गोर्जमान गुरूङ,
सिलगढ़ी।
छुट्टै राज्यको निम्ति जुन चेतना जनतामा आयो, त्यसमा गोरामुमो नेता सुबास घिसिङको पूर्ण योगदान छ। यो चेतना अहिले आएर डा.हर्कबहादुर छेत्रीको परिभाषामा ‘भावना’ बनेको छ। गोर्खाहरूको छुट्टैराज्य हुनुपर्छ भनेर सोंच्नु भावनाको कुरा हो भने त्यो भावना नराम्रो होइन। नराम्रो त त्यो हो जसले गोर्खाल्याण्डको नाममा दागोपाप वा परिषद् थाप्छ। भावना बोक्नेहरूले पैसा पनि पाउँदैन, चौकी पनि पाउँदैन। यहॉंसम्म त पक्का हो कि भावना बोक्नेले कन्ट्राक्टरी पनि पाउँदैन। यी चीजहरू त्यसले पाउँछ जोसित भावना हुँदैन। डा. हर्कबहादुर छेत्री मात्र किन, विमल गुरूङ र रोशन गिरीसित पनि गोर्खाल्याण्ड हुनुपर्छ भने भावना छैन। गोर्खाल्याण्ड हुँदैन र हुन सक्दैन भन्ने भावना उनीहरूमा कसले निर्माण गर्यो? अहिलेलाई यो प्रमुख विषय हो।
गोरामुमो नेता सुबास घिसिङले पहिले गोर्खाल्याण्ड हुन्छ भन्यो। जनता बटुल्यो। राज्य र केन्द्रसित यसरी नै त्रिपक्षीय वार्ताहरू गर्यो, जसरी गोर्खा जनमुक्ति मोर्चाले गर्यो। डा.हर्क भाइ, जो अहिले बङ्गालका एमएलए हुन् उनलाई राम्ररी नै थाहा छ, कसले मोर्चाका नेताहरूलाई कुनै पनि परिस्थितिमा छुट्टैराज्य हुनुसक्दैन भन्ने कुरा रामरी नै बुझाउन सक्षम बनेका छन्। शुरूमा त सांसद जसवन्त सिंहले पनि मोर्चालाई रामरी नबुझेकोले सॉंच्ची नै गोर्खाल्याण्ड भने। यति बेला सिंहले दार्जीलिङका जनतालाई थुप्रै बचन पनि दिए। रुडि प्रतापले त कालेबुङको पन्ध्र अगस्तको दिन के भनेका छन्, त्यो सम्झिनेहरूलाई थाहा होलान्। सांसद सिंहले सांसदमा ‘दार्जीलिङका समस्याहरूलाई ध्यान दिएको भए अहिले छुट्टैराज्यको मुद्दा उठ्ने थिएन’ भनेका हुन्। हुन् कि होइनन् भनिरहन परेन। सबैले सुनेका हुन्। सुन्नु र बुझ्नुमा तर धेरै भिन्नता हुन्छ। तिनले भने मोर्चाले सांसदले गोर्खाल्याण्डको कुरा गरेको सुने। सुन्नेहरूले धेरैले नै सांसदले पहाड़मा विकास भयो भने गोर्खाल्याण्डको आवाज नै उठ्दैन भन्ने पनि बुझे। यो सुनाइ र बुझाइको फलाफल अहिले तपाईंहरू सामु छ।
