मुख्य समाचार :


गोर्खाल्याण्डको निम्ति अब नयॉं जिल्लाहरू बनाइनुपर्छ-पाखरिन

मनोज वोगटी कालेबुङ, 26 मई।

अब गोर्खाल्याण्डको निम्ति नै दार्जीलिङ जिल्लामा नयॉं जिल्लाहरूको निर्माण हुनुपर्ने माग गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले गरेकोछ। यसै सन्दर्भमा आ गोरामुमोका खॉंटी नेता तर खेदुवा लागेपछि गोरामुमो छोड्दै अर्कै राजनैतिक सङ्गठन खोलेर पहाड़मा पुनः आफूलाई स्थापित गर्न प्रयासरत्‌ दावा पाखरिनले एनजेपीमा नेपाली भाषामा उद्घोषणा हुनु गोर्खाल्याण्डको निम्ति शुरुवाती खुड्‌किलो रहेको बताए। तिनी गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाका अध्यक्ष हुन्‌। दल गठन गर्दै आफ्नो दलको कार्यचरित्र अन्य दलहरूको तुलनामा फरक हुने तिनले घोषणा गरेका थिए। छुट्टै राज्य गठन हुनु हो भने यसको निम्ति क्षेत्रीय पूर्वाधारहरूको निर्माण हुनुपर्ने तिनको सोंच रहेको छ। यसैकारण तिनले तिनबुँदे आन्दोलन अहिले चलाइरहेका छन्‌।

तिनले भने, पहिलो बुँदामा नै रेलवे स्टेशनमा नेपाली भाषामा उद्घोषणा हुनुपर्ने माग छ। जसको दाबी ममता सरकारमा आउन अघि नै गरिएको थियो। ममता व्यानर्जीले तीन महिनामा पहाड़को समस्या समाधान गर्ने हो भने पहिलो कदममा रेलवे स्टेशनमा नेपाली भाषामा उद्घोषणा हुनुपर्छ भनेर माग गरिएको थियो। जो सफल भयो। यसको निम्ति ममता लगायत सम्बन्धित सबै नेतृत्वलाई गोरानिमोको आभार छ। तिनले छुट्टैराज्य हुनु हो भने दार्जीलिङ जिल्लामा जिल्लाहरूको संख्या जनसंख्या अनि क्षेत्रफलको हिसाबमा बढ़ोत्तरी हुनुपर्ने बताउँदै भने, अन्य दुइवटा बुँदामा खरसाङ, कालेबुङ, दार्जीलिङ, मिरिक, मतिगढ़ा, गोरूबथान, बिजनबारी, सुकिया पोखरी, नक्सलबाड़ीलाई जिल्ला बनाइनु अनि यसै हिसाबले खण्डहरूको पनि विस्तारण हुनुपर्ने बताए। तिनले भने, एउटा जिल्ला देखाएर राज्य हुन सक्दैन। यसकारण पहिले नयॉं जिल्लाहरूको निर्माणको निम्ति आन्दोलन हुनुपर्छ। गोरानिमोको फरक कार्यशैली नै यसप्रकारको छ। तिनले यसबाहेकपनि आफ्नो कार्यसूची अनुसार तयार अर्को बुँदाबारे बताउँदै भने, रेलवे स्टेशनमा नेपाली भाषा बोल्न थाल्यो, अब बङ्गला भाषामा लेखिएको राशिन कार्ड, जमीनको पर्चापट्टा, भोटर कार्ड नेपाली भाषामा हुनुपर्छ।

यसको निम्ति पनि ममतालाई तीन महिनाको अल्टिमेटम दिइएको छ। तिनले यसप्रकारको पहल गोर्खाल्याण्डको निम्ति रहेको बताउँदै भने,पहिले गोर्खाल्याण्ड हुनसक्ने आधारहरूको निर्माण हुनुपर्छ। यसो नगरी गरिएको आन्दलनको उद्देश्य अन्तमा प्याकेज थाप्नु मात्र हुनेछ। अर्कोतिर तिनले अन्य दल र नेताहरूलाई खेदुवा लगाउने प्रवृति हुर्किरहेको बताउँदै भने, मोर्चाका विधायकहरू मोर्चाको मात्र होइनन्‌। उनीहरू जनप्रतिनिधीहरू हुन्‌। अब जो पनि उच्छेद हुन्छन्‌ त्यसको दायी विधायकहरू हुने छन्‌।

0 comments: on "गोर्खाल्याण्डको निम्ति अब नयॉं जिल्लाहरू बनाइनुपर्छ-पाखरिन"