मुख्य समाचार :


बौद्ध धर्म नै विश्व शान्तिको कारणः कर्मापा

आरोहण
कालेबुङ,17 मई।

17 औं दाबीदार कर्मापा थिन्ले थाई दोर्जीले विश्व शान्तिको कारण नै बौद्ध धर्म हुने बताएका छन्‌। तिनी तीनदिनदेखि कालेबुङमा छन्‌। तिनी बुद्ध जनयन्ती पालन गर्न नै कालेबुङ आएका हुन्‌। वैशाख दिवस (बुद्ध पूर्णिमा) तीन प्रमुख घटनाहरूको स्मृतिमा पालन गरिन्छ, जसमा शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति अनि निर्वाण रहेको छ। बुद्ध धमावलम्बीहरूको निम्ति यो दिन धेरै शुभ दिन हो। यसवर्ष शाक्यमुनि बुद्धको जयन्ती वा बुद्ध पूर्णिमा 17 मईमा पालन गरियो जुन दिन भारतमा नै राष्ट्रीय विदा घोषित गरिएको छ। यस तिथीलाई संसारभरिका सबै बौद्ध स्कूलहरूमा पवित्र दिवसको रूपमा मनाइन्छ।

कालेबुङमा पनि 17 औं
(दाबीदार)ग्याल्वा कर्मापा थिन्ले थाई दोर्जीले 15 देखि 17 मईसम्म आफ्ना भक्त अनि अनुयायीहरूसित बुद्ध पूर्णिमा पालन गरे। यस अवसरमा कालेबुङको श्री दिवाकर बौद्ध संस्थानमा तीन दिवसीय कार्यक्रमको आयोजना गरिएको थियो, जहॉं संसारभरिबाट तीन दिनै रिम्पोछे, भक्त अनि बौद्ध धर्मका कर्मापा काग्यू पन्थीहरूको उपस्थिति थियो। ग्यालवा कर्मापा तिब्बती बौद्ध धर्ममा पहिलो चैतन्य अफ्नो इच्छाद्वारा पुन: जन्म लिने मास्टर (टुल्कु) हुन्‌, जो 900 वर्ष पुराना कर्मा काग्यू वंश परम्पराका प्रमुख मानिन्छन्‌। यसकारण तिनी तिब्बती बौद्ध धर्मका सर्वाधिक महत्वपूर्ण वंशपरम्पराको शिक्षा धारक हुन्‌।


श्री दिवाकर बौद्ध संस्थान देशमा नै सबैभन्दा पुरानो गुम्पा संस्थानहरूमध्ये एउटा मानिन्छन्‌ तथा यो धेरैवर्षसम्म कर्मापा थिनले थाई दोर्जीको निवासस्थान रहेको पनि मानिन्छन्‌। बजुराथना कोठी 17 औं कर्मापाको निवास हो जहॉंबाट 16 औं कर्मापाले पनि कुनैबेला आफ्नो यात्राको अवधी ब्ल्याक क्राउन समारोहमा भाग लिएका थिए। विभिन्न ठाउँहरूबाट धेरै भक्तहरूले कालेबुङमा उपस्थिति दिएका थिए भने स्थानीय भक्तहरूले पनि कर्मापा दोर्जीलाई कालेबुङमा भक्तिभावले स्वागत जनाए।

प्राय दिनभरि नै ग्यालिङ(तिब्बती सङ्गीत वाद्य यन्त्र)ड्रम अनि सिम्बल्सको ध्वनिले कावेबुङको वातावरण नै आध्यात्ममय बनाएको थियो।
कर्मापाले यस अवसरलाई पवित्रताको संज्ञा दिँदै विश्व शान्ति अनि प्रेम स्थापनाको निम्ति बुद्ध शिक्षा धर्मको लाभको बारेका बताए। बौद्ध धर्म सम्पूर्ण विश्वमा फैलिन विश्वास पनि प्रकट गरे। तिनले भने, बौद्ध धर्म विश्वभरि फैलिनु सम्पूर्ण जीवहरूको निम्ति कल्याणकारी हुने छ। जो विश्व शान्तिको कारण हुने छ। आज ग्याल्वा कर्मापाका शिक्षा अनि शक्तिमाथि दुइसत्रमा नेपालको पोखारास्थित विक्रमशिला बौद्ध संस्थान अनि कालेबुङको श्री दिवाकर बौद्ध संस्थानका विद्यार्थीहरूबीच नै खुला बहस वा तर्कसभा पनि भयो भने विहान मेला ग्राउण्डबाट शोभा यात्रा निकालिएको थियो, जसले नगर परिक्रममा गर्‍यो।

मुख्यगरी तिब्बती बौद्ध धर्मको कर्मा काग्युका धेरै मतावालम्बीहरू शोभा यात्रामा सामेल बनेका थिए। मेला ग्राउण्डमा नै बुद्ध शाक्यमुनिको चार तल्ला अग्लो थाङ्‌का प्रदर्शन गरिएको थियो। थाङ्‌कामा भगवान बुद्धको 45 फुट अग्लो अनि 30 फुट चौड़ा बुद्धको चित्र थियो, जसको पूजा अर्चना गरियो। शोभा यात्रापछि श्री दिवाकर बौद्ध संस्थानस्थित कार्यक्रम मञ्चमा नै कर्मापाले भक्तहरूलाई वाङ वितरण पनि गरे भने तिनले प्रवचन पनि राखे।

0 comments: on "बौद्ध धर्म नै विश्व शान्तिको कारणः कर्मापा"