मनोज वोगटी कालेबुङ, 19 सितम्बर। चारको मृत्यु हिजो 6.8 रेक्टर स्केलमा चलेको भुइँचालोले कालेबुङमा चारजनाको ज्यान लियो। भुइँचालोको कारण छिमेकीको बिल्डिङबाट झरेको इँटाले लागेर ठाकुरबाडी निवासी 38 वर्षीय पुष्प अग्रवालको मृत्यु भएको छ। भुँइचालो चल्दा तिनी भान्साघरमा थिइन्। त्यसैबेला छिमेकीको सात तले बिल्डिङको छतमा राखिएको इँटा झर्दा तिनलाई गम्भीर चोट लागेको थियो। राती नै महकुमा अस्पताल लगिए पनि तिनलाई बँचाउन सकिएन। 28 नम्बर समष्टीको रातेपानीमा चलेको पैह्रोले छोप्दा गैरीगाउँस्थित तामाङ गाउँ निवासी 45 वर्षीय भीम तामङको पनि घटनास्थलमा नै मृत्यु भएको छ। तिनी झोलुङबाट गैरीगाउँ गइरहेका थिए। रातेपानी पुग्दा भुँइचालो चल्यो अनि त्यसको कारण झरेको पैह्रोले तिनलाई पुर्यो। आज बिहान झोलुङ पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा तिनको शव निकालियो। सिलगढीको नीजि अस्पतालमा पोष्टमर्टमपछि तिनको शव परिवारलाई सुम्पिइएको छ। अचानक भुइँचालो चल्दा 24 नम्बर समष्टीको पाब्रिङटार निवासी 66 वर्षीय मङ्गली सुब्बा अनि लोवर लोले निवासी 54 वर्षीय शिवकुमारी प्रधानको हृदयघातको कारणले मृत्यु भएको छ। कालेबुङ नगरपालिका छेत्रमा चारजना घाइते बनेका छन् भने उनीहरूको उपचार महकुमा अस्पतालमा चलिरहेको छ। गोरूबथानमा पनि सात जना घाइते बनेका छन्। घाइतेहरूलाई मालबजार अनि सिलगढी नर्थबेङ्गल मेडिकल कलेजमा उपचारको निम्ति लगिएकोे छ। भइँचालोले चारजनाको ज्यान लिएको छ भने धेरै ठॉंउलाई व्यापक क्षति पुर्याएको छ। ज्यान गुमाउने पुष्प अग्रवाल अनि भीम तामङलाई क्षतिपूर्ति दिइने भए पनि हृदयघातद्वारा मृत्यु हुनेहरूलाई भने क्षतिपूर्ति प्रदान गर्ने कुरा निश्चित नरहेको म्याजिस्ट्रेड डीकी भोटियाले जनाएकी छन्। 7 वटा घर पूर्णरूपले क्षतिग्रस्त स्थानीय होम्स नजिक कालु अनि खुशबहादुर गुरूङको तीनवटा घरलाई भुँइचालोको कारण चलेको पैह्रोले पूर्णरूपले क्षति पुर्याएको छ। तीनवटै घरका कुनै पनि सामाग्रीहरू निकाल्न पाइएन। घरको आँगन नै धस्किएर गएकोले तीनवटा घरलाई क्षति पुगेको छ। तोपखाना निवासी टेरेजा गोलेको घरलाई पनि पैह्रोले सोह्रोरेर लगिदिएको छ। परिवारका कुनै पनि सदस्यलाई भने कुनै प्रकारको हानी भएन। अर्कोतिर बुधबारे निवासी पिटर लेप्चा अनि जोशेफ सिमिकको घर नै पैह्रोले पुरिदिएको छ भने गीतडाब्लिङमा पनि एउटा घर पैह्रोले पुरिदिएको छ। गाउँवासीले छोड्नथाले गाउँ राष्ट्रिय राजमार्ग नजिक लङ्कुको राई गाउँ, गैरीगाउँ, अनि झॉंक्री गाउँका मोठ 65 परिवारले गाउँ छोडेका छन्। भुइँचालोले जमीन व्यापकरूपले चर्काएकोले तीनैवटा गाउँ पैह्रोको चपेटमा पर्ने सम्भावना व्यापक बनेपछि गाउँलेहरू घर छोड्दै सुरक्षित स्थानतिर सरुवा भइरहेका छन्। उनीहरू लङ्कु निम्नोच्च विद्यालय अनि लङ्कुका सहयोगीहरूको घरमा सरेका छन्। कालेबुङको लेप्रोसी डॉंडामा रहेको पुरानो चर्चलाई भुइँचालोले व्यापक क्षति पुर्याइदिएको छ। चर्चलाई मात्र होइन चर्चवरिपरिको जमीन नै व्यापकरूपले चर्काइदिएको छ। चर्च परिसरको जमीनमा लगभग एक फुटको फॉंका परेको छ। डीलमा नै रहेको यो चर्च ढले अनि चर्किएको कारण पैह्रो गए स्थानीय छोटा भालूखोपलाई नै खतरा हुने भएकोले अप्परदन्ते गाउँ, लमिनी गाउँँ अनि चाम्रा गोदाम गाउँका वासिन्दाहरू चन्द्रमाया स्कूल अनि सुरक्षित ठाउँ रहेका छिमेकीका घरहरूतिर सरेका छन्। नगरपालिका क्षेत्रका पीडितहरूको निम्ति यहॉंको ठाकुरबाडी मन्दिरमा उद्दारकेन्द्र पनि राखिएको छ। अर्कोतिर 24 समष्टीको गीतकोल्बोङ गाउँका 43 परिवारले पनि गाउँ छोडेका छन्। उनीहरूले पनि सुरक्षित स्थानतिर सर्न शुरू गरेका छन्। गीतडाब्लिङको पोचोक मन्दिर गाउँको जमीन नै धस्किएकोले लगभग 50 परिवार सुरक्षित स्थानतिर सरेका छन्। लाभा मोटर स्ट्याण्ड चर्किएको कारण