मुख्य समाचार :


टिस्टाः विभागीय अनियमित्‌ताको शिकार

कालेबुङ 22 फरवरी।
टिस्टामा ग्राम पञ्चायत अनि खण्ड विकास अधिकृतबाट हुने स्वाभाविक सरकारी विकास र व्यवस्थापनको मामिलामा व्यापक असंवेदनशीलता रहेको आरोप लगाइएको छ।
यही कुराहरू सुझाउँदै शाखा मार्क्सवादी कम्युनिष्ट पार्टीले टिस्टा ग्राम पञ्चायत अन्तर्गत रहेका समस्याहरुको निदानको निम्ति कालेबुङ खण्ड-1का अधिकारीलाई ज्ञापन चढायो। शाखा सचिव श्याम गुरूङले क्षेत्रमा प्रशासनिक र आधिकारिक लचिलोपन, अनियमित्‌ता अनि असन्तुलन रहेेको किटान गरे। यसै कारण विभागले क्षेत्रमा संशोधनीय पहल गर्नुपर्ने मागमा ज्ञापन दिइएको हो।

तिनको आरोप छ, टिस्टा ग्राम पञ्चायतमा भुइँचालो पीडितहरूको सूची निर्माण, राहत राशिको वास्तविकता अनि क्षति विवरणलाई लिएर व्यापक विभ्रान्तिहरू छन्‌। यसको कारण खास पीडितहरू सहुलियतबाट बञ्चित भइरहेका छन्‌। तिनको दाबी छ, अञ्जान व्यक्तिको नाम र ठेगानामा भुइँचालो क्षतिपूर्ति राशि आवण्टन गरिएको छ। यो प्रक्रिया न्यायोचित छैन। राहत सूचीमा शीघ्र नै संशोधन हुनुपर्छ। सही पीडितले क्षतिपूर्ति पाउनुपर्छ। तिनले बताए अनुसार गरीबहरूले सरकारी सहुलियत पाउनको निम्ति गरिने गरीब सर्वेक्षणमा पनि गल्ति भएको छ।

ग्रामीण परिवार तालिका(आरएचएस)मा उचित उम्मेद्वारहरूको नाम नै छुटेको छ। यसको निम्ति पनि पुनर्सर्वेक्षण हुनुपर्छ। गुरूङले अर्को प्रमुख आरोप के लगाएका छन्‌ भने टिस्टा ग्राम पञ्चायतमा राजनैतिक भेदभाव छ। टिस्टामा अन्य दलमा रहेकालाई टिस्टा ग्राम पञ्चायतले भेदभाव गर्छ। तिनले भने, ग्राम पञ्चायत जस्तो निकायमा राजनैतिक भेदभाव र हस्तक्षेप हुनु हुँदैन।

ग्राम पञ्चायत कुनै एक पार्टीका मान्छेको निम्ति हुँदैन। यसकारण हामी माग गर्छौं, ग्राम पञ्चायतलाई स्वतन्त्र निकायमा स्थापित गरिनुपर्छ। तिनी अनुसार यसै गा्रम पञ्चायतले नयॉं गरी दर्ता गरिएको मतदाता सूचीमा पनि व्यापक मात्रामा मुलूक बाहिरका व्यक्तिहरूको नाम छ। मतदाता सूची जस्तो संवेदनशील कुरामा यस्तो खाले लहेल्चेक्राईँ वा जानिबुझी भूलले राम्रो परिणति ल्याउने छैन। यसकारण फर्जी-हरूलाई सूचीबाहिर गरिनुपर्छ। अर्कोतिर सयदिने रोजगार अन्तर्गत रहेका श्रमिकहरूले सरकारी अधिसूचना अनुसार नै समयमा पारिश्रमिक पाउनुपर्ने पनि तिनले ज्ञापनमा लेखेका छन्‌।

0 comments: on "टिस्टाः विभागीय अनियमित्‌ताको शिकार"