मुख्य समाचार :


ठोस दोष देखाउ-डा.छेत्री

मनोज वोगटी
10 मई, कालेबुङ।


अन्तरिम प्राधिकरणको कुरा गरेदेखि मोर्चाले सबै दलहरूबाट आलोचना खप्न परिरहेको छ तर मोर्चाको स्पष्ट बयान के छ भने मोर्चाले केन्द्र सरकारलाई बुझाएको प्रस्तावलाई कुनै दलले अध्ययन नै गरेको छैन। केवल शंका र मनको बाधले खाएको कुरा नै अघि आइरहेको छ। कुनै पनि दोष लगाउन अघि त्यसको पक्का तथ्य अघि राखिनुपर्ने तर कुनै पनि दलले मोर्चालाई लगाइरहेको दोषको कुनै आधारभूमि नै नरहेको मोर्चाले ठानेको छ।

मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले भने, दोष देखाउने हो भने ठोस्‌ दोष देखाउ, कुटनीति नखेल।
मोर्चाले बुझाएको प्रस्ताव पढ, केलाउ र के सही छैन स्पष्टरूपले बताउ। यसो गर्न सक्दैन भने गनगन नगर। तिनले मुख्यगरी क्रामाकपा नेता आर.बी. राईलाई लक्ष्य गर्दै भनिरहेका थिए। राईले चलिरहेको आन्दोलनलाई सरकारी प्रयोजना रहेको बताउँदै मोर्चा सरकारले फ्यॉंकेको जालमा परेको कारण नै मुल मुद्दाबाट पछि हटेर गोर्खाल्याण्ड मुनीको कुरा गरिरहेको आरोप लगाएका थिए। डा. छेत्रीले भने, मोर्चाले गरेको 11 पल्टको वार्ता चॉंही महत्वपूर्ण छैन ,क्रामाकपाले जन्तरमन्तरमा गरेको धर्ना चॉंही ठूलो? के आधार छ क्रामाकपासित कि यस्तो राजनैतिक असचेत आरोप लगाइरहेको छ। क्रामाकपाले बुझ्नुपर्छ कि मोर्चा गोर्खाल्याण्डको पक्षमा नरहेको भए यतिबेला कुनै व्यवस्था आइसक्ने थियो। मोर्चाले गोर्खाल्याण्डकोे कुरा गरेकै कारण वार्ता 11 पल्ट भयो।

गोर्खाल्याण्डदेखि मुनीको व्यवस्थाको कुरा गर्न एउटै वार्ता काफी हुन्छ। तिनले क्रामाकपाले मोर्चालाई आक्रमक आरोप लगाइरहेको बताउँदै भने, भोट नहाल्दा गोर्खाल्याण्ड हुने होइन। भोट बहिष्कारलाई आन्दोलनको इतिहासमा दोषपूर्ण मानिन्छ। मोहन दुखुनलाई बहिष्कार गरेकोले नै विधायक बनाइएको थियो। भोट नहालेर क्रामाकपाले कसलाई पाइदा पुर्‍याउन खोजेको हो त्यो क्रामाकपाले जानोस्‌ तर मोर्चाले भोट लड़ेर मुद्दालाई कसरी कहॉंनेर हानी पुर्‍यायो त्यो बताओस्‌। क्रामाकपाले दिएको उम्मेद्वारलाई नै मोर्चाले समर्थन गर्नुपर्थ्यो कि? क्रामाकपा र आर.बी.राईले बुझ्नुपर्छ मोर्चाले आन्दोलन गरिरहेको छ अनि क्रामाकपाले राजनीति। यही कार्मिक भिन्नताको कारण नै मोर्चा यहॉंसम्म आइपुगेको छ अनि क्रामाकपा जहीको त्यहीँ छ। गर्ने थियो भने क्रामाकपाले किन आन्दोलन गरेन? किन गोरामुमोको जरा उखेल्न सकेन? मोर्चाले आन्दोलन गरेको छ यसकारण जनता मोर्चासित छ।

काम नै नगर्ने दलले घरमा बसेर प्रेस विज्ञप्तीको भरमा राजनीति गर्नु हुँदैन। क्रामाकपा यति धेरै सचेत र ज्ञानी हो भने गोर्खाल्याण्डको निम्ति खै के गरिरहेको छ। जन्तमन्तरमा धर्ना गरेर गोर्खाल्याण्ड हुँदैन। हाम्रो ससाना सङ्गठनहरूले जति धर्ना जन्तरमन्तरमा गरेको छ, संख्याकै हिसाबमा पनि क्रामाकपा डल्लै पार्टीले गरेको छैन। क्रामाकपालाई भाले दल बताउँदै डा.छेत्रीले भने, क्रामाकपा नफल्ने बोट हो। यत्रो वर्ष फलेन। पहिले आन्दोलन गर्नुपर्छ अनि आन्दोलन गर्नेहरूको आलोचना गर्नुपर्छ। अल्छेले परिश्रमीलाई सिकाउनु मिलेन। यति कुरा त क्रामाकपाले बुझ्नुपर्ने हो। तिनले स्पष्ट भने, ठोस दोष देखाइए हामी मान्ने छौं। तर यसरी दोष देखाउने क्षमता कुनै नेतामा छैन।

क्रामाकपाका गोविन्द छेत्री र एल.बी.परियारको तुलना हुन सक्दैन। देखाउँछ भने सही र ठोस दोष देखाउनुपर्छ। नत्र बोल्नै भएन। जुन विषयको जानकारी छैन त्यो विषयमा बोल्नु भएन। अर्कोतिर तिनले गोरामुमोलाई लक्ष्य गर्दै गोरामुमो मिडीयाले बँचाएर ल्याइरहेको दल रहेको जनाए। गोरामुमोले मोर्चालाई धम्की दिनु लाजस्पद् रहेको जनाउँदै तिनले भने, जस्तोलाई त्यस्तै जवाब दिन मोर्चा तयार छ। गोरामुमोले धम्की नदियोस्‌।

0 comments: on "ठोस दोष देखाउ-डा.छेत्री"