स्ट्याण्ड मुनी रहेको गैरीगीउँका मानिसहरू लाभा जनता भवनमा सरेका छन् भने 16 माइलको पैयुङ बस्तीका 30 परिवारले पनि गाउँ छोेडेका छन्। कालेबुङमा व्यापक हानी कालेबुङ ट्रेजरी कार्यालयलाई भुँइचालोलेपूर्णरूपले क्षति पुर्याएपछि कार्यालय नजिकका वासिन्दाहरूलाई घरमा नबस्ने निर्देश दिइएको छ। कार्यालयलाई अस्थायीरूपले अहिले रामकृष्ण रङ्गमञ्चमा सारिएको छ। कालेबुङ महकुमा अस्पतालको मेडिकल र सर्जिकल दुवैको भित्ता व्यापकरूपले चर्किएको छ भेन आट्र्स एण्ड क्राफ्टलाई पनि पूर्ण क्षति पुर्याइदिएको छ। पुलिस क्वार्टर अनि फोरेन्सिक जॉंच कार्यालयको भित्ता पनि व्यापकरूपले चर्किएको छ। बजारका लगभग 50 वटा बिल्डिङ चर्किएको छ भने तृप्ति होटललाई बस्न नसक्ने होटल रहेको विभागले बताएको छ। लाभामा रामेश्वर शाहको घरको भित्ता झरेर एउटा पिकअप भ्यानलाई पूर्णरूपले नष्ट गरिदिएको छ। सन्त फिलोमिना, कुमुदिनी होम्स, डा.ग्राहम्स होम्स, कन्या उच्चतर विद्यालय अनि व्लाइण्ड स्कूललाई पनि आंशिक क्षति पुर्याएको छ। राजमार्ग खुल्ला 31 ए राजमार्गको दुइवटा ठाउँमा ठूलो पैह्रो झरेकोले दिनभरि नै राजमार्ग बाधित रहेको थियो। ठॉंउ-ठाउँमा नै पैह्रो झरेकोले वाहनहरू चलाचल भएन। मुख्यगरी 21 माइल अनि रम्बीको टार्जन झोडामा पैह्रो गएको थियो। ग्रेफ अनि सीमा सडक सङ्गठनले राजमार्ग दिउँसोको 12 बजी खुला गर्यो। खुला गरिए पनि पैह्रो जाने क्रम भने यथावत रहेको छ। भुँइचालोले छुट्याएन कुनै पनि धर्म कालेबुङका प्राय सबै धर्मका पवित्रस्थललाई भुइँचालोले चपेटमा लियो। मन्दिर, गुम्पा, मस्जिद, गिर्जा कसैलाई पनि भुँइचालोले छोडेन। विश्वभरि नै चर्चित रहेको कालेबुङको म्याकफार्लेन चर्चको घण्टाघरको गजुर भुइचालोले भॉंचिदियो। यसै वर्षमात्र चर्चको मरम्मति गरिएको थियो। 121 वर्ष पुरानो चर्चको गजुर भॉंचि दिएकोले ख्रीस्तीय समुदाय दुखित बनेका छन्। यसरी नै नामाज भइरहेको बेला नै भुँइचालो चल्दा नामाज पढ्नेहरू भागरेभाग बनेका थिए कालेबुङको मस्जिदमा। सबै भागेपछि नै मस्जिदको गजुर पनि भुँइचालोले भॉंचिदियो। सोही बेला प्रिमताममा रहेको साई मन्दिर अधिनस्त गणेश मन्दिरको गजुरलाई पनि भॉंचिदिएको छ। गजुर रहेको तीनैवटा धार्मिकस्थललाई चपेटमा लिएपछि भुइचालोले बोङबस्तीमा रहेको लेप्चा गुम्पालाई चपेटमा पार्यो। गुम्पाको सबै बित्ता व्यापकरूपले चर्काइदिएको छ भने लाभा गुम्पाको पनि यस्तै अवस्था भएको छ। तेलङ्गनाको कारण तिहारपछि पहाडको राजनीतिले नयॉं मोड लिने सम्भावना कालेबुङ, 19 सितम्बर। दशैंतिहारपछि पहाडको राजनैतिक माहौलले नयॉं मोड लिने सम्भावना बढेको छ। गोर्खा जनमुक्ति मोर्चा बाहेक अन्य राजनैतिक दलहरू गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशनको विरोधमा छन्। उनीहरूले दशैं र तिहारपछि नै दलीय कार्यक्रमहरू तीब्र पार्ने सम्भावनाको संकेत दिएको छ। नेश्नल फेेडरेशन फर स्मलर स्टेटले गोखार्र् जनमुक्ति मोर्चाले ग्रहण गरेको जीटीए केवल गोर्खाल्याण्डको निम्ति मात्र होइन अन्य ठाउँमा भइरहेको छुट्टैराज्यको आन्दोलन समेतलाई हानी पुर्याउने रहेको बताएपछि जीटीएलाई अघि राखेर धेरैले टाउकोमा हात राख्न थालेका छन्। दिल्लीमा छुट्टैराज्य माग्ने चारवटा सङ्गठनहरूका प्रतिनिधिबीच भएको बैठकले जीटीएलाई छुट्टैराज्यको आन्दोलन दबाउने फर्मुलाकोरूपमा केन्द्रले स्थापित गरेको बताइसकेको छ। पहाडका विपक्षले पनि बारम्बार यही कुरा गर्दै आइरहेको छ भने अहिले अन्य क्षेत्रमा छुट्टैराज्य माग्ने राजनैतिक सङ्गठनहरूले पनि मोर्चालाई राम्रो दृष्टिकोणले नहेरेको यही बैठकले स्पष्ट पारिसकेको छ। बैठकमा तेलङ्गना, गोर्खाल्याण्ड, बुन्देलखण्ड अनि विदर्भका प्रतिनिधिहरू थिए। मोर्चाका प्रवक्ता डा.हर्कबहादुर छेत्रीले कालेबुङको अन्तरक्रियामा तेलङ्गनाका आन्दोलनकारीहरू मोर्चाको निर्णयदेखि खुशी रहेको दाबी गरेका थिए तर तेलङ्गनाले मोर्चाको राजनैतिक स्वार्थपन र जीटीएकोनिर्णयप्रति खुलेर विरोध शुरूदेखि नै गर्दै आइरहेको छ। तेलङ्गनाको निम्ति सांसद र विधायकको पदहरूबाट राजिनामा समेत दिने तेलङ्गनाका आन्दोलनकारी नेतृत्वले त्यसबेला नै जति बेला मोर्चाले अन्तरिम प्राधिकरणको कुरा चलाइरहेको थियो, विरोध गर्दै दार्जीलिङले राज्यमुनिको कुनै पनि व्यवस्था ग्रहण गरेमा केन्द्रले त्यसैलाई फर्मुलाकोरूपमा अप्नाउने अनि अन्य आन्दोलनकारीहरूलाई पनि थोप्न सक्ने शंका गरेको थियो। अन्य ठाउँमा भइरहेको छुट्टैराज्यको मुद्दा र गोर्खाल्याण्ड राज्यको मुद्दामा आकासपातालको फरक रहेको भए पनि यही मुद्दालाई आन्दोलनद्वारा केन्द्रमा स्थापित गर्नको साटो आन्दोलनलाई नै शिथिल गर्दै केवल तीनवटा मनहकुमाको निम्ति विकास परिषद ग्रहण गरेकोले छुट्टैराज्यपक्षघर कुनै पनि सङ्गठन मोर्चासित खुशी छैन। जनतालाई राजनैतिक निर्णयसित अहिले कुनै सरोकार नै नरहेको भए पनि विस्तारै जनताले असली कुरा थाहा पाउने कुरामा पहाडका विपक्ष आशावादी भने रहेको छ। तेलङ्गनाका पी. निरूप,विदर्भका बिजय जावण्डीया, अनि बुन्देल खण्डका राजा बुन्देलाले नै मोर्चाले केन्द्र र बङ्गाल सरकारसित मिलेर देशभरि भइरहेको छुट्टैराज्यको आन्दोलनलाई रोक्न षडयन्त्र गरेको आरोप समेत लगाइसकेका छन्। यता डिसम्बरमा तेलङ्गना गठन हुनसक्ने सम्भावना पनि तीब्र छ, किन भने तेलङ्गना गठन नगरिए कंग्रेसले राष्ट्रिय औचित्य नै गुमाउन सक्ने अनुमान गरिन थालिएको छ। अहिले कंग्रेस चारैतिरबाट विभिन्न असुविधाहरूमा फँस्न थालेको छ, यसकारण केन्द्रको कंग्रेसको सत्ता नै शंकास्पद बनिसकेको छ। कंग्रेसको विरूद्ध देशभरि नै विभिन्न आन्दोलनहरू चलिरहेको छ। तेलङ्गनामा कंग्रेसको अस्तित्व खतरामा पर्दै गइरहेको छ यसकारण तेलङ्गनाको समस्या शीघ्र्र समाधान गर्नुपर्ने सम्बन्धमा कंग्रेसले अन्य प्रक्रिया आन्तरिकरूपले शुरू गरिसकेको सूत्रले जनाएको छ। कंग्रेसले गरिरहेको आन्तरिक चहलपहलको परिणाम दिसम्बर संसद सत्रमा देखापर्ने सबैले अनुमान गरिरहेका छन्। कुनै पनि परिस्थितिले तेलङ्गना राज्यको गठनको प्रक्रिया शुरू भए सबैभन्दा खतरा दार्जीलिङको तीन महकुमामा राजनैतिक निर्णय गरेर बसेको गोर्खा जनमुक्ति मोर्चालाई नै हुने छ। किन भने मोर्चाको जीटीएको निर्णयदेखि गोर्खाल्याण्ड पन्थीहरू खुशी छैनन्। केन्द्रले दिसम्बरमा तेलङ्गनाको निम्ति गर्न सक्ने सम्भावित प्रक्रियालाई ध्यानमा राखेर पहाडका विपक्ष दलहरूले पनि आन्तरिकरूपले कसरत शुरू गरिसकेको छ। त्यसबेला हुन सक्ने सम्भावित अशान्तिलाई मत्थर गर्न केन्द्रले जीटीएको चुनाउ र तराई डुवर्सको सीमाङ्कनको रिपोर्ट बुझाउन 6 ंमहिनाको मियाद तोकेको हुन सक्ने शंका पनि गरिन थालिएको छ। यता तीनवटै महकुमा मात्र होइन तराई र डुवर्समा समेत आन्तरिकरूपले सङ्गठनको विस्तार गरिरहेको पिपल्स फोरमले दशैंतिहारपछि दार्जीलिङमा जनसभा गर्नको निम्ति काम शुरू गरिसकेको छ। फोरमका महासचिव प्रवीण गुरूङले बताए अनुसार फोरमको उद्देश्य बङ्गालबाट मुक्ति रहेको छ। जो जीटीएले गर्न सक्दैन। फोरमका महासचिव गुरूङ अनुसार मोर्चाले बङ्गालभित्र नै जीटीएलाई स्थायी गर्ने जुक्ति गरिरहेको छ। यता गोर्खालीगले पनि मदन तामङको हत्याकाण्डलाई लिएर तिहारपछि पहाडमा विभिन्न कार्यक्रम गर्ने जानकारी पाइएको छ भने क्रामाकपाले पनि विभिन्न कार्यक्रमहरू तयार पारिसकेको छ। यसबीच मौन रहेका केही राजनैतिक सङ्गठनहरूले अहिले मौनता सॉंधे पनि तिहारपछि ती सङ्गठनहरूको चहलपहल हुने संकेत पाइएको छ। युजीआरएफ र जीएलओ नेता अजय दाहाल अनि छत्र सुब्बालाई अहिले नै जनतालाई आन्दोलित गर्ने परिस्थिति रहेको लागेको छैन तर उनीहरूले पनि विस्तारै जनतालाई दोस्रोपल्ट भएको धोका सम्बन्धमा