मनोज वोगटी
कालेबुङ, 28 मई।
क्षेत्रीय हिसाबमा जिल्लाभरिमा नै सबैभन्दा सक्रिय पत्रकारिता कालेबुङमा भइरहेको छ। प्रिन्टमा त छँदैछ, मुख्यत इलेक्ट्रोनिक मीडियाको क्षेत्रमा पनि कुनै पनि राज्यको जिल्लाभित्रको एउटा महकुमामा सबै भन्दा सक्रिय रहेको ठाउँ नै पनि कालेबुङ भएको छ। कार्यक्रमहरूबारे पूर्ण प्रसारण गर्ने च्यानलहरू मात्र 11 वटा रहेको छ भने समाचारप्रधान च्यानलहरू चारवटा छन्। सङ्घ-संस्थाहरूको नीजि कार्यक्रमहरू प्रसारण गर्ने च्यानलहरूमा हिल च्यानल, शिखर टिभी, अभिभाव च्यानल, कालेबुङ वान, एकता टिभी, गोर्खा च्यानल, एसई, हाम्रो च्यानल, हाम्रो दर्पण, हाम्रो आवाज, कन्सेर्टो क्लब आदि रहेको छ। यी च्यानलहरूमा साहित्यिक, सामाजिक, शैक्षिक तथा अन्य जानकारीमूलक कार्यक्रमहरू महकुमावासीले हेर्न पाउँछन् भने सॉंझ 6ः30 देखि जिल्लाभरिका समाचारहरू प्रसारण हुने गरेको छ।
समाचार प्रसारण गर्ने च्यानलहरूमा दैनन्दिनी, केटीभी, हिमालयन पिपल्स च्यानल अनि हाल खबर रहेका छन्। कालेबुङका दुइवटै पत्रकारितासित संलग्न संस्थाहरू कालेबुङ प्रेस क्लब अनि जर्नलिष्ट एशोसिएसनले क्रमैले दैनन्दिनी अनि हालखबर समाचारमूलक च्यानल प्रसारण गर्ने गरेको छ। कालेबुङ महकुमाबाट कुनै पनि समाचारपत्रहरू अहिले प्रकाशित नभए पनि मासिक अंग्रेजी पत्रिका हिमालयन टाइम्स भने निरन्तर प्रकाशित भइरहेको छ।
पत्रकारिताको क्षेत्रमा कालेबुङले आफ्नैरूपले प्रगति गरिरहेको पत्रकारहरूको संगठनहरूले पनि स्वीकार्ने गरेको छ भने जिल्ला मात्र होइन जिल्लाबाहिरबाट पनि कालेबुङलाई पत्रकारिताको क्षेत्रमा अगुवाकोरूपमा हेर्ने गरेको पाइन्छ। कालेबुङको पत्रकारिताले इलेक्ट्रोनिकदेखि अहिले विस्तारै साइबर क्षेत्रमा पनि प्रवेश गरिरहेको छ। कालेबुङ महकुमाबाट खुबै सक्रियरूपमा कालेबुङ प्रेस क्लबले दुइवटा अनलाइन न्यूज साइट चलाइरहेको छ। जसमा कालिम्पोङअनलाइनन्यूज डट ब्लगस्पट डट कम अनि कालिम्पोङन्यूज डट नेट रहेको छ।
ब्लगसाइटलाई प्रेस क्लबले 2009 देखि नै नियमित गरिरहेको छ भने 2010 देखि नै अर्को न्यूज साइट पनि शुरू गरेको छ, जो नियमितरूपले चलिरहेको छ। दुवै साइटका सम्पादक अरूण कुमार राईले भने, यस अघि पनि कालेबुङ इन्फो र हिमाल्यन टाइम्स न्यूज साइटहरू थियो अनि अहिले पनि छ तर यी साइटहरू निरन्तर छैनन्। हामीलाई लाग्यो न्यूज साइटलाई निरन्तर राखियो भने साइबर पाठकहरूले राम्रै जानकारीहरू प्राप्त गर्न सक्नेछन्। तिनले अझ भने, पत्रकारिताको क्षेत्रमा रहेर समयसित नै दौड्नुपर्ने दायित्व पत्रकारसित रहन्छ।
