तिनले मोर्चाले ल्याइने भनिएकै व्यवस्थालाई नै गोर्खाल्याण्ड भनिरहेको अथवा त्यहींबाट गोर्खाल्याण्ड पुग्ने भनेर दिइरहेको बयान जनतालाई बोरामा सुताउने कुरा रहेको बताउँदै भने, गोर्खाल्याण्ड हुनको निम्ति देशले नै गोर्खाहरूलाई मूल स्रोतमा देेख्नुपर्छ।

गोर्खाल्याण्ड चिह्नारीको प्रश्न
गोर्खाल्याण्ड चिह्नारीको प्रश्न हो। त्यो तब पुरा हुन्छ जब राज्य हुन्छ। राज्य भएपछि देशको शासनप्रणालीभित्र गोर्खाहरूको सहभागिता हुन्छ। जब यस्तो हुन्छ तब गोर्खाहरूमा चिन्हारीको संकट हुँदैन। यसको निम्ति राष्ट्रियस्तरमा आन्दोलन हुनुपर्छ। दार्जीलिङस्तरमा होइन। अहिलेसम्म दार्जीलिङस्तरमा आन्दोलन भएकोले घुँड़ा टेक्नुपरेको हो। आन्दोलन दार्जीलिङ केन्द्रित भइरहेको छ, जब कि राष्ट्रिय केन्द्रित हुनुपर्ने हो। यस्तो त मोर्चाले गरेको छैन। मान्छे दिल्ली पुगेर राष्ट्रिय आन्दोलन हुँदैन। मुखमा मात्र राष्ट्रिय नभएर मानसिकतामा राष्ट्रिय हुनुपर्छ। कार्यप्रणाली र कार्यनीतिमा राष्ट्रिय हुनुपर्छ।

मोर्चाले विकासको कुरा ल्यायो स्वागत योग्य छ, तर मोर्चाले गोर्खाल्याण्ड ल्याउन सक्दैन किन भने एउटा सानो क्षेत्रमा भएको आन्दोलन भनेको छुट्टैराज्यको होइन क्षेत्रीय समस्या समाधानको निम्ति हुन्छ, उदाहरण मोर्चा र अहिले मोर्चाको व्यवस्था हो। यस कुरालाई अझ स्पष्ट पार्दै तिनले भने, जुत्ता लिनु गएको मान्छे लेस लिएर आउँछ। जुत्ता नै लिएर आयो भने लेस आफै आउँछ नी। गोर्खाल्याण्ड भनेर गएको विकास लिएर आउँछ, गोर्खाल्याण्ड लिएर आयो भने विकास आफै आउँछ नि त। दार्जीलिङको 10 लाख जनताले गोर्खाल्याण्ड माग्दा दिँदैन। देशभरिका डेड़ करोड़ गोर्खाले माग्नुपर्छ। देशभरिका गोर्खाहरूको सहमति बटुलेर संसद जानुपर्छ र पो यिनीहरूको मुद्दा गम्भीर रहेछ भन्छ त,10 लाखको सहमति लिएर गयो भने त पैसा र विकास नदिएर के दिन्छ त? अहिले यस्तै भइरहेको छ।

तिनले अब दुइ अध्याय सकिएको अनि दार्जीलिङ क्षेत्रका जनताले पनि कुरा बुझेको बताउँदै तिनले अब चॉंड़ै नै एउटा राष्ट्रियस्तरको सङ्गठन हुने जसले राष्ट्रियस्तरमा नै सहमति बटुलेर छुट्टैराज्यको निम्ति कार्य गर्ने बताउँदै भने, दुइवटा च्याप्टर क्लोज भयो अब अर्को च्याप्टरको संघारमा छौं। अब अहिलेको परिप्रेश्र्यमा देशको संसदीय प्रणालीमा छुट्टाराज्यको सान्दर्भिकता बुझ्नेहरूको जमात बटुलेर काम गरिनेछ। कुरा राष्ट्रिय गर्ने तर क्षेत्रीय स्तरमा राजनैतिक बाध्यताको कारण घुँड़ा टेक्ने दल र नेताहरू चाहिएन।

भारतीय मूलस्रोतमा गोर्खाहरूको दाबीलाई स्वीकार गर्नुपर्ने बाध्यता निर्माण गरिनुपर्छ। हाम्रो मुद्दाले राष्ट्रियस्तरमा सैद्धान्तिक स्वीकृति पाउनुपर्छ। अब क्षेत्रीय समस्या पनि मोर्चाले समाधान गर्‍यो। देशभरिका क्षेत्रीय दल र सङ्गठनहरूकोे पनि सहमति लिएर राष्ट्रियस्तरमा आन्दोलन हुनुपर्छ।