साङ्गाठानिक पहल शुरू गर्न सक्ने सम्भावना देखिएको छ। पहाडका जम्मै सङ्गठनहरू त जीटीएको विरोध गर्दै छुट्टैराज्यको निम्ति साङ्गाठानिक कार्यपहल गर्ने तयारीमा छँदै छ भागोप जस्तो अराजनैतिक सङ्गठन पनि देशका अन्य छुट्टैराज्य आकांक्षी सङ्गठनहरूसित मिलेर छुट्टैराज्यको निम्ति राष्ट्रिय पहल गर्नमा जुटिसकेको छ। यसैको फलस्वरूप बुन्देल खण्ड, तेलङ्गना अनि विदर्भसित मिलेर बैठक गर्न शुरू गरिसकेको छ। भागोप टास्क फोर्सका आर मोक्तानले उच्चन्यायलयमा छुट्टै राज्य गठन गर्न सक्ने सम्बन्धको क्राइटेरिया सोध्न रिट पिटिशन दर्ता गर्ने छनक अघिबाट नै दिइसकेका छन्। अब दशैंतिहारपछि पहाडको राजनीति तात्तिन सक्ने हो कि जीटीएको चुनाउको प्रक्रियाले गर्दा गोर्खाल्याण्डको निम्ति उठाइने दलहरूको आवाज ठम्डा पारिने हो अहिले नै निश्चित छैन। मानव तस्करीमा राजनैतिक असंवेदनशीलता कालेबुङमा मात्र 72 जनाको उद्वार कालेबुङ, 19 सितम्बर। 18 वर्षभित्र 17 हजार बेचिएका चेलीबेटीलाई उद्वार गर्न सक्षम अनुराधा कोइरालाले केहीदिनको कालेबुङ बसाइमा यहॉंको जनोस्थितिलाई केलाउँदै भनिन्, राजनीतिमा मात्र होइन सामाजिक सरोकारलाई पनि महत्व दिनुपर्छ। तिनले आन्दोलन भए पनि, राजनैतिक दाउपेचहरू चलिरहेपनि सामाजिक सावललाई अनदेखा गर्न नमिल्ने संकेत गर्दै दार्जीलिङ, सिक्किम र तराई डुवर्सका चेलीबेटीलाई बिक्री गर्ने दलालहरूले नेपाल अथवा काठमाण्डौलाई नै केन्द्रकोरूपमा स्थापित गरिरहेको खुलासा पनि गरेकी थिइन्। तिनी अनुसार यहॉंका चेली बेटीलाई भारतभित्र नै अन्यत्र बिक्री गर्नको निम्ति सोझै छिराउन सजिलो छैन, यसकारण नेपाल पुर्याएर त्यहीँबाट नै अन्यत्र बिक्री गर्न सजिलो हुन्छ। यो कुरालाई हिल सोसियल वेलफेयर सोसाइटीको ट्राफिकिङ सेलकी युडेन भोटियाले पनि सही मानेकी छन्। कोइरालाले यस सम्बन्धमा दार्जीलिङका जनतालाई मानव तस्करीको मामिलामा सचेत रहनु मात्र समाधानको बाटो नरहेर यसमा राजनैतिक हस्तक्षेप अनिवार्य रहेको समेत खुलाएकी थिइन्। तिनी अनुसार यहॉंका चेलीहरूलाई नेपाल छिराएर बिक्री गरिने जुन समस्या छ यसलाई राजनैतिकरूपले समाधान गर्न सकिन्छ। भारत र नेपालको सीमानामा सुरक्षा व्यवस्था कठोर गरिए केही हद नारी बेचविखन कम्ति हुन सक्छ। अहिलेसम्म यस सम्बन्धमा कुनै पनि राजनैतिक सङ्गठनले कुनै पनि पहल गरेको छैन। हिल सोसियल वेलफेयर सोसाइटीका ट्राफिकिङ सेलकी प्रमुख युडेन भोटिया अनुसार कालेबुङका विभिन्न क्षेत्रबाट धोकामा परेर बिक्री हुने गरेको कुरा खुलाएकी छन्। अहिलेसम्म सोसाइटीले मात्र 72 जनालाई भारत र भारतबाहिरको विभिन्न ठाउँबाट उद्वार गरिसकेको छ। युडेन भोेटियाले भनिन्, गाउँबस्तीका चेलीबेटीहरूलाई नोकरी दिने प्रलोभन देखाएर धेर जस्तो नारकीय जीवनतिर धकेल्ने काम हुने गरेको छ। यसै पनि दिल्लीतिर काम गर्न जानेहरू गाउँबस्तीबाट नै धेर रहेको छ। यसको मुख्य कारण देखिएको छ बेरोजगारी। यस सम्बन्धका विषय विशेषज्ञहरूले पहाडको राजनैतिक उदण्डता नै चेलीहरू बाहिरिनुको कारण मानेका छन्। छुट्टै राज्यको नाममा हुने आन्दोलनले पहाडकै संसाधनहरू नष्ट गर्ने अनि आवश्यकता निर्माण गरेर छुट्टैराज्य मुनीको व्यवस्था थाप्ने परम्पराले नै महिलाहरूलाई विदेशतिर होम्ने अनि नारकीय जीवनमा धकेल्ने प्रमुख भुमिका निभाएको पनि मानिएको छ। गोरामुमोले गरेको आन्दोलनकालमा यहॉंका जनतालाई सिस्नु खान बाध्य बनाएको थियोे। आन्दोलनको परिणति भने शुन्य नै रहेको थियो। आन्दोलनले वेरोजगारको खेती बारम्बार गर्ने अनि खेती सप्रिएपछि मुद्दासित अन्य कुरा नै सम्झौता गर्ने अनि त्यो व्यवस्थाले पनि वेरोजगारी मेट्न नसकेपछि गाउँबस्तीबाट मानिसहरू पलायन हुनुपर्ने स्थिति आइपर्ने भएकोले मानव तस्तरीमा पहाडको राजनीति पनि जिम्मेवार रहेको देखिएको छ। अनुराधा कोइरालाले आफ्नै परिभाषामा