मुख्य समाचार :


राज्य पुनःगठन आयोगमा गोर्खाल्याण्डको नाम नपरे यसको पूर्ण जिम्मेवार जीटीए थाप्ने दल हुनेछ-टाक्स फोर्स


प्रज्ज्वल छेत्री
कालेबुङ, 1 फरवरी।

आगामी मार्च महिनामा राज्य पुनःगठन आयोग बनिने सम्भावनाहरू अघि आउन थालेकोले फरि एकपल्ट दार्जीलिङ पहाडको राजनीतिमा नयॉं मोड आउने लख काटिँदैछ। देशमा छुट्टै राज्य बनिनसक्ने परिस्थिति नरहेको बताउँदै गोर्खा जनमुक्ति मोर्चाले जीटीएमा हस्ताक्षर गरेकोले नै मोर्चा अहिले फेरि एकपल्ट आचोलनाको शिकार बन्नपुगेको छ। उत्तरपूर्विय राज्यहरूमा गोर्खाल्याण्डको माग अनि औचित्यबारे बुझाउन आज टाक्सफोस टोलि हिँड्‌नअघि राष्ट्रिय संयोजक आर. मोक्तानले पत्रकारहरूसितको कुराकानीमा राज्य पुनःगठन आयोगभित्र गोर्खाल्याण्डको नाम नपरे यसको पूर्ण जिम्मेवार जीटीए थाप्ने दल हुने बताए।
तिनले भने, जीटीएको कारणले गोर्खाहरूको समस्या समाधान भयो भन्ने सङ्‌केत केन्द्रमा पनि पुगेको छ। अन्य राज्यका नेताहरूदेखि लिएर समाजिक कार्यकर्ताहरूसम्मले गोर्खाहरूको समस्या सँधैको निम्ति समाधान भयो भनिरहेका छन्‌। गोर्खाहरूको समस्या समाधान भयो भन्ने केन्द्रसमक्ष गएको सङ्‌केतले गर्दा नै यस्तो अवस्थामा देशमा फेरि राज्य पुनगठन आयोग बनिए पनि छुट्टै  राज्यहरू माग्नेहरूको सूचिमा गोर्खाल्याण्ड नपर्न सक्छ। जसको  पूर्ण जिम्मेवार जीटीए थाप्ने दल हुनेछ- गोजमुमोको नाम नलिकन तिनले भने।
छैटौं अनुसूचि दागोपाप र जीटीए जम्मै बङ्गालभित्रकै व्यवस्था रहेकोले नै यी व्यवस्थाहरू गोर्खाहरूलाई स्वीकार नहुने बताउँदै बङ्गालबाट प्रशासनिक रूपमा छुट्टिनु र गोर्खाहरू निम्ति छुट्टै राज्य मात्र मूल समाधान रहेको मोक्तानले बताए। गोर्खाहरूको राष्ट्रिय चिन्हारी, अस्तित्व अनि अस्मिता केवल छुट्टै राज्यले पूरा गर्ने म्यासेज दिन नै टाक्स फोर्स टोली उत्तरपूर्विय राज्यको भ्रमणमा हिँड्‌ेको पनि तिनले जनाए। तिनीअनुसार असम, मेघालय, मिजोराम अनि मणिपुर राज्यका मुख्यमन्त्री, विधायक, लोकसभा राज्यसभा सासंद अनि अराजनैतिक सङ्घ-संस्थाहरूलाई टोलीले गोर्खाहरूको निम्ति हुनपर्ने छुट्टै राज्य सम्बन्धी अवगत गराउने छ।
सिक्किम विधानसभाले गोर्खाल्याण्डको प्रस्ताव विधानसभामा ल्याएजस्तै अन्य राज्य विधानसभाबाट पनि गोर्खाल्याण्डको समर्थन पाउन सकोस्‌ भन्ने टाक्स फोर्सको चाहना रहेको मोक्तानले बताए।  ‘यदि विधानसभामा प्रस्ताव ल्याउन सम्भव नभए कमसेकम लोकसभामा जबपनि गोर्खाल्याण्डको आवाज उठ्‌छ त्यसबेला उनीहरू पनि हाम्रो समर्थनमा होस्‌ भन्ने हामी चाहन्छौं’- तिनले भने।
गोर्खाल्याण्डको आवश्यकता, गोर्खाहरूको परिचय, देशमा पुर्‍याएको योगदान आदि विषयहरूमा  ऐतिहासिक तथ्यसहित लेखिएको पुस्तिकाको माध्यमबाट पनि अन्य राज्यहरूमा टाक्स फोर्सले  गोर्खाल्याण्डसम्बधी बुझाउने कार्य गर्ने बताइएको छ। 2 अनि 3 फरवरीमा असमबाट कार्यक्रमको थालनी गर्ने टोलिमा आज भोगोप राष्ट्रिय सचिव सुकमान मोक्तान, आर मोक्तान,  क्रामाकपाबाट किशोर प्रधान अनि गोरानिमोका दावा पाख्रिन रहेका छन्‌।

0 comments: on "राज्य पुनःगठन आयोगमा गोर्खाल्याण्डको नाम नपरे यसको पूर्ण जिम्मेवार जीटीए थाप्ने दल हुनेछ-टाक्स फोर्स"