मनोज वोगटी
कालेबुङ, 3 मार्च।
आँख है भरीभरी और तुम मुस्कुराने की बात करती हो-जस्तै हुन् टीकाले टेकेको भुइँ। कवि राजा पुनियानीले टीकाको ठाडो स्वाभिमान र कविसत्ता चिनाउन गीतै गाइरहेका थिए।
डल्लै जातिलाई शासकले हात्तीको पाइलाले कुल्चिरहेको बेला टीका भाइले प्रेमको कविता लेख्नै सक्दैनन्। कवि राजा पुनियानी यही भनिरहेका थिए। युगौंयुगदेखि पाइतालामुनी परेकाहरूको कविता लेख्दै लेख्न सकेको वा पाइतालामुनी परेकाहरूलाई सम्बोधन नै गर्दै वा गर्न सकेकोमा आफूलाई भाग्यमानी ठान्ने कवि टीकाले किताबै निकाले। पाइतालातल्तिर-ती नै कविताहरूको संग्रहको विमोचन जुराएका हुन् उपमा पब्लिकेशन र बसिबिँयालो परिवारले। हिमालय होटलको कन्फ्रेन्स हलमा टीकाको ई-निम्तो, एसएमएस निम्तो अनि कागजी निम्तो थापेर आएका साहित्यकारहरूको निम्ति नयॉं उपद्रो पनि कविले ठीक पारेर राखेका थिए। प्रोजेक्टर ठढ्याइएको थियो, त्यहॉं खोलिएको थियो फेसबुक।
टीका भाइको प्रोफाइल तयार थियो विमोचनको निम्ति। उद्घोषकले बोलाएपछि शिक्षाविद् टीबी ठकुरीले अध्यक्षता अनि कवि सानुमति राईले मुख्य आतिथ्यको भार बोक्नु करै लाग्यो। कालेबुङका नामी कथाकार सञ्जय विष्ट अनि युवा पुस्ताका चर्चित कवि राजा पुनियानी पनि दुइ वृद्ध साहित्यकारहरूसित मञ्चमा चढेपछि भयो पाइताला तल्तिर-को अनावरण। अतिथिहरूले पाइताला तल्तिर-को अनुहार के कार्यक्रम भवनमा उपस्थित साहित्यकार र अनुरागीहरूलाई देखाइरहेका थिए कवि टीका भाइले ठीक त्यसैबेला फेसबुकमा पनि पाइतालातल्तिर-को विमोचन गरिदिए। मञ्च र फेसबुकमा एकैचोटी, एकै समयमा पाइलातल्तिरको विमोचनले इतिहास नै रच्यो-कवि सुबास सोताङले हल्लै गरिरहेका थिए। प्रोजक्टरबाट फेसबुकमा टीका भाइको विमोचन भएको सबैले देखे।
हेर्दाहेर्दै काठमाण्डौका कवि भूपिन व्याकूल लगायत विश्वभरि छरिएका टीका भाइका नेपाली पाठकहरूको लाइक र कमेन्टको भीड जम्यो। उता लाइक र कमेन्ट चर्किरहेको बेला यता कथाकार शमशेर अलिले टीका भाइमाथि कुरा राख्दै भनिरहेका थिए, टीका सॉंच्ची कै कवि हुन्। तिनी आफैमा हज्जार कविता। जनताका कवि। पाइतालातल्तिर पनि सास फेर्दै बसिरहेकाहरूका कवि। कवि टीकाको कवित्वले उन्मुक्तिको निकास खोजिरहेको देखिएको शमशेर अलिले सुनाए। जति विमोचन रोमाञ्चक उति नै रोमाञ्चक कविहरूको जवान उपस्थिति। रमाइलो विमोचनले तताएको माहौललाई कवि भूपेन्द्र सुब्बाले रङ थपिदिए। कालेबुङमा च्यानलहरू बन्द गरेको रिस्मा कवि सुब्बालाई झोंक चलेछ। तिनी झोंक कवितामा भनिरहेका थिए,‘के नै पो गर्छस् र तैंले?/मुख सिलाई दे/बोल्नु छोड्दिनँ अन्त/कान बुच्चाई दे/कराउनु छोड्दिनँ/आँखा थुनिदे/देख्न मरे छोड्दिनँ/तेरो पाखण्डी अनुहारको नाङ्गो नक्सा त म आँखा चिम्म गरेरै बनाइदिन्छु।’ ठीक पाइतालातल्तिर नै परेकाहरूको पक्षमा उभिएको तिनको कविताले जमेरै ताली भेटे।
कवि राजा पुनियानीले भित्तामा कोरेको आफ्नै अनुहार सबैेलाई देखाइरहेका थिए भने कवि सुवास सोताङले कसाइको हातमा गीत-को अपेक्षा गर्नै नहुने अर्ति दिइरहेका थिए। टीका भाइले भने, म आमाको नजिक छुइनँ। तर आमाको नजिक मेरो कविता छ। कविता खोज्न म तिनीसित नै चिउरा चपाउँदै बसें। जो पाइतालातल्तिर परेका छन्। पिल्सिएको पहाड र सुकेको खेत पुगें। समाजको नजिकनजिक पुगें र थाहा पाएँ, सबैसबै पाइतालातल्तिर नै रहेछन् र कविता लेखें। तिनको कुराले कसैलाई भावुक बनाइरहेको थियो।
पग्ला कुकुर
12 years ago
0 comments: on "मञ्च र फेसबुकमा पाइतालातल्तिरका कवि"
Post a Comment