- पैसाले चिह्नारी बन्दैन
- गोर्खाल्याण्ड भन्यो, सेटअप थाप्यो
- आन्दोलन दार्जीलिङको निम्ति भएको होइन
- मोर्चाले सकेपनि आन्दोलन सकिएको छैन
मनोज वोगटी
कालेबुङ,12 जून।
अन्ततः मोर्चाले आफ्नो लुकाएर राखेको असली अनुहार देशभरिका गोर्खाहरूलाई देखायो। यसै भन्छन्, दार्जीलिङ बाहिरका गोर्खाहरू, जो छुट्टैराज्य चहान्छन्। उनीहरू भन्छन्, क्षेत्रीय विकासको निम्ति आन्दोलन गरेको थियो भने हामीलाई किन आशा देखायो?छुट्टै राज्य भनेकोले नै हामीले आन्दोलनहरूलाई समर्थन गरेका थियौं। वास्तवमा गोर्खा जनमुक्ति मोर्चाको आन्दोलन पैसा र चौकीको निम्ति नै थिएछ। मोर्चाको आन्दोलन थिएछ,क्षेत्रीय विकासको निम्ति। विकास नै चहान्थ्यो भने किन गोर्खाल्याण्डको आन्दोलन भन्यो?अहिले प्रश्नैप्रश्न उठाइरहेका छन् दार्जीलिङ बाहिरका गोर्खाहरू।
छुट्टैराज्यको निम्ति दार्जीलिङ नै उपयुक्त क्षेत्र थियो, यसैकारण देशभरिका गोर्खाहरूले यहीं राज्य बनाउनको निम्ति आन्दोलनलाई समर्थन गरेका थिए। तर मोर्चाले यो क्षेत्रमा राज्य हुनुपर्छ भनेर देशभरिका गोर्खाहरूले दिएको समर्थनबाट फाइदा लुट्यो। मोर्चाले देशभरिका गोर्खाहरूलाई धोका दियो। यसरी मोर्चामाथि अहिले तीब्र प्रतिक्रिया भइरहेको छ देशभरि नै। मोर्चाले गोर्खाल्याण्डको नाम गरी दार्जीलिङ र केही अंश डुवर्स,तराईको फाइदाको निम्ति सेटअप थाप्ने भएपछि विभिन्न प्रकारका प्रतिक्रियाहरू आइरहेको छ। क्षेत्रको विकासको निम्ति हो भने क्षेत्रीय दलको हिसाबमा मोर्चाले ठीकै काम गर्यो। तर मोर्चा र विमल गुरूङले आन्दोलन गोर्खाल्याण्डको निम्ति गरेको भनेर देशभरिका गोर्खाहरूलाई ढॉंटे।
देशभरिका गोर्खाहरूलाई झुक्काएर आफ्नो ठॉंउको विकासको निम्ति फाइदा लुटे। यस्तो फाइदा नै लुट्नुथियो भने, अघि नै भन्नुपर्थ्यो, कमसेकम देशभरिका गोर्खाहरू र सङ्घ-सङ्गठनहरूले आफ्नो पहल गर्ने थियो। मोर्चाले त वास्तवमा गोर्खाल्याण्डको आन्दोलन र आकांक्षीहरूको सपनासित नै खेलवाड़ गर्यो। यसप्रकारका टिप्पणीहरू गर्दा उनीहरू जति मर्माहत देखिन्थे, त्यति नै मर्माहत देखिन्थे दार्जीलिङले धोका दिएको सम्झिएर। विशेष अनुष्ठानको निम्ति कालेबुङ आइपुगेका विभिन्न राज्यका विभिन्न सङ्गठनहरूका गोर्खा प्रतिनिधिहरूलाई समय-ले केवल दुइवटा प्रश्न राखेको थियो-1. गोर्खा जनमुक्ति मोर्चाले ल्याएको व्यवस्था नै गोर्खाल्याण्ड हो? के ठान्छन् देशभरिका गोर्खाहरू यो व्यवस्था र छुट्टैराज्यको सम्बन्धमा?2.मोर्चाले आर्थिक सम्पन्नता नै चिह्नारी हो भनिरहेको छ, सही हो? उनीहहरूले यसको जवाबमा के भने, पढ्नुहोस्-
नित्यानन्द उपाध्याय,असम।