लगभग मोर्चाको खुट्टा फर्काई यहीँबाट शुरू भयो। सिंहले केन्द्रका धेरै नेताहरूसित मोर्चाका बबुरोहरूलाई भेटाए। मोर्चाको एक लेखक नेताले लेखेका पनि छन् कि उनीहरूलाई केन्द्र र राज्यका नेताहरूले ठूलो इज्जत दिएको, उनीहरू ठूलो भए पनि उनीहरूलाई ठूलो व्यवहार नदेखाएर एकदमै हितैशी भएको। मोर्चाका एक नेतालाई त चिदम्बरमले स्पष्ट शब्दमा भनेका पनि रहेछन्,There may be many things desirable but the doables are few । सरकारले यसै गरे। कहिले नपाएको इज्जत पाएको कुरा गर्ने ती नेताहरूलाई आफूहरू खाल्डामा पर्दै गएको पत्तो पनि भएन। लगभग गोर्खाल्याण्ड बुझाउन गएका नेताहरू उल्टै ‘गोर्खाल्याण्ड हुँदैन, दागोपाप भन्दा ठूलो केही थाप्नुपर्छ ’भन्ने कुरामा शिक्षित बनेर आए। अहिले म सम्झन्छु, ठीक सुबास घिसिङ पनि यस्तै केन्द्रिय कुटनीतिको शिकार बनेका थिए। दागोपाप थाप्दा तिनले पनि -‘जनताले धेरै आन्दलन गर्यो, जनता थाक्यो अब केही समय बिसाउन पनि पर्छ, यसैकारण यो चौतारी थापनुपर्छ’ भनेका थिए।
केही दिन अघि गोजमुमोको विमल गुरूङले पनि जिमखाना हलमा यसै भनिरहेका थिए। जनताले गोर्खाल्याण्ड भन्दा हाइ काड्न थालेको अनि केही बिसाएर फेरि आन्दोलन गर्ने मोर्चाले ठानिसकेको विमल गुरूङले बताएका थिए। घिसिङले जनता थाकेको कुरा त्यतिबेला गरे जब 40 दिनको बन्द भयो। जनतामा यतिधेरै समस्याहरूको उपार्जन गरियो कि भन्न सजिलो भयो। भनियो पनि, ‘जनता थाकेको छ, अब चौतारी...।’ मोर्चाको आन्दोलन भोेग्नेहरूलाई थाहा छ कि ती सबै जनता थकाउने खेल थियो। यो खेल त्यसै खेलिँदैन। जब नेतृत्वलाई आफ्नो शक्तिको अनुमान हुन थाल्छ अनि भारत जस्तो देशमा उनीहरू जस्तो राजनीति गर्नेहरूको हाराहारीमा आफूलाई उभ्याउँछ। आँक्छ र निर्णय गर्छ-‘अब भावनामा डुब्न कम, यथार्थमा बॉंच्न धेर।’ यथार्थ भनेको जति नै घोड़ा घसे पनि राज्य हुन नसक्ने कुरा। यो यथार्थ नेतृत्वको आत्मविश्वासको कमीबाट जन्मिने कुरा हो।
उसलाई लाग्छ कि ‘अब हॉंक्न सकिन्न’ तब उ परिषद्तिर फर्किन्छ। उ आफै परिषद्तिर फर्किएको हुँदैन, यसमा पछाड़ीबाट केन्द्रले खेलेको हुन्छ। डोरी केन्द्र र बङ्गालका पोलिटवूरोहरूको हातमा, कठपुतली ती नेताहरू। सुबास घिसिङ पनि कठपुतली थिए। अहिलेको जेनेरेशनको भाषामा पपेट। घिसिङ पपेट रहेको कुरा मोर्चाले पनि दिलोज्यानले भनेको हो। बङ्गालको एजेन्ट, केन्द्रको पनि एजेन्ट मान्छ मोर्चाले घिसिङलाई। यसको उदाहरणको निम्ति मोर्चाले देखाउँछ-घिसिङले पाएको जेड क्याटागोरीको सुरक्षा। कुन फाइदाको निम्ति घिसिङलाई यो सुरक्षा दिइन्थ्यो र नत्र। घिसिङ पपेट थिए यसकारण दागोपाप थापे। घिसिङ पपेट थिए, यसकारण जनतालाई थकाए। घिसिङ पपेट थिए यसकारण गोर्खाल्याण्ड ड्रप गरे( ड्रप गर्नु तर ठूलो कुरा होइन, ड्रप भन्ने शब्द बाधक पनि होइन। नत्र मोर्चा जन्मिने पनि थिएन)। छैटौं अनुसूचीमा फुल एण्ड पाइनल भने। तिनी पपेट थिए भने बङ्गाल र केन्द्रका तीनका नजिकका नेताहरूको। जसको निर्देशमा घिसिङले एउटा जिल्लामा प्रभावकारी कार्यक्रम र षड़यन्त्रहरू गरे। तीनवटा महकुमा थियो दागोपापको। त्यसै अनुसारको बजेट पनि। त्यसभित्र खेल्नु घिसिङको बुद्धि।
अहिले विमल गुरूङलाई हेरौं। न त दिल्ली र कलकत्ताका नेताहरूसित तिनको मित्रता नै छ, न त सॉंठगॉंठ। सॉंठगॉंठ र मित्रता नै भयो भने पनि उनीहरूबीचको भाषा नै मिल्दैन। दोभाषे राख्नुपर्छ। तिनी दिल्ली पनि हत्तपत्त जॉंदैनन्। गइहाले स्टडी फोरमका नेताहरूले पढाएको ट्यूसने पाठ जम्मै रटेर जान्छन्। तिनी जसरी बोल्छन्, तीनको भाषा सुनेर नै देशका अख्राट नेताहरूले बुझिहाल्छन् कि तिनी कुन बारीका मूला हुन्। शहरको चकाचक पसलमा गाउँको कुर्कुच्चा फुटेेको विर्खे गएको जस्तो। अनुहार हेरेरै सामानको दाममा ठगिदिन्छन् खप्पिस् पसलेले। बिर्खे पनि गाउँमा त निक्कै मै हुँ भन्ने मान्छे हुन्, तर शहर पस्यो कि औकातमा आइहाल्छ। विचरा गुरूङमा गोर्खाल्याण्ड हुनुपर्छ भन्ने भावना त छ, तर त्यसलाई सरकारमा राख्न सक्ने औकात छैन। त्यसकारण तिनले राख्नु पर्यो स्टडी फोरम्। फोरममा यस्ता मान्छेहरू पसे, जो सुवास घिसिङको खुट्टा मुनी थिए। ती मध्ये डा.हर्कबहादुर छेत्री प्रमुख हुन्। कुन्नी कता चिफ सेक्रेटेरी भएका र त्यसबेला गोर्खाल्याण्डका ग पनि उच्चारण नगरेका, उमेर हुँदा घिसिङ र बङ्गालका चाकरी गर्ने आइपीएस्, सोच्नु भन्दा धेर बोल्ने अनि आफूलाई सबैभन्दा ज्ञानु हुँ भन्नेहरू। उनीहरूलाई सञ्चालन गरे सचिवले जो, आग्सुको बेलादेखि नै ठूलो व्यानरको निम्ति व्याकूल थिए। (त्यसबेलाका समाचार पत्रहरू र त्यससम्बन्धमा आएका लेखहरू पढ्दा हुन्छ चाख लिनेले खोजेर)
मलाई लाग्छ विमल गुरूङ आफ्नै स्टडी फोरमको पपेट भएका छन्। नत्र यति धेर कन्ट्राडिस्कसन किन हुन्थ्यो? घरि के र घरि के-को मुद्दा उठाउनुपर्ने घरि के र घरि के भनिरहनुपर्ने बाध्यता केवल गोर्खाल्याण्डको सपना बोकेर आङ बॉंधेर आएका विमल गुरूङलाई पर्थ्यो नै किन?
