मुख्य समाचार :


गोर्खाल्याण्डको मुद्दाःमोर्चाले छोड्यो,क्रामाकपाले लियो

मोर्चाको समस्या समाधान गरियो, गोर्खाको होइन-क्रामाकपा

मनोज वोगटी
कालेबुङ,18 जुलाई।
आन्दोलन गोर्खाल्याण्डको गरेर गोरामुमोले दागोपाप थापे जस्तो गोजमुमोले पनि जीटीए थाप्यो। मुख्य मन्त्री ममता व्यनर्जीले गृहमन्त्री पी.चिदम्बरमलाई मोर्चाले गोर्खाल्याण्डको आन्दोलन छोड़ेको अनि मोर्चाले अर्को दागोपाप नै थापेको बताएपछि स्पष्ट भयो गोर्खा जनमुक्ति मोर्चाले नैतिकरूपले गोर्खाल्याण्डको मुद्दा छोड्यो। राज्य र केन्द्रलाई मोर्चाले अब गोर्खाल्याण्डको आन्दोलन हुँदैन भन्ने विश्वास दिलाएको छ।

मोर्चाले जुनदिनदेखि गोर्खाल्याण्डको मुद्दा छोड़ेको छ, त्यहीँदेखि क्रामाकपाले आन्दोलन अघि बढाउनेछ-पिन्टेल भिलेजमा गोजमुमोका महासचिवले जीटीएमा हस्ताक्षर गर्दै गर्दा क्रामाकपा महासचिवले कालेबुङका पत्रकारहरूलाई यसो भनिरहेका थिए। क्रामाकापा महासचिव तारामणि राईले भने, आजको दिनलाई मोर्चाले ऐतिहासिक दिन भनिरहेको छ। हामीले पनि आजको दिनलाई ऐतिहासिक महाधोकाकोरूपमा लिएका छौं। तिनले सोझैै भने, किन भने मोर्चाले राज्य र केन्द्र सरकारको गार्खाल्याण्डको मुद्दा दबाउने षड़यन्त्रलाई पैसासिट साटेको दिन हो आज। तिनले पुरानै कुरा दोहोर्‍याउँदै भने, मोर्चा सरकारी प्रायोजित दल हो अनि दल नाइके पनि। विमल गुरूङले कागज नहेरि विरोध नगर्नु भनेर अनुरोध गर्छन्‌ तर कागज भने लुकाएर राख्छन्‌। कागजै लुकाएपनि ममताले चिदम्बरमलाई दिएको स्पष्टिकरणले सप्ष्ट पार्‍यो कि मोर्चाको यात्रा यहीँसम्मको निम्ति थियो। जनता निराश हुनु हुँदैन। आन्दोलन राष्ट्रिय चिह्नारी, बङ्गालबाट मुक्ति अनि देशभरिका गोर्खाहरूलाई राजनैतिक सुरक्षा प्रदान गर्न गरिएको हो। विकासको निम्ति होइन।

राज्यमा विकास गर्न कहॉं कहॉं जीटीए छ? किन पहाड़मा मात्र जीटीए? यसको एउटै उत्तर हुन्छ गोर्खाल्याण्डको आवाज दबाउनु, जसलाई मोर्चाले सफल गर्‍यो। मोर्चाले बिसाएको ठॉंउबाट क्रामाकपाले मुद्दालाई उठाएर अघि लानेछ। 26 जुलाईदेखि कार्यक्रम शुरू हुनेछ। तिनले ममतालाई हतार रहेको बताउँदै भने, ममताले याद राख्नुपर्छ, यो समस्या पहाड़ र मोर्चाको होइन देशभरिका गोर्खाहरूको हो। अहिलेलाई मोर्चाको समस्या समाधान गरिएको छ, गोर्खाको होइन। गोर्खाहरूको समस्यालाई लिएर अब क्रामाकपाले देशभरिका गोर्खा र सङ्गठनहरूसित मिलेर आन्दोलन गर्नेछ।

तिनले मोर्चाले जनतालाई धोकामा राख्दै पैसा कमाउने राजनीति गरेको भन्दै राज्य सरकारले तराई र डुवर्सको 18 वटा मौजा जसलाई अघिबाट नै स्वीकृति दिइसकेको थियो त्यति मात्र हाल्ने कुरा ममताले स्पष्ट गरिसकेपछि फेरि यो हाइइपावर कमिटीको नाटक किन? भन्ने प्रश्न उठाए। तिनले क्रामाकपा विकासको विरोधमा नरहेको बताउँदै विकास स्वाभाविक प्रक्रिया रहेको, जो गर्ने जिम्मा राज्यकै रहेको बताउँदै भने, भारतभरिका गोर्खाहरूको चिह्नारीको समस्यालाई पहाड़को विकासमा खॉंद्ने काम जुन गरिएको छ, यसले छुट्टैराज्य पन्थीहरूलाई सङ्गठित पार्ने काम गरेको छ। धोका भइसक्यो, हामीलाई विलाप गर्नु छैन। जनताले सहयोग गरे हामी अब आन्दोलनलाई सफलताको चुलीमा लैजानेछौं। तिनले राज्य र केन्द्रले जनतालाई बोरामा हाल्ने काम गरे पनि मोर्चाले भने बोरामा खॉंद्ने काम गरेको भन्दै मोर्चाले हस्ताक्षर गर्न अघि खेस्रा सार्वजनिक गर्ने भने पनि त्यसमा पनि ढॉंटेको बताए।

तिनले भने, जनता र केही नेतालाई अंधकारमा राखेर हस्ताक्षर भयो, यसको नतिजा पाउनलाई केही समय इन्तजार गर्नुपर्छ। यता गक्रायुमो( गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा)का समासचिव अरूण घतानीले मोर्चाको आन्दोलन नै प्रायोजित भएकोले पहिले जनतालाई थकाउने कार्यक्रम गरेको अनि जनता थाकेपछि घिसिङकै पथ अप्नाउँदै अर्को दागोपाप थापेको बताउँदै आन्तरिमरूपले केन्द्र र राज्यले गोर्खाल्याण्डको आवाज दबाउन अनि यसको निम्ति सङ्गठित दलहरूलाई नष्ट गर्न गोर्खा समूहबाट नै नेता बनाएर उसलाई सहयोग दिँदै सम्झौताको परिस्थिति बनाइरहेको जनाए।

तिनले भने, ममतालाई 21 तारिक कोलकातामा भाषण दिनुछ र लालगढ, गोर्खाल्याण्ड, सिङ्गुरको समस्या समाधान गरेको कुरा भन्नु छ। राज्य र केन्द्रलाई एउटा दललाई किनेर भारतभरिका गोर्खाहरूको आवाज निमोठ्‌न सकिँदैन भन्ने जवाब दिन देशभरिबाट नै गोर्खाहरू सङ्गठित गर्दै आन्दोलन अघि बढाउन क्रामाकपाले कार्य योजना बनाइरहेको जनाएका छन्‌।

0 comments: on "गोर्खाल्याण्डको मुद्दाःमोर्चाले छोड्यो,क्रामाकपाले लियो"