मुख्य समाचार :


तराई-डुवर्समा बन्दको कुनै औचित्य छैन



गोर्खाल्याण्ड छोडिए गोजमुमो जिम्मेवार हुनेछ-क्रामाकपा
प्रज्ज्वल छेत्री
कालेबुङ, 22 अप्रेल।
एकातिर 24 अप्रेलमा संसदमा यूपिए सरकारले तेलेङ्गना राज्य निर्माण सम्बन्धी विशेष आधिकारीक घोषणा गर्ने कुरा अघि आइरेको छ भने अर्कोतिर गोर्खाल्याण्डको बागडौर सम्हाल्ने गोजमुमोले जीटीएमा तराई-डुवर्स अन्तर्भुक्तिको लागी जोइन्ट एक्सन कोअर्डिनेशन कमिटीसित मिलेर आजदेखि अनिश्चितकालीन डुवर्स बन्द डाकेको छ।
अहिलेलाई दार्जीलिङ पहाडको ध्यान तराई-डुवर्समा नै केन्द्रित रहेको छ तर 24 अप्रेलमा पनि पहाडबासीको नजर अडेको छ। जीटीएमा तराई-डुवर्स अन्तर्भुक्तिको लागी गोजमुमोले कसरत गरिरहेको समय तेलेङ्गना राज्य गठन भए यहॉंको राजनीतिमा फेरि एकपल्ट हलचल मच्चिने सम्भावना छ। यदि अहिले तेलेङ्गना राज्य हुन्छ भने गोर्खाल्याण्ड छोडिने प्रबल सम्भावना छ।
यदि गोर्खाल्याण्ड छोडिए यसको पूर्ण जिम्मेवार  गोजमुमो हुने क्रामाकपाले बताएको छ। आज क्रामाकपा केन्द्रिय उपाध्यक्ष जेबी राईले भनेअनुसार भारतीय गोर्खाहरूले गोर्खाल्याण्ड प्राप्तिकै लागी गोजमुमोलाई समर्थन गरेको हो। गोजमुमोले पनि गोर्खाल्याण्ड ल्याउँछौं भन्ने प्रतिवद्धता जाहेर गरेको हो। 
तर गोजमुमो किन मूल मुद्दाबाट पछि हट्‌नपर्‍यो र सुविधा, सहुलियतमा हतार गरेर किन हस्ताक्षर गर्नपर्‍यो यसको उत्तर आजसम्म स्पष्ट रूपमा नआएको राईले बताए। तिनलेे भनेअनुसार गोजमुमोले केन्द्र सरकार अहिले नै राज्य दिने पक्षमा छैन भन्दै अनि मूल मुद्दादेखि भङ्गालिएर जीटीएमा सम्झौता गरेको हो।
 ‘के केन्द्रमा तेलेङ्गना र अन्य राज्यहरू मात्र दिनसक्ने परिस्थिति छ? गोर्खाल्याण्ड मात्र दिन नसक्ने परिस्थितिमा केन्द्र रहेको कुरा अनि इन्द्रेको बाउ चन्द्रे आएपनि गोर्खाल्याण्ड हुँदैन भन्ने कुरा मोर्चाका बुद्धीवीहरूलाई कसरी थाहा भयो? यहीँभित्र षङ्‌यन्त्र लुकेको छ’- अहिले तेलेङ्गना गठन हुनसक्ने  देखापरेको परस्थितिमाथि बोल्दै राईले भने। छुट्टै राज्य हुननसक्ने परिस्थिति केन्द्र सरकारले आफैले भन्नुको सट्टा गोजमुमोले भन्नु लज्जास्पद रहेको राईको भनाइ छ।

अहिले जीटीएमा तराई-डुवर्स अन्तर्भुक्तिको लागी गोजमुमो अनि जोन वारला समर्थित जोइन्‌ एक्सन को-अर्डिनेशन कमिटीद्वारा डाकिएको अनिश्चितलाकीन डुवर्स बन्दको कुनै औचित्य नरहेको क्रामाकपाले ठानेकोे छ। क्रामाकपा अनुसार यो बन्द यदि जीटीए गठनअघि नै तराई-डुवर्स अन्तभुक्तिको लागी भएको भए  केही सार्थकता हुनेथियो।
तर तराई-डुवर्सको अन्तर्भुक्तिको जिम्मेवारी हाइपावर कमिटीलाई छोडिदिएर डाकिएको यो बन्द जीटीए सम्झौताको विपरित रहेकोले नै यो औचित्यहीन रहेको जेबी राईले दावी गरे। वास्तवमा जीटीए अनि तराई-डुवर्स अन्तर्भुक्तिको कुरा मोर्चाको पार्टीगत अडान रहेकोले यसबारे केही बोलिरहने आवश्यकता क्रामाकाले नठान्ने जेबी राईले बताए।
 तिनीअनुसार हाइपावर कमिटीले जुन-जुन मौजाहरू दिन्छ त्यही थाप्छौं भनेर हस्ताक्षर गर्नु अनि अर्कोतिर जीटीएमा तराई-डुवर्स अन्तर्भुक्ति भन्दै डवर्समा अनिश्चितकालीन बन्द गर्नु मोर्चाको खलाइँचीपूर्ण अनि काल्पनिक कुरा मात्र हो।
यदि अहिले तलेङ्गनाराज्य गठन हुन्छ भने गोजमुमोले पनि आन्दोलन शुरू गर्ने कुरा तिनले अपत्यारो ठान्दै मोर्चाले वारम्बार भाका फेर्ने गरेकोले मोर्चालाई विश्वास गरिहाल्न नसक्ने बताए। यसैले अनि छुट्टै राज्यको लागी समस्त भारतीय गोर्खाहरू एक भएर अघि आउनुपर्ने आह्वान गर्दै क्रामाकपाले यही दिशामा कार्यक्रमहरू गर्ने भएको तिनले अवगत गराए।

0 comments: on "तराई-डुवर्समा बन्दको कुनै औचित्य छैन"