मुख्य समाचार :


पैसा लुटेर भाग्ने युनिपेका एजेन्टहरूलाई लगानीकर्ताहरूले दियो अल्टिमेटम

मनोज वोगटी
कालेबुङ,2 जुलाई।

पैसा लुटेर कालेबुङबाट भागेका युनिपे कम्पनीका एजेन्टहरूलाई लगानीकर्ताहरूले कालेबुङ तोकिएको समयभित्र आउनुपर्ने अल्टिमेटम दिएका छन्‌। युनिपे अनि भिजारेभ नामक कम्पनीका कालेबुङका दम्पती एजेन्ट एल्विन लामा अनि अनुपमा लामा जो लगानी कर्ताहरूको पैसा फर्काउन नसकेर कालेबुङबाट भागेका थिए उनीहरूलाई आज लगानीकर्ताहरूले सिलगढ़ीमा बसेर बयानबाजी नगरेर कालेबुङ आउनुपर्ने बताएका छन्‌। समयले चार कम्पनीका एजेन्टहरूलेे कालेबुङवासीबाट करोड़ौ लुटेर भागेको समाचार प्रकाशित गरेपछि चार मध्येे एक कम्पनी युनिपे अनि भिजारेभका एजेन्ट एल्विन लामाले सिलगढ़ीबाट एक पत्रिकामा स्पष्टीकरण दिएका थिए।

अहिलेसम्म एक दैनिक अनि एक लोकल च्यानलमा आफू मलेशियामा रहेको अनि लगानीकर्ताहरूको पैसा फिर्ता गराउन प्रयासरत्‌ रहेको भन्दै जुलाई महिनासम्म पैसा फर्काउने बाचा गरेको भए पनि अहिलेसम्म कालेबुङका लगानीकर्ताहरूको अघि मुख नदेखाएका एल्विन लामाले अचानक सिलगढ़ीबाट वयानबाजी गरेपछि तिनी मलेशियामा नभएर सिलगढ़ीमा नै लुकेर बसेको पक्कापक्की भएपछि लगानीकर्ताहरूले एक प्रेस विज्ञप्ती जारी गर्दै तिनलाई कालेबुङ आउनु पर्ने बताएका छन्‌। एल्विन लामाले एक पत्रिकामा कम्पनी डुबेेको विवृति सिलगढीबाट नै दिएकोले लगानीकर्ताहरूले सिलगढ़ीमा बसेर वयानबाजी र स्पष्टिकरण नदिएर कालेबुङ आएर शीघ्र नै लगानीकर्ताहरूसित भेटेर कुराकानी गर्नुपर्ने जनाएका छन्‌।

एल्विन लामाले सिलगढ़ीबाट नै उनीहरूसम्बन्धमा छापिएको समाचारमा आपत्ती जनाएका थिए। समयले युनिपे सम्बन्धमा समाचार प्रकाशित गरेपछि शुक्रबार डुबेको पैसा फिर्ता गराउन गठित कमिटीले लगानीकर्ताहरूलाई लिएर बैठक नै गरेको थियो। बैठकमा युनिपेका एजेन्टहरूसित भइरहेको सम्पर्कबारे लगानीकर्ताहरूलाई जनाइएको थियोे। तर एल्विन लामाले खबरको खण्डन गर्दै पत्रकारलाई नै दोष्याउने काम गरेका थिए। एल्विन लामाले खबरको खण्डन गर्दै कम्पनीबारे दिएको विवृतिबारे लगानीकर्ताहरूले असन्तोष प्रकट गरेका छन्‌। कमिटीले जारी गरेको विज्ञप्तीमा लेखिए अनुसार एल्विन लामाले कम्पनीबारे वयान दिएपछि कमिटीलाई लगानीकर्ताहरूले फोन गर्दै लामाको वयानमा कतिको सत्यता छ भन्ने कुरा सोधिरहेका छन्‌।

विज्ञप्तीमा लेखिएको छ, विगत 18 मई 20011 को दिन एक च्यानलमा अनि 20 मई 2011को दिन एक नेपाली दैनिक(समय होइन)मा दिएको खबरको कुनै महत्व एल्विन लामाले राखेका छैनन्‌। तिनले त्यसबेला दिएका आश्वासनहरू सबै झुटो साबित भएका छन्‌। अब लगानीकर्ताहरूले समाचारपत्रमा एल्विन लामाले दिएको आश्वासन र स्पष्टिकरणमा विश्वास गर्ने छैनन्‌। यसकारण एल्विन लामा स्वंय कालेबुङ आएर मलेशियामा के भयो, अहिले कम्पनी कुन अवस्थामा छ, पैसा फर्किने सम्भावना कति छ सबै बताउनुपर्छ। सत्य कुरा भन्नु पर्छ। कालेबुङबाट बाहिर गएर, ठेगानासम्म नदिएर लगानीकर्ताहरूलाई झुक्काउने काम लामाले बन्द गरुन्‌। विज्ञप्ती अनुसार पैसा फर्काउनको निम्ति एजेन्ट अनुपमा लामाले बताउने गरेको प्रकल्पलाई स्पष्ट पार्न कालेबुङ आउने कुरालाई पनि अनु लामाले नै स्थगित गरेकोले लगानीकर्ताहरू अन्योलमा परेका छन्‌।

कमिटीका पदाधिकारीहरूले अनुपमा लामालाई अल्टिमेटम दिँदै विज्ञप्तीमा भनिएको छ, 5 देखि 12 जुलाईसम्ममा अनु लामाले कमिटीसित सभा गरेर कुरा स्पष्ट नगरे प्रकल्पको कुरा पनि झुटो मानिनेछ। अनुपमा लामाले 15 जुलाईसम्ममा पैसा फिर्ता दिने भनेर दिएको बचनबारे पनि लगानीकर्ताहरू जान्न इच्छुक रहेको विज्ञप्तीमा जनाइएको छ। एल्विन लामा अनि अनुपमा लामाले 12 जुलाईसम्म व्यक्तिगत्‌रूपमा कालेबुङ आएर बैठक गर्नुपर्ने कमिटीका शान्ति शर्मा, महेश छेत्री, सुनिता राई अनि सञ्जय शर्माले हल्ताक्षर गरेको विज्ञप्तीमा जनाइएको छ।

0 comments: on "पैसा लुटेर भाग्ने युनिपेका एजेन्टहरूलाई लगानीकर्ताहरूले दियो अल्टिमेटम"