मुख्य समाचार :


गोर्खा जनमुक्ति मोर्चाभित्र फाटोको संकेत

अहिले गोर्खा जनमुक्ति मोर्चाभित्र साङ्गठानिक एकता अक्षुण्ण रहेपनि केन्द्रिय समितिमा व्यापकरुपमा फाटो बढ्‌दै गएको एक विश्वस्त सूत्रले बताएको छ।
यसको छनक दार्जीलिङको भा-तकभर मालिधुरामा भएको 10 जुनको बैठकमा पाइएको बताइएको छ। शुरुदेखि नै मोर्चाभित्र दुइवटा खेमा छर्लङ्ग देखिएको थियो। एकले जीटीए होइन छुट्टैराज्य भनिरहेको छ अनि अर्कोले जीटीए भनिरहेको छ। तर पार्टीका असुविधाहरूलाई ध्यानमा राख्दै पनि तराई र डुवर्स सहितको जीटीए स्वीकार गर्न सकिन्छ भन्ने मतमा बसेकाहरूले जब जीटीएमा तराई र डुवर्स नपस्ने स्पष्ट बुझे तबदेखि नै असन्तुष्टि प्रकट गर्दै आइरहेका थिए। यो असन्तुष्ट जमातले शुरुदेखि नै जीटीएमा भएका भूलहरू पनि अनुभव गर्दै आइरहेको थियो। केन्द्रिय समितिमा बुद्धिजीवीहरू हाबी भएपछि नै मोर्चाको राजनैतिक उद्देश्य धमिलो हुनथालेको छ भने मुद्दाले अर्को दिशा पक्रिन थालेपछि मोर्चाभित्र रहेका इमान्दार र मुद्दाप्रति समर्पितहरू दलबाट बिस्तारै निस्कन थाले। पार्टीको उद्देश्य जब छुट्टै राज्य नै होइन भन्ने बुझ्नेहरूले पार्टीमा नै बसेर कमाउन सकिने भनेर नै समर्थन गरिराखेको पनि स्पष्ट छ। तर जीटीएमाथि मोर्चाले धेरै आशा राखेको भए पनि तराई र डुवर्सको सवालले धेरैवटा असुविधा निम्ताएपछि मोर्चाभित्र नै यसको विवाद बढ्‌न थालेको छ। 6 जूनमा जिमखानामा भएको बैठकमा डुवर्सका प्रतिनिधिहरूले विमल गुरूङलाई औंला उठाएर धोकेबाजको संज्ञा दिएपछि भने मोर्चा सॉंच्ची नै असुविधामा परेको छ।
 मोर्चालाई जोन बारलादेखि त डर छैन तर डुवर्सका गोर्खा समर्थकहरूको नजरमा विमलको छबि पनि घिसिङकै जस्तो देखिन थालेपछि जीटीएलाई लिएर मोर्चा दोधारमा छ। विमल गुरूङले तराई र डुवर्सका समर्थकहरूलाई बुझाउने कोशिश गरेपनि जीटीएमा तराई डुवर्स अन्तरभुक्ति नहुनेभएपछि डुवर्सका प्रतिनिधिहरूले विमलको कुरालाई तर्कले जितेपछि विमल गुरूङ नै निःशब्द बनेका थिए। तरै पनि हाइपावर कमिटीको रिपोर्टसम्म पर्खिएर हेर्ने आश्वासन विमल गुरूङले दिएपछि तराई र डुवर्सका समर्थकहरूले तिनको बचनलाई कदर गरिदिएका थिए। हाइपावरको रिपोर्ट नकरात्मका आएपछि मोर्चाको असुविधा अझ बढ्यो। केन्द्रिय समितिका बुद्धिजीवीहरूले विमल गुरूङलाई यसको पनि समाधान निकाल्ने त बतायो तर न्यायधीश श्यामलको रिपोर्ट जॉंच्न उत्तर बङ्गाल विकास विभागका मनोज अग्रवालहरूकोे कमिटी बनाउने भएपछि जनतामा सन्देश राम्रो गएन। तर यो कमिटी बनिने भएपछि मोर्चाले राहतको सास भने फेरिरहेको छ। केही ढिलो होस्‌ तर जीटीए नै हुनुपर्छ भन्ने पक्षमा मोर्चाका महासचिव रोशन गिरी अनि प्रौड बुद्धिजीवी एलबी परियार रहेका छन्‌। यसको निम्ति सम्पूर्ण तालमेल सरकारसित मिलाउन भने विधायक डा. हर्कबहादुर छेेत्रीले बलियो भूमिका निर्वाह गरिरहेको सूत्रको दाबी छ। मोर्चाभित्रका बुद्धिजीवीहरूले विमल गुरूङलाई धेरैवटा चलाकी गरेको बुझ्न थालेपछि विमल गुरूङले तराई र डुवर्सबिना जीटीए सीटीए मारो गोली भनेकोले मोर्चाका केन्द्रिय बुद्धिजीवीहरू पनि ऐंठनमा परेका छन्‌। विमल गुरूङले राज्य सरकारसित हेमखेम राख्ने बुद्धिजीवीहरूलाई धेर सम्पर्क नराख्ने निर्देश दिए पनि