1.दार्जीलिङलाई दिइरहेको व्यवस्था जस्तो गोर्खा डेभलोपमेन्ट काउन्सिल त हामीलाई असम सरकारले दिएकै छ, तर हामीले गोर्खाल्याण्ड भनेको यस्तो काउन्सिलहरूको निम्ति होइन। देशमा गोर्खाहरू विभिन्न क्षेत्रमा नै असुरक्षित र किनारीकृत छन्। उनीहरूलाई देशको मूलस्रोतमा ल्याउनको निम्ति, उनीहरूको चिह्नारी देशमा सुनिश्चित गर्नको निम्ति गोर्खाल्याण्ड राज्य हुनुपर्छ भनेका हौ, र समर्थन पनि गरेका हौं। दार्जीलिङमा विकास त हुनुपर्छ, तर यो विकासको निम्ति पनि गोर्खाल्याण्ड शब्दको दुरूपयोग गर्नु? देशभरिका गोर्खाहरुको समर्थन लिएर आफ्नो फाइदा लुट्नु? मोर्चाले जे गर्यो क्षेत्रीय सवालमा ठीकै छ तर राष्ट्रिय सवालमा ठीक भएन। मुद्दाबाट हटेर सेटअप थाप्नु दुर्भाग्य हो।
2. सम्पन्न त अमेरिकामा रहेका गोर्खाहरू पनि सम्पन्न छन्, तरै पनि उनीहरू गोर्खाल्याण्डको आन्दोलन हुँदैछ भनेर किन सहयोग गर्छन् त? यो व्यवस्थाले यो क्षेत्रका गोर्खाहरूलाई आर्थिक सम्पन्न त गराउँला उसो भए देशभरिका गोर्खाहरूले गोर्खाल्याण्ड राज्य माग्न छोड्नु त? सिन्धीहरू सम्पन्न छन्, खै त उनीहरूको चिन्हारी? रुपियॉं चिन्हारी हो भन्नेहरू निश्चय नै आर्थिक विपन्नहरू होलान्।
मोतिलाल तिम्सिना,मेघालय
1.हामीलाई मेघालयमा मन्दरी(विदेशी)को लाञ्छना लगाइन्छ। त्यहॉंका गोर्खाहरू असुरक्षित छन्, हामीलाई हाम्रो थलो देखाउने राज्य चाहिएको छ। यसैकारण छुट्टैराज्य गोर्खाल्याण्डको आन्दलनलाई समर्थन गरिरहेका छौं। खुलेर समर्थन गर्ने परिस्थिति नभए पनि हामीले त्यहॉंबाट गर्नुपर्ने सहयोग गरिरहेका छौं। त्यहॉं भोटरलिष्टमा गोर्खाहरूको नाम आउनु हुँदैन भनेर सरकारी आदेश नै छ। यस्तो बेला हाम्रो राज्य भए हाम्रो पक्षमा बोल्ने मुख्यमन्त्री हुनेथियो। हाम्रो चिह्नारी बनिनेथियो। अहिले गोर्खाल्याण्ड आन्दोलन गरिरहेको मोर्चाले गोर्खाल्याण्डको नाममा आन्दोलन गरी दार्जीलिङ पहाड़को विकासको निम्ति स्थायी व्यवस्था थापेर छुट्टैराज्यको सवालमा अवरोध खड़ा गरेको बुझिएको छ। मोर्चाले जे सुकै गरोस् तर चिह्नारीको निम्ति छुट्टैराज्यको आन्दोलन त हुने नै छ अनि यो सफल पनि हुने छ।
2. म सम्पन्न छु, खै मेरो चिह्नारी? यो वाहियात कुरा हो।
शिव लामा कार्की, मनिपुर
1. दार्जीलिङ अनि यसको वरिपरिको क्षेत्र मिलाएर राज्य भए हामी मनिपुरबाट यहॉं बसाईँ सर्ने होइन। दार्जीलिङ बाहिरका कोही पनि यहॉं आउने होइनन्। यो ठॉंउ उपयुक्त छ भनेर,यहीं राज्य हुनुपर्छ भनेका हौं तर यहॉंका दलहरूले भने आफ्नो फाइदाको काम बनाउन गोर्खाल्याण्ड राज्यको नाममा स्वार्थपूर्ण आन्दोलन गरेको दुइपल्ट भयो। अहिलेको सेटअपले यहॉंको विकास हुन्छ राम्रो हो, तर आन्दोलन सकिएको छैन। यहॉंका दलहरू विकासको कुरा पाएर आन्दोलन सकेको र यही गोर्खाल्याण्ड हो भन्छ भने, यो सरासर स्वार्थी कुरा हो। यहॉंको विकासले भारतभरिका गोर्खाहरूको चिह्नारी बनिँदैन। चिह्नारीको निम्ति देशका गोर्खाहरू कटिबद्ध छन् भने कुनै पनि अवस्थामा राष्ट्रिय स्वर छुट्टैराज्यको दाबीमा उठ्ने नै छ।