तर जुन मूल पपेट थिए घिसिङ, उनैले पनि जन्माइ राखेका अर्को पपेट पनि हुन सक्छन् विमल गुरूङ। अहिले भोट सकियो गोरामुमो चुपचाप। चुनाव लड्न निस्किएको घिसिङले मिरिकमा गोर्खाल्याण्ड मागेकै थिइनँ भनेर जनाधार मोर्चामा खन्याउनु अनि यो कुरा थाहा पाउने डरले भोटमा उम्मेद्वारहरू खड़ा गर्नु र फोर्फिट हुनु। याद राख्नुपर्ने कुरा धेरैवटा छ, यहीनिर। पहाड़का दलहरू एक हुन अघि नै मोर्चाले सबैलाई विश्वासमा लिन खोजेको नाटक गर्नु अनि अन्तमा धोका दिनु। तरै पनि अरू दलले संयुक्त हुने कोशिष गर्नु तर गोर्खालीगका केही नेताहरू नमान्नु। पछि उनीहरूलाई पार्टीबाट नै निकाल्नु अनि निकालिएका नेताहरूसित गोरामुमो कै नेताहरू साथ हुनु। यता एउटा दलले भोट नै नहाल्ने घोषणा गर्नु तर भोट सबै जानु र मोर्चाले रेकर्ड मतले जित्नु। मोर्चाले प्राधिकरण खारेज गर्दै चुनाउको बेला केवल गोर्खाल्याण्डको निम्ति लड़ेको भन्नु र अन्तमा जितेपछि परिषद्को निम्ति सम्झौता हुनु। खै कहॉं नेर छ त नेताहरूको गोर्खाल्याण्डप्रतिको इमान्दारिता? अहिले देशभरिका गोर्खाहरूले दार्जीलिङलाई के ठान्दा हुन्।
घिसिङले जुन छैटौं अनुसूची ल्याउनेवाला थियो, त्यसको खेस्रा घिसिङले होइन बङ्गालले बनाएको थियो। बङ्गालले बनाएको खेस्रामा असली छैटौं अनुसूची होइन नक्कली छैटौं अनुसूची थियो। चलाख घिसिङले गोर्खाहरूको बद्नाम इतिहासबाट बॉंच्न नै छैटौं अनुसूचीको विरोधमा आवाज उठाउन लगाएर अर्को शक्ति जसले नक्कली छैटौं अनुसूची भन्दा केही ठूलो ल्याउन सक्ने जन्माएको होइन त? होेइन कसले भन्छ त? होइन भनेर डा.छेत्रीले पनि भन्न सक्दैनन् किन भने तिनले काइदा बुझिसके। यसैकारण नै तिनले अहिले प्रवक्ता हुनुको दायित्व पालन गरिरहेका छन्। विधायक हुनुको दायित्व त झन् तिनले निक्कै इमान्दारसित निभाइरहेकै छन्। अब हेर्दा हुन्छ एउटा पपेटले कति पपेट जन्माउँदा रहेछन्? जन्माएछन्। पपेटै पपेट। जतै फर्किए पनि पपेट। पपेट भएपछि आफूलाई नचाउँने डोरी जति नै सानो किन नहोस् चुँडाउन सक्दैन।
पपेट हुनुको यो दुर्भाग्य जबसम्म रहन्छ गोर्खाहरूको आकांक्षा पुरा हुँदैन। एक ठाउँ थुप्रिएको यो पपेटहरूलाई यतिकै छोड़ेर कतैबाट कुनै दिव्यशक्तिले राष्ट्रियस्तरमा कुनै राष्ट्रिय मोर्चा नै गठन भयो भने चॉंही कुन्नी? नत्र अहिले जनता पनि मोर्चाको पपेट नै भएको छ। यो महानिद्रा तोड़िँदा 10 वर्ष बितिसकेको हुनेछ।
एउटा कुरा चॉंही के हो भने, यी पपेटहरूलाई परिषद् थाप्न दिइहाल्नुपर्छ। चिनी पाएपछि कमिलाहरू त्यहॉं भुलिनेछन् तर मौरीहरूले त्यहीँबाट चाका बनाउने समाग्री जुटाउनुपर्ने छ। आउँछ यस्तो दिन? हेर्दै जॉंउ होइन त?
पग्ला कुकुर
12 years ago
0 comments: on "फेरि पनि पपेट"
Post a Comment