मनोज वोगटी कालेबुङ, 31 मई।
गोर्खा जनमुक्ति मोर्चाले यसपल्ट गोर्खाल्याण्डको निम्ति विधानसभा चुनाउमा पूर्ण जनमत प्राप्त गरेको छ। मोर्चाले चुनाउभरि नै गोर्खाल्याण्डको निम्ति नै चुनाउ लड्नुपर्ने अनि राज्य र केन्द्रलाई दार्जीलिङका जनताले गोर्खाल्याण्डको निम्ति जनमत प्रदान गर्नुपर्ने बाध्यता आइपरेकोले नै मोर्चा चुनाउमा उत्रन परेको बताइएकोे थियो। जनताले मोर्चालाई सुन्यो अनि रेकर्ड भोटले मोर्चाले विधानसभामा पहाड़बाट तीनवटै आशनमा जित हासिल गर्यो।
बङ्गालमा वामदुर्गलाई तहसनहस गर्दै सरकार गठन गर्न सक्षम बनेकी मुख्यमन्त्री ममता व्यानर्जीलाई शुभकामना दिन मोर्चा प्रमुख लगायत स्टडी फोरमका प्रतिनिधिहरू र विधायकहरू समेतको कोलकाता यात्रा भयो। ममता व्यानर्जीले भनिन्, पहाड़को समस्या समाधान विकास र बातचितले नै हुने छ। तिनले गोर्खाल्याण्ड हुनसक्ने नसक्ने कुनै स्पष्ट बताइनन्। यस्तैमा विमल गुरूङले भनेका छन्, ढिलै होस् तर गोर्खाल्याण्ड ल्याएर नै छोड्ने छौं। ममता व्यानर्जी दार्जीलिङ जिल्लाको तीनवटा महकुमा अनि जलपाइगुड़ीका केही गोर्खा बाहुल क्षेत्रलाई लिएर गोर्खाल्याण्ड राज्य नै गठन हुनसक्ने कुरामा विश्वास गर्दैनन्।
तिनी अनुसार पहाड़को समस्या विकाससित जोड़िएको सवाल हो। वाम सरकारले यही विकासमा ध्यान नदिएको कारण नै वाम सरकारसित रुष्ट बनेर पहाड़मा छुट्टैराज्यको आन्दोलन गर्नुपरेको हो। यता सासंद जसवन्त सिंहले पनि संसदमा पहाड़मा विकास नभएकोले नै छुट्टैराज्यको निम्ति आन्दोलन भएको स्पष्ट पारेका थिए। केन्द्र पनि यो कुरा जान्दछ कि पहाड़को समस्या विकाससित जोड़िएको सवाल हो। यसकारण कुनै गतिलो प्याकेज वा आर्थिक शक्ति उपलब्ध गर्न सकियो भने त्यहॉंको आवश्यक्ता समाप्त हुने छ। यसैकारण केन्द्रले आन्दोलन गर्ने गोर्खा जनमुक्ति मोर्चालाई अन्तरिम प्राधिकरणको मन्त्र दिएको थियो।
जो वाम सरकारको अनिच्छाको कारण थॉंतीमा रह्यो। मोर्चा पनि ठान्दछ कि अहिले नै राज्य हुनसक्दैन। यसकारण कुनै व्यवस्थाबाट नै अघि बढ्न सकिन्छ। यसै सन्दर्भमा डा।हर्कबहादुर छेत्रीले भनिसकेका छन्, प्राधिकरणको निम्ति भनेर बुझाइएको रिपोर्ट जुन छ, त्यसैलाई अर्को शीर्षकमा अघि ल्याइने सम्भावना व्याप्त छ। तिनले नै भनेका थिए, सोझै गोर्खाल्याण्ड हुन्छ भन्नु महामुर्ख कुरा हो। राज्य र केन्द्रको स्थितिलाई ध्यानमा राख्दै मोर्चाले पनि अहिले नै गोर्खाल्याण्ड हुँदैन भने कुनै बलियो व्यवस्था पहाड़मा लागू हुनैपर्छ भन्ने मन बनाएको छ। किन भने दीर्घकालीन आन्दोलनले यहॉंको आर्थिकपक्षमा हानी हुने छ।
संयमले नै आन्दोलनलाई अघि बढ़ाउनुपर्ने छ। मोर्चा यहीनेर आइपुगेपछि पहाड़का अन्य दलहरूले मोर्चामाथि अविश्वास गरिरहेको छ। मुख्यरूपले अहिले क्रामाकपाले मोर्चालाई पूर्णरूपले अविश्वास गरेको छ। क्रामाकपाले भनेको छ, जनमतको कदर गर्दै मोर्चाले गोर्खाल्याण्डको कुरा गर्नुपर्छ। गोर्खाल्याण्डबाहेक कुनै कुरा हुनुहुँदैन। ममता व्यानर्जीसित भएको मोर्चाको बैठकमा गोर्खाल्याण्डको कुरा उठेन। तर पहाड़को समस्याको भने निक्कै चर्चा भयो। क्रामाकपाको भनाइ छ , गोर्खाल्याण्डको कुरा नै उठेन भने कुन समस्याको कुरा उठ्यो त? मूल समस्या नै राज्यको हो। मोर्चा र ममताको बैठकलाई क्रामाकपाले नौटङ्कीको संज्ञा समेत दिएको छ।
यता मोर्चा-ममताको बैठक 6 जूनमा हुने तय भएको छ। जुन दिन पहाड़को समस्यामाथि कुरा हुने बताइएको छ। के उसो भए यस दिन गोर्खाल्याण्डको कुरा हुन्छ त? यो प्रश्नको उत्तर मोर्चा र ममतासित नै छ। विश्लेषकहरूले लगाएको अनुमान अनुसार बैठकमा गोर्खाल्याण्डको होइन विकासको कुरा हुने छ। विकासको कुरा हुने विषयमा ममता धेरै उत्सुक छिन्। सम्भवत यस बैठकमा ममताले पहाड़को समस्या तीन महीनामा पूर्ण गर्ने जुन डेट लाइन दिएको थियो, त्यसैको निम्ति मोर्चाबाट विचार मागिने छ।
पग्ला कुकुर
12 years ago
0 comments: on "6 जून, कुरा विकास कि गोर्खाल्याण्डको?"
Post a Comment