2. यहॉंको विकास, सबै गोर्खाहरूको चिह्नारी होइन। यो कुरा बुझेन भने, तिनले मुद्दा नै बुझेका छैनन् भनेर जान्दा हुन्छ।
निर्मल कुमार पुन,मिजोराम
1.कालेबुङ आउँदा रेलमा बङ्गाली बन्धुहरूसित हिजो पनि कुराकानी भयो, उनीहरूले हामीलाई नेपाल को हो? भनेर सोधे। यो प्रश्नसित हामी अहिलेदेखि जुझिरहेका छैनौं। दार्जीलिङकाहरूले यो प्रश्नसित जुझ्न पर्नु नपर्नु यहॉंको बेग्लै परिस्थिति होला, तर देशभरिका गोर्खाहरूलाई चिह्नारीको संकट छ। भारतमा पनि गोर्खाहरू छन्, उनीहरूको पनि ठाउँ ठेगाना छ भनेर देशका अन्य नागरिकहरूलाई थाहा छैन। यसै कारण छुट्टैराज्य गोर्खाहरूको पनि हुनुपर्छ भन्ने माग उठेेको हो। नत्र यहॉंको विकासको निम्ति हामीले किन समर्थन गर्नु? घिसिङ र विमललाई हामीले समर्थन गरेको यहॉंको विकासको निम्ति होइन। फेरि किन दार्जीलिङ बाहिरका गोर्खाहरूको भावनासित आफ्नै दाजुभाइले खेलवाड़ गर्ने काम हुन्छ? जे भए पनि चिन्हारीको निम्ति आन्दोलन हुने नै छ। देशभरिका गोर्खाहरूलाई अझ बलियो पार्ने काम यसपल्टको धोकाले पनि गरेको छ।
2.पैसाले चिह्नारी बनिने हो भने, देशमा सबै गोर्खाहरू कङ्गाल मात्र छन् र? यो क्षेत्रीय सवाल हुनसक्ला, राष्ट्रिय होइन। किन भने गोर्खाल्याण्डको मुद्दा क्षेत्रीय होइन, राष्ट्रिय हो।
प्रवीण खालिङ, सिक्किम
1.सिक्किमबाट गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गरेको कुनै दल र नेतालाई हेरेर होइन। हामीले गोर्खाल्याण्ड शब्द जोड़िएको आन्दोलनलाई समर्थन गरेका हौं। सिक्किमका गोर्खाल्याण्डपप्रेमीहरू छुट्टैराज्यको कुनै विकल्प देख्दैनन्। दल र नेताहरूले यदि विकल्प देख्छन् भने त्यो आन्दोलन र नेता गोर्खाल्याण्डको निम्ति नै होइन। अहिले यही गोर्खाल्याण्ड हो भन्ने कुरा आइरहेको छ, त्यो उनीहरूको मानसिकता हो। देशभरिका गोर्खाहरूले चिन्हारीको निम्ति गोर्खाल्याण्ड भन्दैछ तर आन्दोनकारी दल र नेताले विकासको निम्ति भन्दैछ भने क्षेत्रीय मानसिकता र राष्ट्रिय मानसिकताबीचको पार्थक्यता हो। राष्ट्रियरूपमा आन्दोलनको आवश्यकताबोध अहिले सबैले गरिरहेका छन्, निश्चय नै यसले दिशा पक्रिनेछ।
2. आर्थिकरूपले सम्पन्न हुनु चिह्नारी हो भने, देशमा सबैभन्दा धनी गोर्खा मणिकुमार सुब्बा हुन्, तिनको नागरिकताको प्रश्न भारत देशमा फेरि किन उठ्छ त? पवन चामलिङ जस्तो मुख्यमन्त्रीको नागरिकताको प्रश्न किन उठ्छ? जबसम्म छुट्टैराज्य गोर्खाहरूको हुँदैन, चिन्हारी स्पष्ट बन्दैन। आर्थिक सम्पन्न हुनु नै चिह्नारी भन्नेहरूले आफ्नो कुरा गरेको हुनसक्छ।