पहाडको राजनीतिक संस्था र राजनेताहरूलाई सामाजिक सरोकारतिर ध्यान दिने अनुरोध गरेपनि पहाडका राजनैतिक दलहरूले भने यस बारेमा कुनै चासो नदेखाउने स्पष्ट रहेको मानव तस्करीमा रोक लगाउन डटिरहेका सामाजिक संस्थाहरूको भनाइरहेको छ। सांसद कोषको दुरुपयोग गरेको क्रामाकपाको आरोप देखिन थाल्यो मोर्चा र जसवन्तबीच फाटो? कालेबुङ, 19 सितम्बर। शुरूदेखि नै दार्जीलिङ जिल्लाका सांसद राजस्थानवासी जसवन्त सिंह आलोचनाको शिकार बनेका छन्। गार्खाल्याण्डको आवाज उठाउन गोर्खा जनमुक्ति मोर्चाको कुटनीतिमा पहाडका जनताले जिताएर पठाएको जसवन्त सिंहले अन्ततः गोर्खाल्याण्डको आवाज त उठाएनन् नै सांसद कोष पनि पहाडको निम्ति प्रयोग गरेनन्। अहिले आएर गोर्खा जनमुक्ति मोर्चा र भाजपाको सम्बन्ध विच्छेद हुने अवस्थामा पुगेकोले अबोप्रान्त सांसद जसवन्त सिंहले पहाडको समस्यालाई सम्बोधन गर्ने आशा कमै छ। मोर्चा अहिले कंग्रेसलाई रिझाउने क्रममा छ किन भने पहाडमा मोर्चाको भविष्य बलियो गर्छ भने केवल कंग्रेसले मात्र गर्छ। मोर्चालाई तर कंग्रेसले विश्वास गर्न सकेको छैन। शुरूमा नै मोर्चाले कंग्रेसलाई दुश्मनको व्यवहार गर्दै भाजपाका नेता जसवन्तलाई दार्जीलिङको सांसद बनाउने खेल गरेकोले नै मोर्चाको चाबी खुस्किएको राष्ट्रियस्तरका आलोचकहरूले खुलेर भन्ने गरेका छन्। सांसद भाजपालाई दिएर मोर्चाले कंग्रेससित गोर्खाल्याण्डको आवाज उठाउन नसक्ने राजनैतिक हारको कारण नै पहाडमा वर्चस्व रहिञ्जेल विकासमा चित्त बुझाउनको निम्ति सांसद जसवन्त सिंहकै परामर्शमा गोर्खाल्याण्ड छोडेर जीटीएतिर मोर्चा लाग्न बाध्य परेको पनि ती आलोचकहरूले राष्ट्रियस्तरमा नै गरिरहेका छन्। सांसद जसवन्त सिंहको यो भूमिकालाई नै पहाडका जनताले धोका मानिरहेका छन्। यता मोर्चाको नाता कंग्रेससित जोडिन थालेपछि पहाडप्रति सांसद जसवन्तको भावना प्रगतिशील छैन। सासंद जसवन्त सिंह अहिले मोर्चासित निराश रहेको एक विश्वस्त सूत्रले बताएको छ। तिनको निरासा भाजपासितको मोर्चाको सॉंठगॉंठको दोरी खुस्किएकोले नै जन्मिएको हो भन्ने बुझिएको छ। सांसद जसवन्त सिंहलाई पहाडका जनताले राजालाई झैं सम्मान गरेको मात्र होइन रथयात्रामा पनि सवार गराएका हुन्। त्यसबेला भावुक बनेका सांसद सिंहले दार्जीलिङमा घर बनाउने समेतको बाचा गरे। तर तिनी अहिले सांसद कोषलाई होटलमा खन्याउँदै गतिलो भाडा तिरेर प्रितिभोजमा मस्त छन्। यस्तोमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले जसवन्तसित शंका गर्दै सांसद कोषको दुरूपयोग भइरहेको आरोप लगाएको छ। सांसद कोषलाई जनताको निम्ति प्रयोग नगरिएकोले क्रामाकपाको भनाइ छ, त्यो कोष कहॉं प्रयोग हुँदैछ? क्रामाकपाको शंकाको सुई मोर्चातिर नै घुमेको हुनसक्ने अनुमान गर्न सकिन्छ। किन भने क्रामाकपाले सांसद मोर्चाका केही शीर्ष नेताहरूको मात्र पेवा रहेको खुलेर आरोप लगाइसकेका छन्। 2010 मा नै जसवन्तको पक्षको 3.14 करोड स्वीकृत गरिसकेको रिकर्ड छ। त्यसपछि यता कुनै रेकर्ड छैन। विकास काममा कहीँ पनि खर्च गरिएको रिपोर्ट पनि नरहेकोले सांसद कोषमा कसको चलखेल हुँदैछ? भनेर क्रामाकपाले मोर्चातिर संकेत गरेको बुझिएको छ। अन्य सांसदहरूले आफ्नो सांसदीय क्षेत्रमा कोषको प्रयोग गरिरहेको भए पनि सांसद जसवन्त सिंहले भने एक कञ्ची पनि खर्च गरेका छैनन्। राजाको झैं वैभव पाएका जसवन्तलाई अझ पनि त्यही चस्को लागेकोले वर्षमा केही दिन दार्जीलिङ आउने अनि होटलमा बस्ने आदत लागेको छ। अघइघि जसरी जनता र नेताहरू तिनलाई भेेट्न होटलमा ओइरो लाग्थे अहिले त्यस्तो हुँदैन। तिनी सोझै होटल आउँछन् त्यहीँ बस्छन्, मोर्चाका केही नेताहरूसित कुराकानी गर्छन् अनि कि त दिल्ली कि त राजस्थान फर्कनन्छन् तर जिल्लाको कुनै पनि क्षेत्रको भ्रमण गर्दैनन्। तिनी आए पनि कोही पनि तिनलाई भेेट्न नजाने