मनोज वोगटी
14 मई, कालेबुङ।
मत विभाजन, जो गोर्खाल्याण्ड मुद्दाको निम्ति हानिकारक बताउँदै चुनाउमा अंशग्रहण गर्नु हुँदैन भन्ने पार्टी र सङ्घसंस्था होस् वा गोर्खाल्याण्ड ल्याउन सक्छ भने हामी मात्र ल्याउन सक्छ भन्ने दलहरू होस् उनीहरूको निम्ति यसपल्टको चुनावी हारले स्पष्ट पारेको छ कि जनतामा कुनै पनि दलको कार्यक्रमलाई नै विश्वास गर्ने संस्कार छ। अहिलेसम्म मोर्चाले जुनकुनै परिस्थितिको निर्माण गरेपनि आखिरमा जनताको विश्वासबाट तल झर्ने चलखेल गर्न सकेको छैन। चाहे त्यो विपक्षको विरोधको कारण होस् वा राज्य र केन्द्रको राजनैतिक परिस्थितिको कारण होस्।
यसपल्टको विधानसभा चुनाउमा मोर्चाले रेकर्ड भोट पाएको छ भने जम्मै दलहरू मिलेर पनि अलिकतिपनि असर गर्न सकेन। क्रामाकपाले मोर्चालाई आरोप लगाउँदै मोर्चाले जितेपनि त्यो गोर्खाल्याण्डको निम्ति नरहेको बताए पनि मोर्चाले जुन पूर्णमत प्राप्त गरेको छ त्यो केवल गोर्खाल्याण्डको निम्ति रहेको बताइरहेको छ। मोर्चाले भनेको छ, अन्तरिम प्राधिकरणको अर्थ अब छैन। हाम्रो माग गोर्खाल्याण्ड नै हो। तर मोर्चाले नै सोझै गोर्खाल्याण्ड ल्याउने महाधुर्त रहेको बताएपछि अन्य दलले मोर्चा गोर्खाल्याण्डको पक्षमा नरहेको आरोप लगाइरहेको छ। मोर्चा प्रवक्ता डा।हर्कबहादुर छेत्रीले नै कालेबुङको एक च्यानलसितको कुराकानीमा मोर्चाले बुझाएको प्रस्तावलाई नै अर्को शीर्षक दिएर ल्याइने जनाएका थिए।
मोर्चाले केन्द्रमा गोर्खाल्याण्ड निर्माण हुने परिस्थिति नरहेको स्पष्ट पारिरहेको छ भने मोर्चाले नै आफ्नो मूल मुद्दा गोर्खाल्याण्ड बाहेक केही हुँदैन भनिरहेको छ। मोर्चाको यस्तै घुमाउरो राजनैतिक चरित्रकोकारण मोर्चाले विपक्षहरूलाई भन्ने बाटो प्रदान गरिरहेको छ। पहाड़का विपक्षले अहिलेसम्म आफ्नो दलीय कार्यक्रम भनेकै मोर्चाको विरोध गर्नु मात्र ठानेर राजनीति गरिरहेको तर मुद्दाको निम्ति भने ठोस् कुनै पनि कार्यक्रम नगरेकोले जनतालाई कुनै पनि अन्यदलले विश्वासमा लिन सकेको छैन। यसैको नतिजा नै यसपल्ट विपक्षले पाएको मत हो भन्ने धारणा चौतर्फी बनेको छ। जुन मत मोर्चाले पायो यसले स्पष्ट पार्यो जनताले मोर्चालाई नै विश्वास गरिरहेको छ किन भने मोर्चासित राजनैतिक कार्यक्रम छ। पहाड़मा दल परिवर्तनको सपना देख्ने विपक्षकै दलहरूले पहिले आफ्नै पारम्परिक राजनैतिक कार्यसोंचमा परिवर्तन ल्याउनुपर्ने देखिएको छ। बङ्गालका सम्भावित मुख्यमन्त्री ममता व्यानर्जीले यता तीन महिनामा पहाड़को समस्याको समाधान गर्ने घोषणा गरिसकेकी छन् भने यता मोर्चा मात्र पूर्ण जनमत प्राप्त दल हो।
मोर्चाले नै अहिले नै गोर्खाल्याण्ड हुन नसक्ने परिस्थिति बुझिसकेको छ अनि बुझाइएको प्रस्ताव अनुसार नै गोर्खाल्याण्डको खुड्किलो बनाउँदै जाने बताइसकेको छ। यदि मोर्चाले जनतालाई विश्वासमा लिएर कुनै पनि जनफाइदाको निम्ति कुनै पनि राजनैतिक निर्णय लियो भने निश्चय नै पहाड़का विपक्षहरूले त्यसको विरोध गर्नसक्छ तर विपक्षको अस्तित्व के हो त्यो भने यसै चुनाउको परिणामले स्पष्ट पारिसकेको छ। अब मुद्दा केन्द्रित सहमतिपूर्ण कार्यनीतिको सम्भाव्यपक्षमा नै सङ्कट आउने देखिएको छ। मोर्चा पूर्ण जनमत प्राप्त दल रहेकोले सरकारले मोर्चासित नै बातचित गर्ने देखिएको छ, जो विपक्षी दलहरूको निम्ति टिप्पणी र विरोधको कारण बन्न सक्छ। अब उताको पहाड़को राजनीति विपक्षको निम्ति बलियो जनमत निर्माण गर्नु बन्ने हो कि मूल मुद्दालाई लिएर आन्दोलन गर्नु हुन्छ, त्यो हेरिनुपर्ने विषय बनेको छ भने मोर्चाले पनि पाएको जनमतलाई सही ठाउँमा प्रयोग गर्ने हो होइन भन्ने कुरा पनि हेरिनुपर्ने विषय बनेको छ।
पग्ला कुकुर
12 years ago
0 comments: on "विपक्षको लाजमर्दो हार, अब के?"
Post a Comment