आफैलाई अपडेट गर्न पनि न्यूज साइट थालियो। राईले यसप्रकारको साइबर चहलपहललाई सुबै समय सापेक्ष बताउँदै भने, क्षेत्र सुलभ नरहेकोले हाम्रा मानिसहरू धेरै विदेशिन परेका छन्। उनीहरूलाई आफ्नो क्षेत्रमा के भइरहेको छ, त्यसको जानकारी दिने साधन नै थिएन। उनीहरूलाई सेवा पुर्याउनै पनि न्यूज साइट शुरु गरियो। क्लबद्वारा निरन्तर साइटहरू अहिले 140 देशले हेर्ने गरेका छन् भने दैनिकरूपमा सयभन्दा माथिका साइबर पाठकहरूले पढ्ने गरेका छन्।
यता कालेबुङ इलेक्ट्रोनिक मिडियाको क्षेत्रमा छोटो अवधीमा नै लोकप्रियता हासिल गर्ने केटीभीले पनि केही महिनादेखि अनलाइन न्यूज केटीभीकालिम्पोङ डट कम चलाई रहेको छ भने उस्तै मझौला युवा पत्रकारहरूले निर्भिकरूपमा चलाइरहेको हिमालयन पिपल्स च्यानलले पनि केही महिनादेखि अनलाइन न्यूज कालिम्पोङट डट टीके चलाईरहेको छ।
कालेबुङ प्रेस क्लबले एउटा ब्लगस्पटबाट अनलाइन चलाइरहेको छ भने अर्को आफ्नै डोमेनमा चलाइरहेको छ। यता केटीभीले पनि आफ्नै डोमेनमा चलाइरहेको छ तर हिमालयन पिपल्स च्यानलले भने ब्लगस्पटबाट नै अनलाइन न्यूज चलाइरहेको छ। अंग्रेजी, नेपाली दुवै भाषामा यी साइटहरूले स्थानीयदेखि राष्ट्रिय र अन्तराष्ट्रियसम्मकै समाचारहरू उपलब्ध गर्ने गरेको छ। केटीभीकालेबुङ डटकमका सम्पादक नरेन्द्र तामङले पनि न्यूज साइट थाल्नको कारण जमाना अनुसारले पत्रकारिता गर्नु नै बताए।
तिनले भने, विदेशमा रहेका यताका मानिसहरूलाई सजिलोसित नै यताका जानकारीहरू पस्केर साइबर सेवा गर्न नै साइट थालियोे। हामी भिडियो, टेक्स र फोटोबाट नै समाचारहरू दिइरहेका छौं। कालिम्पोङ डट टीके चलाइरहेका हिमालयन पिपल्स च्यानलका प्रज्वल वोगटी अनि सन्दिप कुलुङले पनि भने, विश्वभरि नै साइबर न्यूज चलिरहेको छ। त्यो धारामा हामी किन नपस्ने?समयसित नै कदम बढ़ाउनु मात्र होइन, विश्वभरि नै अहिले क्षेत्रीयस्तरमा रहेका ससाना घटनाक्रमहरूबारे जान्न चहानेहरू छन्, उनीहरूलाई सही सूचना, जानकारी उपलब्ध गराउन अनि विदेशिएका हाम्रा आजका पुस्तालाई जन्मथलोमा भइरहेका घटनाक्रमहरूबारे जानकारी दिन अहिले ब्लसाइट नै चलाइरहेका छौं। पछि यसलाई साइटकैरूपमास्थापित गरिनेछ।
प्रेस क्लब अनि केटीभीले भने निरन्तररूपले अनलाइन पत्रकारहरू राखेका छन्। जिल्लामा नै पारिश्रमिक दिएर पत्रकारहरू राख्ने अनलाइन समाचार पत्रिकाहरू पनि यी कालिम्पोङअनलाइनन्यूज डट ब्लगस्पट डट कम,कालिम्पोङन्यूज डट नेट अनि केटीभीकालेबुङ डटकम रहेको छ।
0 comments: on "विदेशिनेहरूको निम्ति सेवा"
Post a Comment