रेमिका थापा
एउटा सार्थक जीवन जीउने
कसो गरी हँ?
कसो गरी?
प्रश्नको अति तीव्र वेदनाले निरन्तर ढक्ढकाएपछि
हवाङ्ग उघ्य्रो दैलो र
अटाई नअटाई निस्क्यो
तातो नि:श्वास।
घरभित्रको चिसो सन्नाटा
जर्याक-जुरुक उठ्यो र
फैलेको उज्यालोमा
आङ तन्काउँदै टाङ्गियो।
अतिवादको जुलुसबाट फुत्केका
अक्षरहरूका एक जमात!
हामी आफ्नै पौरख खाने!
हामी आफ्नै पौरुषले थेग्ने
यो उत्तरआधुनिक घाम!
हामी आफ्नै बान्कीले छाम्ने
परिवर्तनको सुगन्ध!
सबैले कोट टक्टकाए
झारझुर पारे
हावामा रङ्गालियो पुरानो गन्ध
धुलो र धुवॉं।
सफ्फा आँखा छन् हाम्रा
सुग्घर चेतना छन् हाम्रा
सग्ला धुकधुकीहरू छन्।
हामीले बोकेका छौ ँ
छातिभरि-भरि जीवनका
अक्षय गीतहरू
मान्छेको बस्तीमा पुगौ ँला
र जीवनको उज्यालो बॉंड़ौँला।
हल्ला नगर
हूलमा केही घाइते छन्
कोही विरामी
धैर्य गर
मान्छेको गन्धमा ओखती हुन्छ
मान्छेको सासमा अत्याधुनिक जुड़ीबुटी छ।
आफ्नो समृद्ध वर्तमानमा भरोसा राख
कि हामी एउटा रोमाञ्चक युद्धको
अमर सिपाही हौ ँ।
एउटा बर्बर अतिक्रमणको कारागारबाट
फुस्केर
मुक्तिको भजन गाइरहेका छौ ँ।
हामी चॉंड़ै पुगौ ँला
उदेक लाग्ने आनन्द लिएर
मान्छेको नि:श्वासमा एउटा दह्रिलो लय
हालौ ँला।
अहिले
मान्छेको मुलुकमा एउटा नयॉं ऋतु
आगमनको घोषणा भइसकेको छ!
हामी अँगालोमा भरौ ँला
प्रत्येक नयॉं ऋतुको रङ र
सुगन्धलाई।
सन्केका हुन् कि?
निश्चय होइन हजूर
अन्तहीन यात्रामा छन् ती
कुनै सन्की विद्वान्को
प्रयोगशालाबाट उम्केर भागेका
अक्षरहरू!
पग्ला कुकुर
13 years ago
0 comments: on "अक्षर यात्रा"
Post a Comment