मुख्य समाचार :


जनजाति खेलाडीहरूको खोजमा जिल्लास्तरीय प्रतियोगिता

कालेबुङ, 16 अक्टोबर।
पहाडको कुना कुनाबाट जनजाति खेलाडीहरूलाई खोजी निकालेर राज्य अनि राष्ट्रिय स्तरसम्म पुर्‍याउने उदेश्यले वर्षेनी वनवासी कल्याण आश्रामले विविध प्रतियोगिताहरू आयोजना गर्ने गर्छ। यसै उदेश्य लिएर 14 अक्टोबरदेखि शुरू भएको जिल्ला स्तरीय खेल प्रतियोगिताको आज समापन गरियो। वनबासी कल्याण आश्रामले आयोजना गरेको तीन दिवसीय खेल प्रतियोगिताको पहिलो दिन पेदोङमा फूटबल खेल अनि दोस्रो दिन एथलेटिक्स सम्पन्न भएको थियो। खेलको आज अन्तिम दिन म्याराथन दौड सम्पन्न भयो। पेदोङदेखि स्थानीय वनबासी छात्रावाससम्म 21 किलोमिटर दुरीको म्यारथन दौडमा अशंग्रहण गरेका 27 जना धावकहरूमध्ये पाला बस्तीका रूनेश तामाङ पहिलो भए भने 20 माइल पेदोङका प्रेम दोर्जी भोटिया दोस्रो अनि लोवर सन्दुक निवासी पुरण राई तेस्रो भए। यसरी नै अलगडादेखि छात्रावाससम्म 14 किलोमिटर दुरीको म्याराथन दौडमा खरसाङ रोलककी दिदी-बहिनी मेनुका अनि रेनुका राई प्रथम अनि दोस्रो बने भने पेदोङकी सिओन लेप्चा तेस्रो भइन्‌। पहिलो, दोस्रो अनि तेस्रो स्थान ओगट्‌ने यी छ जना खेलाडीहरू 10 नोभेम्बरको दिन सालबारीमा हुने राज्य स्तरीय प्रतियोगीताको निम्ति छनौट भएका छन्‌।
नर्थ बेङ्गल कल्याण आश्राम इस्टेट इस्पोर्टस इन्चार्ज  फूल छिरिङले बताए अनुसार वनबासी कल्याण आश्रामको उदेश्य खेल प्रतियोगिता आयोजना गरेर प्रतियोगिहरूलाई ट्रफी थमाउनु मात्र होइन तर चुनिएका खेलाडीहरूलाई राज्य अनि राष्ट्रिय स्तरसम्म नै अवसर दिनु हो। तिनी भन्छन्‌, जनजातिहरूमा जन्मजात खेलको योग्यता छ। कमि छ त सही मार्गनिर्देशनको। उनीहरू आफै अघि बढ्‌न सक्तैनन्‌। जनजाति खेलाडीहरूको निम्ति हामी मार्गदर्शकको रूपमा उभिएका छौं। हाम्रो उदेश्य कुना कन्दरामा भएका खेलाडीहरूलाई खोजी निकाल्नु अनि जनजाति समाजको विकास गर्दै राष्ट्रिय स्तरमा हाम्रो पहिचान गराउनु हो। तिनले भने अनुसार अहिले गोल्डन गर्ल भनेर चिनिने पारिल लेप्चालाई पनि कल्याण आश्रामले नै कालेबुङको बमवस्तीबाट खोजी निकालेको थियो। त्यति मात्र होइन राजस्थानका लिम्बाराम पनि आश्रामकै उपज हो तिनी भन्छन्‌।
जसले दुइपल्ट ओलम्पिक खेलिसकेका छन्‌, एसियन खेलमा दुइवटा स्वर्ण हत्याइसकेका छन्‌ अनि हाल तिनी राष्ट्रिय आर्चेरी कोचको रूपमा छन्‌। यस्तै अन्य खेलाडीहरूलाई पनि राष्ट्रिय स्तरमा पुर्‍याउने अनि गाउँ बस्तीहरूबाट पनि प्रतिभावान जनजाति खेलाडीहरू खोजी निकाल्न नै कल्याण आश्रमले यस्ता खेल प्रतियोगिताहरू गर्ने गरेको फूल छिरिङले बताए। आज राज्य स्तरीय म्यारथन दौडको निम्ति चयन भएका छ जना खेलाडीहरूलाई मुख्य अतिथि पेदोङका विनोद मोक्तानको बाहुलीबाट ट्रफी अनि प्रशस्ति पत्र प्रदान गरियो। सुवास गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा अमर कृष्ण भद्र अनि लोकराज अग्रवाल विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।

0 comments: on "जनजाति खेलाडीहरूको खोजमा जिल्लास्तरीय प्रतियोगिता"