एनबीएस विष्ट, देहरादुन
1.मोर्चाले गरेको आन्दोलन केवल दार्जीलिङको लागि भएको प्रमाणित भयो। आन्दोलन यहीँ सकिएको होइन। क्षेत्रीय समस्या समाधान पो भयो त, देशभरिका चिन्हारीको संकट त छँदैछ। आन्दोलन त चल्नेछ। दार्जीलिङको यो दुर्घटनाले देशभरिका गोर्खाहरूलाई सङ्गठित गर्ने प्रेरणा दिएको छ। दार्जीलिङको विकास हुन्छ, यसमा शुभकामना छ। मोर्चाको आन्दोलन क्षेत्रीय विचार हो। यो प्राप्ती पनि क्षेत्रीय हो। देशभरिका गोर्खाहरू यहॉंको क्षेत्रीय समस्या समाधान गर्नको निम्ति होइन। दार्जीलिङले आन्दोलन गरेकोमा आशा गरिएको थियो। विकासको निम्ति गोर्खाल्याण्ड नामको आन्दलन कुण्ठाइयो। यही गोर्खाल्याण्ड होइन। देशभरिका गोर्खाहरूले कुरा बुझिसकेका छन्। गोर्खाल्याण्डको आन्दोलन सकिएको छैन।
2.पैसाले कहॉं चिह्नारी बन्छ? ढॉंटेको होला। उनीहरूको निम्ति त चिह्नारी नै हो, देशभरिका गोर्खाहरूको निम्ति होइन।
जोएल राई, दिल्ली
जुन कुरा पाइएकोे छ, यो दार्जीलिङको लागि होला। त्यो पनि किटेर भन्न सकिन्न, किन भने फाइनल भएको छैन। जुन आन्दोलन थियो यो चिजको निम्ति थिएन। यो सम्झौताले देशभरिका गोर्खाहरूको आकांक्षा पुरा गर्दैन। यो यहॉंको 20 लाख गोर्खाहरूको मात्र समस्याको समाधान हो, हामीले 1 करोड़ 50 लाख गोर्खाहरूको समस्याको समाधानको करा अहिलेसम्म देशलाई गरिरहेका हौं।
यहॉं भन्दा धेर गोर्खाहरू भएका राज्यहरू पनि छन्, जसले केवल गोर्खाल्याण्ड भनिरहेका छन्। त्यहॉंको विकासको कुरालाई उनीहरूले देशभरि हल्ला गरिरहेका छैनन्। क्षेत्रीय विकासको निम्ति त क्षेत्रीय आन्दोलन देशभरि नै गोर्खाहरूले गरिरहेका छन्, सबैले एक स्वरमा देशभरिबाट देशमा गोर्खाहरूको चिन्हारी निश्चित गराउन, देशमा गोर्खाहरूलाई राष्ट्रिय मान्यता हुनुपर्छ भन्ने मागमा आन्दोलित छन्। तर ती गोर्खाहरू झैं गोर्खाहरूको अधिक्य रहेको दार्जीलिङले आन्दोलन गरेको अनि राज्यको निम्ति यही ठाउँ सबैपक्षबाट ठीक मानिएकोले देशभरिका गोर्खाहरूले समर्थन गरेका हुन्, तर देशभरिका गोर्खाहरूलाई उनीहरूको आकांक्षाको सवालमा धोका दिइने काम भएको छ।
क्षेत्रीय समस्याको सवालमा यही व्यवस्था राम्रो पनि हो। तर गोर्खाल्याण्ड राज्यको निम्ति गरिएको आन्दोलनको अर्थमा पनि गोर्खाहरूले गोर्खाहरूलाई नै धोका दिने काम यहीँबाट भयो। यही अन्त भने होइन, यहॉं आन्दोलन सकिए पनि देशभरिका गोर्खाहरू छुट्टैराज्यको निम्ति आन्दोलित छन्।
0 comments: on "मोर्चाले धोका दियो"
Post a Comment