भागोपले फेरि सोंच्नुपर्छ
सी.के श्रेष्ठले राष्ट्रियस्तरमा गोर्खाल्याण्डको निम्ति काम गर्न सक्ने सङ्गठन भागोप होइन भन्ने प्रश्नको जवाबमा भने, हो, तर यसले काम गरिरहेको छ त? जब कि 22 वटा राज्यमा रहेको यो सङ्गठनले तीनवटा महकुमामा भइरहेको आन्दोलन र नेता विमल गुरूङलाई पूर्ण समर्थन पाएको नेताकोरूपमा समर्थन गर्दै मुद्दा नै जिम्मा लगाउने राष्ट्रिय समितिले प्रस्ताव ग्रहण गर्छ।

यो त बाल्टिको पानी मगमा हालेको जस्तो भयो। यस्तो मानसिकतालाई जबसम्म त्याग्दैन तब भागोपबाट आशा गर्न सकिँदैन। भागोपले फेरि सोंच्नुपर्छ। आफूलाई चिन्नुपर्छ। आफ्नो स्वरूप चिनेन भने यो राष्ट्रियस्तरबाट क्षेत्रीयस्तरमा खुम्चिन्छ। अहिले गोर्खाल्याण्डको ग पनि वार्तामा नउठेको कुरामा विस्मात मान्दैछ। जब कि मुद्दा नै जिम्मा लगाइएको हो। यदि विस्मात धेरै अघि मानिएको भए यस्तो अवस्था आउने थिएन। भागोपले रिथिङ्‌क गरेन भने, धेरै विस्मातहरू मान्नु पर्ने छ।

डा.हर्कबहादुर छेत्रीले जातिको गरिमामा चोट पुर्‍याएका छन्‌
कलकत्तामा ममता सरकारसित पहाड़को विकासको निम्ति तयार व्यवस्थामा चुक्ति गरेर कालेबुङ फर्किने वित्तिकै पत्रकार सम्मेलन डाक्दै मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले गोर्खाहरूमा राज्य चलाउने क्षमता नै छैन, घिसिङले यस्तो बनाइदिएका छन्‌ कि नगरपालिका चलाउने क्षमता पनि हाम्राहरूमा छैन, राज्य चलाउने प्रणाली सिक्नकै निम्ति यो व्यवस्था हो भन्ने आशयमा मन्तव्य दिएका थिए।

श्रेष्ठले यसमाथि टिप्पणी गर्दै भने, गोर्खा जातिको मानिलिएका नेताहरूले आफ्नो जातिको क्षमतामाथि शंका गर्नु, जातिलाई हियाएर, हाम्रो कुनै ल्याकत छैन भन्नु जातिको गरिमामा ठेगोर्खाल्याण्ड चिह्नारीको प्रश्न पुर्‍याउने दुर्भाग्यपूर्ण वक्तव्य हो। किन भने सिक्किमलाई हेरौं, गोर्खाहरूले नै राम्रो मात्र होइन, देशमा नै मोडल राज्यकोरूपमा स्थापित गरेका छन्‌। उनीहरूले राज्य चलाउने ट्रेनिङ कहॉं लिए त? राज्य चलाउने ट्रेनिङ कहॉं हुन्छ? जुन दलमा आईएएस, आइपिएस, डाहरूको भरमार छ, त्यही राजनैतिक दलको नेताले हाम्रोमा राज्य चलाउने क्षमता छैन भन्नु कसैको चित्त बुझ्ने कुरा होइन। गोर्खाले एउटा सिङ्गो राष्ट्र छिमेकमा नै चलाइरहेको छ। आसममा विधानसभाको अध्यक्ष राई छन्‌। मौका मात्र पाएका छैनन्‌, गोर्खाहरूमा राष्ट्र चलाउने क्षमता छ। डा. छेत्रीको यो वयान त अहिले गोर्खाल्याण्ड ल्याउन नसकेकोमा,अरू नै थोक ल्याउन सकेकोमा जस्टिफिकेशनको निहू मात्र हो। वास्तमा साह्रै मनदुख्ने कुरा हो यो। जातिको गरिमा धमिल्याउने कुरा हो। दुर्भाग्यपूर्ण कुरा हो।

0 comments: on "घिसिङ र विमलले दुइवटा अध्याय सके पछि अब गोर्खाल्याण्डको निम्ति खास अध्याय शुरू हुनेछ-सी.के श्रेष्ठ"