विधायकहरू कोलकाता धाउन छोडेका छैनन्‌। यता डा. हर्कबहादुर छेत्रीले रिभेरिफिकेशन कमिटी बसाउनुपर्छ भन्ने उपाय निकाल्ने वित्तिकै राज्य सरकारले वास्तविकता जॉंच समिति बनाउने कुरालाई तुरुन्तै स्वीकृति दिइन्‌। डा. छेत्रीको भनाई श्यामल सेन यही राज्यका प्रतिनिधि रहेकोले अबको कमिटी राज्य बाहिरका प्रतिनिहरूबाट राखिनुपर्छ भन्ने थियो तर मुख्यमन्त्रीसित यसको माग तिनले गरेनन्‌। फलस्वरुप मनोज अग्रवालहरूको कमिटी बसाइने भएको छ। भा-तकभर मालिधुरामा भएको बैठकमा मोर्चा अध्यक्ष विमल गुरूङले श्यामल सेनको रिपोटले धोका दिनुमा रोशन गिरी अनि एलबी परियारलाई दोष्याएको खबर छ। यस बैठकमा विमल गुरूङले रोशन गिरीले नै जीटीएमा हस्ताक्षर गर्न हतार गरेको अनि श्यामल सेनको रिपोर्ट मान्नुपर्छ भनेर हस्ताक्षर गर्नुपर्छ भनेर कागजसमेत ल्याएको कुरा खुलाएको गोप्य सूत्रले बताएको छ। तर यसमा विमल गुरूङले हस्ताक्षर नगरेको अनि हस्ताक्षरकर्ताहरूमा रोशन गिरी र एलबी परियार रहेको पनि बताइएको छ। यसै बैठकमा रोशन गिरीलाई महासचिवको पद्बाट हटाउनुपर्छ भन्ने नाराबाजी पनि भएको सूत्रको दाबी छ। सूत्रको दाबी अनुसार यसै बैठकमा आशा गुरूङले राम्रो मान्छेहरू निकालेर पार्टीमा ढाडे विरालोहरू पसेको कुरा गरेकी थिइन्‌। यसै बैठकमा विमल गुरूङले विधायकहरूको पनि हाइकमान अर्कै रहेको संकेत गरेका थिए। यो बैठकबारे कुनै सूचना मिडियालाई दिइएन किन भने विमल गुरूङले नै मिडियामा कसैले पनि ब्रीफ नगर्ने निर्देश गरेको पनि सूत्रको भनाइ छ। यो घटनाले मोर्चाभित्र अविश्वासको वातावरण व्याप्त बनिसकेको स्पष्ट पारेको छ। आफ्नै बुद्धिजीवीहरुले विमल गुरूङलाई यो अवस्थामा पारेको कुरा विमल गुरूङ स्वंयले अनुभव गरिसकेकोले नै तिनले धेरैवटा कार्यक्रम घोषणा गरेको पनि बताइएको छ। जसमा विधायकहरूको राजिनामा अनि जीटीएको खेस्रा जलाउने कुरा प्रमुख छ। तिनको यो घषणा यथार्थमा बद्लियो भने मोर्चाका बुद्धिजीवीहरूको मनमा घन्टी बज्न शुरु हुनेछ। विमल गुरूङले स्पष्ट भनेका छन्‌, ममताले हॉंसीहॉंसी धोका दियो। अब जीटीए मान्दैनौं। धेरै जबरजस्ती गर्‍यो भने जङ्गल पस्छु। के संकेत पाइएको छ भने विमल गुरूङले आफ्ना बुद्धिजीवीहरूमाथि विश्वास गर्न छोडेका छन्‌। केन्द्रिय समितिमा राम्रो मेलमिलाप छैन। मेलमिलापको कारण जीटीए भर्सेस गोर्खाल्याण्ड नै रहेको थाहा लागेको छ। विमल गुरूङको एकल निर्णय र कार्यक्रमहरूको घोषणाले केन्द्रिय समितिका कतिपय सदस्यहरूलाई असुविधा पर्ने देखिएको छ। यसकारण उनीहरूलाई सरकारसित मिलेर मोर्चालाई दवाबमा पार्ने सरकारी पहल गराइमाग्ने अनि जीटीएको चुनाउ गर्ने विचार राखेको पनि सूत्रको दाबी छ। यसै कारण नै तृणमूलको पार्टी विस्तार यसमा डा. हर्कबहादुर छेत्रीको सहानुभूति प्रकाशमा आएको लख काटिएको छ। विमल गुरूङले यसको पनि आभाष पाएकोले नै बैठकहरूमा बारम्बार नै जबरजस्ती गरेमा जङ्गलपस्ने घोषणा गरिरहेका छन्‌। यसै कारण नै जबरजस्ती गरेमा कोही पनि बुद्दिजीवीहरूलाई जीटीए चुनाउमा खडा नगर्ने अनि लाटा लङ्गडोहरू उठाउने कुरा गरेर सरकारको पक्षमा काम गरिरहेका बुद्धिजीवीहरूलाई खबरदारी गरेको पनि सूत्रको भनाइ छ।

0 comments: on "गोर्खा जनमुक्ति मोर्चाभित्र फाटोको संकेत"