अनि तिनी आएको खबर गरेपछि मात्र केही नेताहरूले तिनलाई भेेट्ने गरेकोले पनि मोर्चा र भाजपाको साइनो परिवर्तन भइरहेको अनुमान लगाइन थालिएको छ। राजनैतिकरूपमा जे नै भए पनि तिनी जनताको प्रतिनिधि भएकोले तिनले सांसद कोष दार्जीलिङको निम्ति नै खर्छ गर्नुपर्ने बताउँदै क्रामाकपा महासचिव तारामणि राईले भने, सांसद जसवन्त सिंहले गोर्खाल्याण्डको आवाज त उठाएनन् नै सांसद कोष पनि दार्जीलिङमा खर्च नगरेकोले तिनी पहाडको विकास र जनताको आकांक्षाको विरोधी सावित भएका छन्। बाटो नभएकोले गर्भवति महिलाको मृत्यु कालेबुङ, 19 सितम्बर। भारत दिनोदिन द्रुत गतिमा विकासको क्षेत्रमा अग्रसर बनिरहेको भएपनि दार्जीलिङ पहाड़मा कयौं यस्ता क्षेत्र छन् जहॉं गाड़ी कुद्ने सड्क समेत छैन जसको कारण मानिसहरूले विरामी हुँदा सही समयमा उपचार पाउन नसकेर बिना कारण ज्यान गुमाउछन्। एक यस्तै घटना घट्यो निम्बोङ वस्तीमा। गाउँमा सड्क छैन। एक गर्भवती महीला 22 वर्षीय सुजला लेप्चालाई गाउँदेखि मूल सडकसम्म बोकेर निकाल्दा निकाल्दै महिलाको पीडा बढ्न थाल्यो। गाउँकै एक घरमा महिलाले नवजात शिशुलाई जन्म दिइन्। शिशु स्वस्थ्य जन्मियो। बाटोको अभावले सही समयमा महिलालाई अस्पताल पुर्याउन सकिएन। स्वस्थ्य नवजात शिशुको जन्म भएपनि महिलालाई अस्पताल पुर्याउन सकिएन। उपचारको अभावले तिनी बॉंच्न सकिनन्। सही समयमा उपचार नपाएर नवजात शिशुलाई जन्म दिइकन बितिन् सुजला। दार्जीलिङ पहाडमा सुजला जस्ती कयौं छन् जसले सही समयमा उपचार नपाउँदा व्यर्थमा नै ज्यान गुमाइरहेकी छन्। सडक, अस्पताल नभएको यस्ता कयौं गाउँ बस्ती छन् दार्जीलिङ पहाड़मा जहॉं यस्ता नवजात शिशुहरू घरतीमा पाइला टेक्नबित्तिकै आामासँग बिछोडिन्छन्। दार्जीलिङ पहाडलाई स्वीट्जरल्याण्ड बनाउँछु भन्नेहरूको निम्ति चुनौती हो सुजलासित घटेको यो घटना। कालेबुङमा विश्वकर्म पूजाको रौनक कालेबुङ, 19 सितम्बर। विश्वकर्म पूजा कालेबुङमा पनि बढ़ो हर्षोल्लाससँग पालन गरियो। विभिन्न चालक सङ्गठनहरूले आकर्षक पूजा पण्डालहरू बनाएर भगवान विश्वकर्म पूजाको आरधना गरे। स्थानीय मोटर स्ट्याण्ड परिसरमा तीनवटा चालक सङ्गठनहरूले भव्यतासाथ पूजा पालन गरे। यसरीनै नोभेल्टी परिसरमा पनि थाना डॉंड़ा वेलफेयर एसोसिएसन अनि चालक वेलफेयर एशोसिएसनले बनाएको पूजा पण्डाल पनि आकर्षक रहेको थियो। यसबाहेक विभिन्न कल कारखाना, ग्यारेज लगायत राजमार्ग क्षेत्रमा पनि व्यापक रूपमा पूजा पालन गरियो। पुलिस प्रशासनको सक्रियतामा यसपल्ट पूजा कालेबुङमा शान्तिपूर्ण नै सम्पन्न भयो। आहाल पानीले बेहाल कालेबुङ कालेबुङ, 19 सितम्बर। गत 14 सितम्बर बुधबारदेखि लगातार परेको मुसलधारे वर्षाले आज पनि कालेबुङको जनजीवन बेहाल बन्यो। आज दिनभरि परेको पानीको कारण बजार प्रायः सुनसान रहेको थियो। लगातार चार दिनसम्म परेको पानीले भयानक पैह्रो जानेे सम्भावनाले मानिसहरू चिन्तित बनिरहेको भएपनि स-सानो पैह्रो बाहेक ठूलो दुर्घटनाको खबर भने समाचार लेखुञ्जेलम्म सुनिएन। भारी वर्षाको कारणले व्यापारी, विद्यार्थी, लगायत साधरण मानिसहरूसमेत समस्यामा परेका छन्। आज दिनभरि नै परेको झरीले कालेबुङको कुनै नि मार्ग हिँड्न लायक थिएन। राजमार्गमा पनि थोरै मात्र वाहनहरू चल्यो। लिखुभीरमा दिनभरि नै ढुङ्गा-माटो झरेकोले मुश्किलले नै वाहनहरू चलेको देखियो। जोनद्वारा भागोपलाई गोर्खाल्याण्डको आवाज उठाउने प्रस्ताव कालेबुङ, 19 सितम्बर। देहरादुनमा बैठक गरेर भारतीय गोर्खा परिसंघको जोन चारले भागोपको केन्द्रिय समितिलाई गोर्खाल्याण्डको आवाज बुलन्द गर्ने प्रस्ताव दिएको छ। भागोप राष्ट्रिय महासचिव सुखमन मोक्तानले जनाए अनुसार, नेपालीभाषी गोर्खाहरूको जनसङ्ख्या अधिक रहेको उत्तराखण्ड राज्यको राजधानी देहरादुनस्थित गोर्खाली सुधार सभा भवनमा भागोप-को जोन चारको एउटा