मुख्य समाचार :


चुनाउ घोषणापछि एनयुपीडब्ल्यु सड़क उत्रने

दाबीः चिया श्रमिकको रोज 90 होइन 250

मनोज वोगटी
कालेबुङ,5 मई।


कंग्रेसको श्रमिक सङ्गठन नेश्नल युनियन प्लान्टेशन वकर्सले विधानसभा चुनाउको मत गणनापछि जिल्लाका चिया श्रमिकहरूको रोज वृद्धिको निम्ति आन्दोलन गर्ने भएको छ। युनियनका जिल्ला सचिव प्रवीण गुरूङले यसबारे जानकारी दिँदै चियाबगानका मालिक अनि गोर्खा जनमुक्ति मोर्चाको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले श्रमिकहरूको भविष्यसित खेलवाड़ गरिरहेको आरोप लगाउँदै भने, मोर्चा र मालिकबीचको जुन सम्झौता भयो त्यो चुनाउको आचार संहिताको विरूद्ध छ। यस्तो बेला भएको कुनै पनि सम्झौतालाई मान्य गरिँदैन। जनतामा भोट फकाउन मोर्चाको श्रमिक सङ्गठनले बद्मासी गरिरहेको छ।

वास्तवमा मार्च महिनामा रोजवृद्धिको सम्झौताको मियाद समाप्त भयो। उत्तरबङ्गालका सम्पूर्ण युनियनहरूले कमन मिनिमम वेजेज 165 हुनुपर्ने माग गर्दै आइरहेको छ। हामीले पहाड़का स्थिति हेरेर श्रमिकहरूको रोज 250 हुनुपर्ने विषयमा जोर दिइरहेका छौं। हामीलाई भोट फकाउनु छैन। यसैकारण चुनाउ घोषणापछि हामी पहाड़का श्रमिकहरूको रोज 250 हुनुपर्ने मागमा आन्दोलन शुरू गर्नेछौं। तिनले यसबारे एनयुपीडब्ल्यु जिल्लासभापति अनि केन्द्रिय सभापतिसित व्यापक छलफलपछि कार्यनीति तयार पारिने बताएका छन्‌। तिनले मोर्चाले श्रमिकहरूको रोज 90 रुपियॉं बनाउनु अवैद्ध रहेको ठहर गर्दै चुनावी आचार संहिता लागेको बेला न त युनियनले मागेको पाउन सक्छ न त दिनेले दिन सक्छ-भने। यससम्बन्धमा धेरै सङ्गठनहरूले आपत्ति जनाइसकेको भएपनि मोर्चाको श्रमिक सङ्गठनले प्रलोभन देखाएर भोट बटुल्ने षड़यन्त्र गरेको पनि तिनले बताए।

0 comments: on "चुनाउ घोषणापछि एनयुपीडब्ल्यु सड़क उत्रने"