मुख्य समाचार :


ग्रामीण जनताको हीतमा अघि आयो क्रामाकपा पहाडमा अझपनि गणतन्त्र नरहेको आरोप

प्रज्ज्वल छेत्री
कालेबुङ, 15 फरवरी।
ग्रामीण जनताको हक, हीत र अधिकारसितै क्रामाकपाले आजदेखि जीटीएको विरोधमा सडक आन्दोलन शुरू गर्‍यो।

गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा केन्द्रिय महासचिव अरूण घतानीको नेतृत्वमा ग्रामीण स्तरीय 9 सुत्रीय माग लिएर क्रामाकपाको एक झुण्डले आज घण्टौंसम्म कालेबुङ खण्ड विकास अधिकारी कार्यालयमा घर्ना प्रदर्शन गर्‍यो। मूल मुद्दा गोर्खाल्याण्ड अनि जीटीएको विरोधसितै ग्रामीण समस्याहरूलाई समाधान गर्नुपर्ने मागमा पहिलो चरणमा खण्ड विकास अधिकारी कार्यालय, त्यसपछि महकुमा अधिकारी, जिल्लापाल कार्यालय हुँदै क्रामापकाले क्रमबद्ध रूपमा आन्दोलन अघि बढाउने भएको छ। आज पहिलो चरणको कार्यक्रम अनुरूप क्रामाकपाले इनक्लाब जिन्दाबाद, पञ्चायत पुर्नगठन गर्नैपर्छ, सिलगडीको दुइवटा खण्डलाई चारवटा बनाउन सक्छ भने पहाडको 8 वटालाई किन 24 वटा खण्ड बनाउन सक्तैन? बीडीओ जवाब देऊ, मनरेगामा 200 दिनको रोजगार पाउनैपर्छ, सरकारी कार्यालयहरूमा भ्रष्टचार अनि राजनैतिक हस्तक्षेप बन्द गर आदि विविध नाराहरूसितै क्रामाकपाले खण्ड विकास अधिकारी कार्यालयअघि व्यापक धर्ना प्रदर्शन गर्‍यो।

गक्रायुमो प्रतिनिधि सन्तोष प्रधानको नेतृत्वमा एक टोलीले खण्ड विकास अधिकारी अनन्दिता भौमिकसित भेट गरी यी विविध मागहरूसितै क्षेत्रीय समस्याहरूलाई लिएर एक ज्ञापन पनि बुझाएको छ। कालेबुङ, अलगडा अनि गोरुबथानमा क्रामाकपाको धर्ना सफलतापूर्वक सम्पन्न भएपनि तकदाह खण्ड अन्तर्गत रङ्गली रिङटङ खण्ड विकास अधिकारी कायार्र्लयमा भने गाजमुमोले बाधा दिएकोले अनि खण्ड विकास अधिकारीले सुरक्षा प्रदान गर्न नससकेकोले क्रामाकपाले कार्यक्रम गर्न नसकेको गक्रायुमो महासिचव अरूण घतानीले बताए। यद्यपि अन्य क्षेत्रहरूमा भने क्रामापकाको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको क्रामाकपाले दावी गरेको छ।

क्रामाकपाभित्र थुप्रै जनसङ्गठन रहेको अनि जनसङ्गठनहरूलाई पार्टीले दिएको दायित्वकै आधारमा कार्यक्रमको थालनी गरेको अरूण घतानीले बताए। गोर्खा जनमुक्ति युवा मोर्चाले पनि छुट्टै राज्यको निम्ति आन्दोलन गरिरहेको सन्दर्भमा तिनले भने, छुट्टै राज्यको आन्दोलन गर्नेहरू सर्वप्रथम इमान्दार हुन आवश्यक छ। गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्ने भनेर जीटीए छिटो लागु गर भन्ने कुरा असान्दर्भिक हुन्छ। जीटीए अनि गोर्खाल्याण्डको बीचमा मोर्चाले च्यॉंखे थाप्ने काम गरिरहेको छ। यदि सॉंचो रूपमा गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्ने हो भने सम्पूर्ण व्यवस्थाहरूलाई तिलााञ्जली दिएर अघि आउनुपर्छ। पहाडमा अझपनि गणतान्त्रिक परिवेश नरहेकोले नै आफूहरूले पार्टीको साङ्गठानिक विस्तारसितै कार्यक्रमहरू गर्न नसकिरहेको पनि घतानीले आरोप लगाए।

तिनले भने, पहाडमा गणतन्त्र छैन। यहॉं गणतन्त्रिक परिवेश नष्ट गरिने कार्य भइरहेको छ। पहाडमा कानून व्यवस्था सही ढङ्गमा नभएकै कारणले अगणतान्त्रिक शक्तिहरूले पहाडको गणतान्त्रिक परिवेशलाई नष्ट गर्दैछ। तर जुनै परिस्थितिमा पनि क्रामाकपाको सङ्घर्ष जारी रहनेछ। सडक, संसद अनि बौद्धिक स्तरको कार्यक्रममा विश्वस्त क्रामाकपाको अहिले टास्क फोर्सको माध्यमबाट उत्तर पूर्विय क्षेत्रहरूमा बौद्धिक स्तरको कार्यक्रम भइरहेको अनि 20 मार्चमा संसद भवन अघि धर्ना प्रदर्शन हुने अनि आजदेखि नै क्रामाकपाले सडक आन्दोलन पनि शुरू गरेको अरूण घतानीले बताए।

0 comments: on "ग्रामीण जनताको हीतमा अघि आयो क्रामाकपा पहाडमा अझपनि गणतन्त्र नरहेको आरोप"