महत्त्वपूर्ण बैठक भएको थियो। राष्ट्रिय उपाध्यक्ष तथा जोन अध्यक्ष ब्रिगेडियर (अप्रा) एन. बी. एस. बिष्टको अध्यक्षतामा सम्पन्न उक्त सभामा उत्तराखण्डसहित जम्मु-काश्मिर, पञ्जाब, हरियाणा, दिल्ली, चण्डिगढ़, हिमाचल प्रदेश, उत्तर प्रदेशका राज्य शाखाका पदाधिकारीगण तथा केन्द्रिय समितिका नेतृवृन्दको उपस्थिति रहेको थियो। दार्जीलिङ पहाड़मा शान्ति अनि विकास फर्काइल्याउनका निम्ति सम्बन्धित पश्चिम बङ्गाल राज्य सरकारको तत्परतामा प्रस्तावमा ल्याइएको गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिमस्ट्रेसन अथवा जीटीए-ले भारतका कुना-कन्दरामा बसेर दीर्घ दिनदेखि विदेशी र बहिरागतको लाञ्छना सहेर आइरहेका सम्पूर्ण देशवासी गोर्खाहरूको राष्ट्रिय राजनीतिक चिह्नारीको सङ्कट कदाचित् दूर नहुने ठहर गर्दै सभामा जोन चारले एउटा महत्त्वपूर्ण प्रस्ताव पारित गरेर भागोप-को केन्द्रिय समितिले नै अबउसो गोर्खाल्याण्डको मुद्दालाई पार लगाउनका निम्ति राष्ट्रिय स्तरमा आवाज बुलन्द गर्नुपर्ने अपील गरेको मोक्तानले बताएका छन्। सभामा गोर्खाल्याण्ड राज्यको मुद्दाका निम्ति गठन गरिएको गोर्खाल्याण्ड टास्क फोर्सका राष्ट्रिय कन्भेनर आर. मोक्तानले राज्यप्राप्तिका निम्ति ऐतिहासिक आधारहरूबारे अवगत गराउँदै यसको संविधानिकतामाथि जागरुक गराएका थिए। यसरी नै सभामा साङ्गठनिक स्वास्थ्यको दिशामा भागोप कमजोर हुँदै गइरहेको अनुभव गर्दै यसलाई तन्दुरुस्त बनाउनका लागि यथाशीघ्र नै कार्य गरिने निर्णय पनि लिइएको जानकारी पाइएको छ। यसरी नै भारतमा गोर्खाहरूको आफ्नै टिभी च्यानल हुनुपर्ने विषयमा अवगत गराउँदै सभामा मिडिया सेलका पप्पु प्रधानले भागोप-ले गत तीन सालदेखि शुरु गरेको निजी च्यानल साइनो मिडियाको परिकल्पनाबारे सबैलाई जनाए अनि यसका निम्ति सबै सदस्यहरूलाई अघि आएर कार्य गर्ने आह्वान गरे। सभालाई सम्बोधन गर्ने केन्द्रिय नेतृवृन्दमा प्रमुख थिए महासचिव सुखमन मोक्तान, राष्ट्रिय प्रवक्ता जोएल राई, सेन्ट्रल प्रोग्राम सेलका मूलसचिव प्रा. मुनिष तामाङ आदि। साहित्यिक तीर्थकोरूपमा हुने बसिबियॉंलो कालेबुङ, 19 सितम्बर। मासिक वैचारिक मञ्चका मूल संयोजक शमसेर अलीले कालेबुङलाई नेपाली साहित्यको तीर्थस्थानको रुपमा परिचित गराउने क्रममा साहित्कारहरू लागिपरेका बताएका छन्। आउँदो नोभेम्बर महिनामा मासिक साहित्यिक कार्यक्रम बसिबियॉंलो-को शतकीय प्रकरणलाई दुइ दिनव्यापी बहुभाषी राष्ट्रिय कार्यक्रमकोरूपमा आयोजना गर्नै बताएका छन्। कार्यक्रमको निम्ति बसेको आयोजना समितिको सभामा अलीले साहित्यिक विकासमा कालेबुङको भूमि उर्वर भएर गइरहेको कारण आज कालेबुङदेखि बाहिरका साहित्यकारहरूले पनि यस ठाउँमा आएर अन्तरक्रिया, विमोचन, सङ्गोष्ठी आदिको आयोजना गर्ने अभिरुची लिन थालेको बताए। नियमित रुपमा पुस्तकाकार कृतिहरूको विमोचन गर्ने दिशामा कीर्तिमान कायम गरिसकेको कालेबुङलाई साहित्यको तीर्थस्थलमा परिणत गर्ने कार्यमा बसिबियॉंलो-ले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै अलीले यसरी नै यहॉंका अन्य साहित्यिक संघ-संस्थाहरूले पनि आफ्नो दायित्व यथासक्य पूरा गरिरहेको जनाए। हिजो यहॉंको महकुमा पुस्तकालयमा वरिष्ठ कवि एवम् सिक्किम महाविद्यालयका रिडर डा. राजेन्द्र भण्डारी शतकीय प्रकरण आयोजना समितिको सभा बसेको थियो। अलीले बताएअनुसार 5 अनि 6 नोभेम्बरका दिन स्थानीय रामकृष्ण रङ्गमञ्चमा राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रमको आयोजना हुनेछ जसमा भारतका विभिन्न प्रान्तहरूबाट आएका बीसजना भन्दा धेर अनेपाली युवा साहित्यिकारहरूले आ-आफ्ना रचनाहरू सुनाउनेछन्। सोही उपलक्ष्यमा बसिबियॉंलो-को वेबसाइट पनि उद्घाटन गरिने जानकारी दिँदै अलीले त्यसपछि यस वैचारिक गोष्ठीका हरेक गतिविधि विश्वको कुनै पनि स्थानमा