मुख्य समाचार :


गोर्खाल्याण्ड र कोलावेरी -डी

कालेबुङ २१ मार्च
अनिल तेलैजा
केही महीना अघि एउटा दक्षिण भारतीय गीतको  ज्वरोले विश्‍वलाई नै समात्यो| सामाजिक सञ्जालमा मात्रै उक्त गीतलाई करोड़ौं चोटि हिट गरिएको दावी छ | कोलावेरी...कोलावेरी....कोलावेरी...डी  बोलको उक्त गीतका गायक एवं रचयिता दक्षिण भारतीय कलाकार एम. धनुषसित एक प्रसिद्ध पत्रिकाले लिएको अन्तर्वार्ताको क्रममा उनले त्यस गीतलाई सबैले आ-आफ्नै तरिकोले अर्थ लगाउने बताएका  थिए| कतिले यसलाई प्रेममा पाएको धोकासित जोड़ेर  हेर्ने गरेको त कतिले शमसान घाटको शान्तिसित तुलना गरेको सुनाउँदै उनले वास्तवमा  कोलावेरी-डीको कुनै अर्थ नै नभएको जनाएका  छन्  |

कुनै अर्थ नभए पनि  या केही नबुझे पनि ७ देखि ७० बर्ष सम्मकाले यो गीतलाई गुनगुनाए | यता दार्जीलिङले पनि गोर्खाल्याण्डरूपी कोलावेरी- डी ठीक त्यसरी नै गुनगुनाउँदै आइरहेको छ  जसरी यो तमिल गीत गुनगुनाउँदै छ अनि यो गोर्खाल्याण्डरूपी कोलावेरी  डी पनि उत्तिकै हिट छ | अर्थ बुझेर होस् या नबुझेर गोर्खाल्याण्डरूपी कोलावेरी डी सबको मुख मुखमा झुण्डिएकै छ दशकौंदेखि|

कतिले यसलाई  भारतभरीको गोर्खाहरुको चिह्नारी र अस्तित्वको प्रश्‍नसित जोड़ेर,  यसले मात्र  गोर्खाहरूको राजनैतिक सुरक्षा हुने बताउँछन् | कतिले  गोर्खाहरूको सर्वाङ्गीण विकासको मुद्दासित यसलाई हेरेका छन् | अर्को पक्ष गोर्खाल्याण्ड सम्पूर्ण समस्याको समाधान होइन भन्छन्| जसरी गोर्खाल्याण्ड के हो? भन्ने बिषयमा गोर्खाल्याण्ड गुनगुनाउनेहरूको आ-आफ्नै बुझाइ छ| उसरी नै गोर्खाल्याण्डले के गर्छ ? र गोर्खाल्याण्ड  कसरी   पाउन सकिन्छ? भन्ने विषयमा पनि बेग्ला बेग्लै तर्क छ |

 एकथरी गोर्खाल्याण्ड सोझै पाउन नसक्ने बताउँदै भाया कुनै ब्यवस्था भएर जानुपर्ने बतॉंउछन् भने अर्को थरी संवैधानिक माग भएकाले सोझै प्राप्त गर्न सकिने र यसको निम्ति अन्य विकल्पको आवश्यकता नरहेको ठान्छन् | दागोपापमा रिमिक्स भएर होस् या छैटौं अनुसूचीमा रिमेकस गरेर होस् गोर्खाल्याण्डलाई जसले गुनगुनाएर अथवा गुनगुनाउन लगाए सबैले अस्थायी लोकप्रियता पाए पनि त्यो कालजयी भने भएन| अहिले आएर त्यही गोर्खाल्याण्डलाई जीटीएमा फ्यूजन गर्ने प्रयास चल्दैछ|
 यसलाई पनि बुझेर होस् या बुच पचाएर होस् अधिकांशले गुनगुनाइरहेकै छन्| भाया वैकल्पिक व्यवस्थाको वकालत गर्नेहरू राष्ट्रिय राजनीतिको अनुकूलता र जनजनको असुविधाहरूको  कनिका निङ्गन्दै विकासको बुँदाहरू बड़बड़ाउँछन्| सोझै गोर्खाल्याण्ड टेक्छु भन्नेहरू देशको सबैभन्दा ठूलो पञ्चायतमा नै यसको पञ्चायत गर्नुपर्छ भनेर दिल्लीमुखी राजनीति गर्छन्|
अर्को एक थरी चॉंहि  इतिहास र भूगोलको मानचित्र पढ़ाउँदै गोर्खाल्याण्डको असली मालिक को हो खोजौं भन्छन्| अझ अर्को थरी पनि  छ जसले गोर्खाल्याण्डलाई काम, दाम र मामसित जोड्दै हाम गर्न मात्र प्रयोग गरिरहेका छन्|
यसरी व्यक्ति,दल, संघ संगठनहरूको आ- आफ्नै गुनगुनाइमा  गोर्खाल्याण्डरूपी गीतले भने कसरी दशकौंदेखि असली सरगम छोड़ेर बेसुर भइरहेको छ, यसको वास्ता गोर्खाल्याण्ड गुनगुनाउनेहरू  कसैलाई पनि छैन| अर्थ लागे पनि, अर्थ नलागे पनि, बुझे पनि नबुझे पनि सबैले गुनगुनाइदिँदा जति प्रचलित र प्रसिद्ध बनेको छ यो गोर्खाल्याण्डरूपी गीत उत्तिकै  व्यक्ति विशेषको अर्थ र बुझाइहरूमा सीमित रहेर सस्तो प्रसिद्धि बटुल्दै प्रतिदिन अर्थहीन बन्दैछ|

0 comments: on "गोर्खाल्याण्ड र कोलावेरी -डी"