मुख्य समाचार :


मोर्चाले परिषद् थाप्नु, देशभरिका गोर्खाहरूको ढॉंड़मा छुरी हान्नु बराबर-आरबी

मनोज वोगटी
कालेबुङ,15जून।


गोर्खा जनमुक्ति मोर्चाले दागोपापको विकल्पमा सम्भवत्‌ गोर्खाल्याण्ड शब्द अघि झुण्डाइएको परिषद् थाप्ने भएपछि देशभरि नै यसको विरोध चर्किएको छ। धेरै दिनसम्म मौन रहेर जब गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले पनि कुरा मिले परिषद् नै थाप्ने बताएपछि तिनी झै मौन रहेका क्रामाकपा अध्यक्ष आर।बी. राईले पनि मौनता तोड्दै मोर्चाले परिषद् थापे गोर्खाहरूको गोर्खाल्याण्डको इतिहासमा नै सबैभन्दा ठूलो धोका हुने जनाएका छन्‌।

टेलिफोनमा कुराकानी गर्दै राईले भने, मोर्चाले यो अर्को दागोपाप थाप्यो भने दार्जीलिङका 20 लाख जनतालाई त धोका हुने नै छ दार्जीलिङ बाहिरका 1 करोड़ 30 लाख गोर्खाहरूलाई महाधोका हुनेछ। तिनले जनाए अनुसार मोर्चाले गोर्खाल्याण्डको आन्दोलन नै गरेको थिएन। मोर्चाले जनतालाई गोर्खाल्याण्डको निम्ति बटुलेर घिसिङको ठाउँ ओगट्‌ने राजनीति गर्‍यो। तिनले भने, भर्खर भएको चुनाउसम्ममा मोर्चाले गोर्खाल्याण्डको नारा भट्टाएको हो। अझ पनि जनता सड़कमा उत्रिएर दागोपाप, सेटअप, प्राधिकरण भन्दैनन्‌, उनीहरू केवल गोर्खाल्याण्ड भन्छन्‌। तर त्यसको ठीक विपरित मोर्चाका नेताहरू भने दागोपाप, सेटअप, प्राधिकरण, परिषद् भन्छन्‌। जनताले छुट्याउनपर्छ नेताको इच्छा पुरा हुँदैछ कि जनताको?

तिनी अनुसार क्रामाकपाले मोर्चाले गोर्खाल्याण्डको पक्षमा चुनाउ नलड़ेको र भोट नहालेको यही परिणतिको संकेत पाएर नै हो। सबै दल मिलेर चुनाउ लड़ेको भए मोर्चाले फाइदा लिन पाउने थिएन। क्रामाकपाले जब मोर्चाले प्राधिकरण खारेज गर्‍यो, तब गृहमन्त्रीलाई मोर्चाले बुझाएको प्रस्ताव लिखितरूपमा खारेज हुनुपर्ने कुरा उठाएको थियो। त्यसबेला पनि मोर्चाले प्राधिकरण वा सेटअप पूर्णरूपले त्यागेको कुरा बताएर जनतालाई ढॉंटेको हो। तिनले भने, अब मोर्चाले भनोस्‌, त्यसबेला हामीले ढॉंटेका थियौं, हामीले गोर्खाल्याण्ड होइन, दागोपाप नै मागिरहेका थियौं। तिनले अझसम्म पनि जनतालाई मोर्चाले ढॉंटिरहेकै बताउँदै अझ भने, हीरामोति नै दिए पनि नथाप्ने, गोर्खाल्याण्ड नै ल्याउने भन्ने विमल गुरूङले दागोपाप थापिरहेका छन्‌।

जसले देशभरिका गोर्खाहरूको आकांक्षालाई पुरा गर्दैन। तिनी अनुसार विमल गुरूङले स्पष्ट पार्नुपर्छ कि तिनले देशभरिका गोर्खाहरूलाई धोका दिएकै हुन्‌। गोर्खाल्याण्डको मुद्दा दार्जीलिङको समस्याको समाधान नरहेको भन्दै तिनले भने, गोर्खाल्याण्डको मुद्दा गोर्खाहरूको चिह्नारीको सवाल हो। पैसाको निम्ति गरिएको आन्दोलन यो होइन। तिनले नेताले नै जनता थाकेको कुरा बताउनु र जनताले नचाहेको कुरा जनताकै निम्ति लिएर आएको भन्नु दुर्भाग्यको कुरा रहेको पनि बताए।

तिनले भने, देशभरिका जनता चिन्हारीको निम्ति लड्‌न तयार छन्‌ भने कसरी नेताले जनता थाकेको कुरा गर्न सक्छन्‌? तिनले मोर्चाले यो व्यवस्था ग्रहण गरेर गोर्खाल्याण्डको निम्ति राजनैतिक बाधा खड़ा गरिरहेको पनि जनाए। जब संविधानले दिन्छ भन्दै छ, फेरि कसरी मोर्चाले गोर्खाल्याण्ड नै दिँदैन भनिरहेको छ? भन्दै तिनले राज्य सरकारले पहाड़बाट राजस्व उठाएपछि त्यहॉंको विकास गर्ने कर्तव्य रहेको बताए।

तिनले भने, राज्य सरकारले गर्ने विकासको निम्ति मोर्चाले किन सम्झौता गर्दैछ? सीमाना हुनुपर्छ तर गोर्खाल्याण्डको निम्ति। जब ममताले सरकारमा हुँदा अनि नहुँदा पनि बङ्गाल विभाजन नै हुँदैन भनिरहेकी छन्‌, उनीसित कसरी कुरा राम्रो हुनसक्छ? बङ्गाल विभाजन नै हुँदैन भन्नेसित कसरी भारतभरिका गोर्खाहरूको हीतमा निर्णय हुनसक्छ? तिनले मोर्चाले ल्याउने व्यवस्था केवल क्षमता हस्तान्तरण मात्र रहेको बताउँदै भने, मोर्चा नैतिकरूपले मुद्दाप्रति इमान्दार नरहेको अनि विकासको कुरा गरेको कारण नै यो सम्झौतामा ममता सरकार आएको हो। यो व्यवस्था थाप्नु, देशभरिका गोर्खाहरूको ढॉंड़मा छुरी हान्नु बराबर हो।

0 comments: on "मोर्चाले परिषद् थाप्नु, देशभरिका गोर्खाहरूको ढॉंड़मा छुरी हान्नु बराबर-आरबी"