रहेर अन्तरजालको माध्यमद्वारा बुझ्न र हेर्न सकिने बताए। यसरी नै उक्त अवसरमा बसिबियॉंलो परिवारले कालिम्पोङ टेलिभिजनको सौजन्यमा एउटा वृत्तचित्र तयार गरेर प्रदर्शन गराउने जानकारी दिँदै उनले दुइ दिनका कार्यक्रमलाई स्थानीय क्याबलमार्फत् जीवन्त प्रसारण गरिने योजना पनि रहेको जनाए। नोभेम्बर 6 तारिखका दिन बसिबियॉंलो परिवारले सञ्चालन गरिरहेको चिट्ठाको परिणाम पनि घोषित गरिने जानकारी दिँदै उनले सोही दिन स्मारिकाको विमोचन पनि गरिने बताए। उक्त स्मारिकालाई स्तरीय, पठनीय अनि सङ्ग्रहणीय बनाउनका लागि लेखक-कविहरूका रचनाहरू प्राप्त भइरहेको सूचना दिँदै उनले इच्छुक रचनाकारहरूले संस्मरण, साहित्य-संस्कृति र समाजसित सम्बन्धित चिन्तनशील निबन्ध, प्रबन्ध अनि आलोचनाहरू आगामी 30 सेप्टेम्बरभित्र पठाउनसक्ने जानकारी पनि दिए। शतकीय प्रकरणलाई स्तरीय अनि भव्यतापूर्वक सम्पन्न गराउनका लागि हिजोको सभामा दायित्व वितरणको कार्य पनि भयो जसमा बसिबियॉंलो-का नियमित सदस्यहरूलाई आ-आफ्ना जिम्मावारी सुम्पिने काम भयो। उक्त कार्यहरूको भार चन्द्रकला सिलाल, लीला जोशी, पीसी प्रधान, शिबु छेत्री, उमेश उपमा, नरेन्द्र तामाङ, ज्ञान सुतार, निर्मला प्रधान, डा. हर्कबहादुर छेत्री, मिङ लिवाङ, बी. आर. छेत्री, कप्तान भूमिराज राई, कल्याण थापा, कल्याण खाती, बी. के. सिलाल, हर्क परियार, टीएन सुवेदी, सरिता समदर्शी आदिलाई दिइएको बताउँदै अलीले यस महत् कार्यका लागि बसिबियॉंलो-का शुभचिन्तकहरूले आर्थिक सहयोग पनि पुर्याइरहेको बताए अनि लेबाननमा कार्यरत एकजना शुभेच्छुकले रु 5 हजारको सहयोग राशी प्रदान गरेको पनि बताएका छन्। कालेबुङमा पिउने पानीको हाहाकार कालेबुङ, 19 सितम्बर। आज दिनभरि नै झरी परे पनि कालेबुङमा पॉंच दिनदेखि पिउने पानीको हाहाकार छ। पहाडको राजनीति शुरु हुन्छ भने यही पानीको समस्या बोकेर तर अहिलेसम्म समाधान नै नभएको समस्या पनि यही पिउने पानी नै रहेको छ। कालेबुङमा पिउने पानी व्यवस्थित गर्न धेरै योजनाहरू आयो गयो तर कसैले पनि पानीको समस्या समाधान गरेन। पानी व्यवस्थित नगरिएकोले नै कालेबुङमा पानीको हाहाकार चल्ने गरेको छ। केही दिन अघि नेउरा,थप्चु अनि रेलीबाट कालेबुङ नगरमा ल्याउने पानीको पाइप रेलीको रमितेमा गएको पैह्रोले सोह्रेर लगेपछि पॉंचदिनदेखि कालेबुङ नगरवासीले नगरपालिकाबाट पिउने पानी पाएका छैनन्। पानी नपाएकोले खोल्सा खोल्सी चहार्ने अनि धाराहरूमा भीड लाग्ने क्रम शुरू भएको छ। नगरपालिकाले पानी छोड्न नसकेपनि कालेबुङ नगरवासीलाई झरीले गर्जो टारिरहेको छ तर आज विभागले बताए अनुसार नगरपालिकावासीले पानी अझ 15 दिनसम्म पनि पाउन सक्ने सम्भावना छैन। पीएचई वाटरवर्क्स सुपरिटेण्डेन राजेन प्रधानले बताए अनुसार पैह्रोले 48 मिटर पानीको पाइप सोह्रोरेर लगेको छ। जसलाई पुनर्स्थापित गर्न समय लाग्ने छ। पाइपलाई जडान गर्नको निम्ति 150 फिटका तोक्चेको अनिवार्यता परेको छ। अस्थायीरूपले यसो गर्न सकिन्छ तर स्थायी समाधानको निम्ति हो भने महिनौं लाग्न सक्छ। अहिले परिरहेको झरीले पैह्रो अझ चलाइरहेकोले विभागसित कुनै उपाय छैन। कर्मचारीहरूले झरी र पैह्रोको कारण केही गर्न सकिरहेका छैनन्। झरी बन्द भए अस्थायीरूपले व्यावस्थापन गर्न कर्मचारीहरू जुटिरहेको पनि तिनले जनाएका छन्। नगरमा पानी सर्वराह गर्नको निम्ति खोल्साखोल्सीबाट पाइपमा पानी हालेर पानी संरक्षित गर्ने कार्य भइरहेको छ। सोमबार यही संरक्षित गरिएको पानी छोडिने अनि त्यसपछि कहिले पानी छोडिने हो केही निश्चित नरहेको पनि प्रधानले जनाएका छन्। तिनले जनाए अनुसार कालेबुङमा शुरू भएको यो समस्या निदानको निम्ति विभागले दागोपाप पिएचई सचिवलाई फ्याक्सद्वारा जानकारी गरिाएको छ। |
पग्ला कुकुर
12 years ago
0 comments: on "पहाडमा 6.8 को आतङ्क"
Post a Comment