मुख्य समाचार :


मङ्‌पूमा शुरू भयो चिरौटोको खेती


डी.के.वाइबा
मङ्‌पू, 27 मई।

भारत सरकारको औषधीय पौधाहरूमाथि चलिरहेको राष्ट्रिय अभियान अन्तरर्गत मङ्‌पू क्षेत्रमा अहिले विभिन्न कार्यहरू भइरहेको छ। विशेष गरी समुद्र तटदेखि उच्च क्षेत्रमा गरिने औषधीय पौधाहरू चिरौटो, कुट्‌की, विखुमा आदि जस्ता औषधीय पौधाहरूको खेतीलाई व्यवसायिकरूप दिएर कृषकहरूले आर्थिक आय गर्न सक्छ भनेर भारत सरकारले औषधीय खेतीमाथि राष्ट्रिय अभियान चलाएको छ। सरकारको अभियान अन्तर्गत कृषकहरूले औषधीय खेती गर्नको निम्ति आर्थिक सहुलियत समेत प्राप्त गर्न सक्छन्‌। सोही अभियान अन्तर्गत सिन्कोना निर्देशालय एवं अन्य औषधीय पौधाहरू अधिनस्त हाल मङ्‌पू वरिपरि चिरौटो खेती भइरहेको छ। चिरौटो हालमा छालाको क्यान्सर जस्तो घातक रोगको निम्ति पनि प्रयोग भइरहेको छ भने यस औषधीय पौधाको बजारमा व्यापक माग रहेको सिन्कोना निर्देशक डा. जी.सी. सुब्बाले बताएका छन्‌। सरकारको यस अभियान अन्तर्गत औषधीय पौधाहरू मध्ये चिरौटो खेती गरिरहेका स्थानीय युवक सुरेश तामाङले सरकारको यस योजनाबाट आफू लाभान्वित बनेको बताए।

आफ्नै उब्जनी गर्ने खेतबारी अनि खेतीको निम्ति योग्य नरहेकाा भूमिहरूलाई पनि औषधीय पौधाको निम्ति प्रयोग गरेर आफूले आर्थिक आय समेत गरिरहेको बताए। सरकाको यस योजनाले थुप्रै बेरोजगार युवाहरूलाई रोजगारको अवसर प्राप्त हुने अनि यसबाट पाउने सहुलियतले थप फाइदा पुर्‍याउने पनि तिनले बताए। यस्ता सरकारी सहुलियतहरूबारे  बेरोजगार युवाहरू जागरुक बन्नु पर्ने पनि तामङले बताए। अर्कोतिर सिन्कोना निर्देशक डा. जी.सी.सुब्बाले भारत सरकारको औषधीय पौधाहरूमाथि चलाइरहेको यस अभियानले सरकार अनि बेरोजगार दुवै पक्षलाई फाइदा भइरहेको बताए।

पहिले औषधीय पौधाहरू पहाड़का जङ्गलभरि नै पाइने तर यसको उचित संरक्षणको अभाव तथा कतिपय तस्करीहरूले यसको अवैद्ध गोरख धन्दा चलाएरको कारण अहिले मासिएर गएको पनि तिनले बताए।

हालमा सरकारको यस योजनाले पहाड़मा पाइने औषधीय पौधाहरूको संरक्षण हुने कार्य पनि भइरहेको सुब्बाले जनाएका छन्‌। एकातिर विश्व बजारमा हर्बल औषधीको माग बढिरहेको छ भने अर्कोतिर औषधीय पौधाहरूको खेतीबारे सरकारले नै यस्ता योजना शुरू गरेको कारण पनि यसबाट औषधीय पौधाहरूको खेती गर्नेहरूलाई लाभ पुग्ने  निर्देशक सुब्बाले थप बताएका छन्‌।

0 comments: on "मङ्‌पूमा शुरू भयो चिरौटोको खेती"