दार्जीलिङमा राजनैतिक गर्मी दिनोदिन चर्किरहेको छ तर जनता भने गोर्खा जनमुक्ति मोर्चामाथि नै आशा धरेर बसेका छन्।
नयॉं पुराना आन्दोलनकारी चिफसित छत्र सुब्बा |
गोजमुमोलाई गोरामुमोमा रहेको जनसमर्थन आफ्नो पक्षमा तान्नु थियो। त्यसै कारण डा. हर्कबहादुर छेत्रीले भनेका छन्, त्यसबेला पानीको निम्ति, नोकरीको निम्ति, बाटोको निम्ति भनेको भए जनता मोर्चामा आउने थिएनन्। त्यसैकारण गोर्खाल्याण्ड त भन्नै पर्यो नी।
डा. छेत्रीले जब वास्तविकता स्पष्ट पारे तब देहरादून र दिल्लीमा सक्रियरुपले मोर्चासित कार्य गरिरहेकाहरूले मोर्चाबाट विश्वास गुमाए। उनीहरू सचेत थिए त्यसकारण आज उनीहरू जनतालाई झुक्याएर जनसमर्थन बटुल्ने मोर्चासित छैनन्। तर पहाडमा यस्तो स्थिति आउन धेरै समय लाग्ने गरेको छ। किन भने जबसम्म जनतालाई लाग्दैन कि समर्थित पार्टीको चुक्कुल पूर्णरुपले खुस्किँदैन तबसम्म हडबडाएर अर्को पार्टीमा सरिहाल्दैनन् दार्जीलिङका जनता। मोर्चाले गोरामुमोको विरुद्धमा छुट्टै राज्यको अस्त्र फ्यॉंकेपछि अनि गोरामुमो मौन बसेपछि मोर्चाले दिनोदिन बढाएको दलविस्तारको प्रभावमा जनता पर्यो। गोरामुमोमा रहेको जनता अहिले मोर्चासित छ। अहिले मोर्चाले पनि जनाकांक्षा पूर्ण गर्न नसक्ने अनि फेरि सिँडीमा नै बिसाउने भएपछि गोजमुमोले पनि आफ्नो क्षेत्रमा धेरै विपक्ष जन्माएको छ।
हुन सक्छ आज मोर्चासित जन समर्थन छ तर मोर्चालाई पनि थाहा छ कि जनता भनेको मानेको पात हो। मदन तामङको हत्यापछि जनताले मोर्चाको विरुद्ध जुन आवाज उठाउन थालेको थियो, त्यसलाई देखेपछि विमल गुरूङले आफ्नो अडान सुधार्दै भनेका थिए, जनता भनेको मानेको पात होइन रहेछ। तर वास्तविकतामा मानेको पात भने पार्टी हो अनि त्यहॉं आउने थोपा जनता। जबसम्म पार्टीले जनतालाई रोकेर राख्न सक्छ तबसम्म मात्र अडिन्छ।
अहिले मोर्चाको विरोधमा पहाडका जम्मै पार्टी उभिएको छ। केवल पहाडमा मात्र उभिने गरेका ती दलहरूले अहिले राष्ट्रियस्तरमा नै मोर्चाको विरोध र छुट्टैराज्यको निम्ति कार्यक्रमहरू गरिरहेको छ। ती दल र उनीहरूको कार्यक्रमले मोर्चालाई त्यति असर पुग्ने छैन जति असर छत्र सुब्बाले गर्ने छन्।
कालेबुङको कृषि मेलामा विमल र छत्र सुब्बाबीच भएको संवाद धरी सार्वजनिक भए पनि वास्तविकता अझसम्म पनि खोलिएको छैन तर त्यसै भेटदेखि नै छत्र सुब्बाले आफ्नो राजनैतिक चहलपहल शुरू गरेका छन्। जसरी घिसिङले विमल गुरूङलाई गोजमुमो स्थापना हुनमा कुनै बाधा सिर्जना गरेनन् के विमल गुरूङले पनि छत्र सुब्बालाई उसरी नै बाधा नगर्ने हुन् त? सचेत जमातले अहिले यसरी पनि हेर्न थालेका छन्। किन भने गोजमुमो जन्मिन अघि नै त्रिवेणीको एक जनसभामा सुबास घिसिङले भनेका थिए, अब पहाडमा आँधी हुरी आउँछ। म कता हुनेछु, जनता कहॉं हुनेछन् तर आँधी हुरीबीच पनि म बॉंचेको हुनेछु। त्यसै दिन तिनले तीन रङको झण्डाको संकेत पनि दिएका थिए।
आज तिनले भने जस्तै अवस्था छ। घिसिङले जनाकांक्षा पुरा गर्न नसकेको भन्दै आएको गोजमुमो र विमलले पनि जनाकांक्षा पूरा नगरेकोले सचेत वर्ग अनि राजनैतिक दलहरू सल्बलाई रहेको छ। सबैभन्दा प्रमुख कुरा छत्र सुब्बा अनि अजय दाहाल रहेका छन्। अब विमल गुरूङपछि छत्र सुब्बाको पालो आएको सबैले अनुभव गरिरहेका छन्। तर छत्र सुब्बाले विमल गुरूङसित लगभग एक घण्टा भेटेपछि नै राजनैतिक चहलपहल गरेकोले धेरैवटा शंका उपार्जन गरेको छ। जसरी विमल गुरूङले सुवास घिसिङको विरोध गरे अनि सुबास घिसिङले विमलको विरोध गरेनन्, त्यस्तै दृश्य यसपल्ट देखन पाइने हो होइन, बुझ्न सकिएको छैन। तर अबको आन्दोलन भने छत्र सुब्बाबाट नै हुने पूर्ण चित्र अघि आइसकेको छ। मोर्चाको गलत कार्यबाट निराश भएकाहरूले छत्र सुब्बाको समर्थन गर्न सक्ने स्पष्ट छ।
क्षेत्रीयस्तरमा छत्र सुब्बालाई आन्दोलन गर्न लगाएर राष्ट्रिय पहल गर्ने दलहरुले पनि रणनैतिक समिकरण मिलाइरहेको अनुभव गरिएको छ। यता जीटीएको ढिलाई अनि छत्र सुब्बाको स्थापनाले छैटौं अनुसूचीको ढिलाई र विमलको गुरूङको स्थापनाको घटना बल्झाइरहेको छ। मोर्चाले अप्रेलमा कस्तो रणनीति अप्नाउने हो, यसैले छत्र सुब्बाको रणनीति तयार हुने हो कि भन्ने तर्फ पनि विश्लेषकहरूले आँखा लगाएको छ।
0 comments: on "सुबास घिसिङ, विमल गुरूङ अब छत्र सुब्बा?"
Post a Comment