मुख्य समाचार :


17 देखि पिपल्स फोरमले आन्दोलन गर्ने

कालेबुङ, 4 फरवरी।
17 अप्रेलको दिन गोर्खा जनमुक्ति मोर्चाले सुकनामा जनसभा गरेर छुट्टै राज्यको निम्ति आन्दोलन गर्नु पर्ने हो कि जीटीएको निम्ति आन्दोलन गर्नु पर्ने हो, यसको चुडान्त निर्णय गर्ने भएको छ।
ठीक त्यसै दिन पिपल्स फोरमले पनि दार्जीलिङमा बैठक गरेर छुट्टै राज्यको आन्दोलन शुरु गर्ने फोरमका महासचिव प्रवीण गुरूङले बताएका छन्‌। तिनले भने, मोर्चाले आन्दोलन गर्न सक्दैन, किन भने मोर्चा अब सरकारमा रहेको पार्टी हो। आफू सरकारमा रहेर सरकारसित नै आन्दोलन गर्छु भन्नु जनताको आँखामा धुलो हाल्नु मात्र हो।

तिनले अझ भने, सरकारी बेञ्चमा बस्ने विधायकहरू मोर्चाका हुन्‌ अनि उनीहरूले सरकारी बेञ्चमा बसेर कार्य गरिरहेका छन्‌ भने कसरी मोर्चाले सरकारीको विपक्षकोरुपमा कार्य गर्न सक्छन्‌? मोर्चाले आन्दोलन कोसित गर्ने? आफ्नै सरकारसित? मोर्चाको हातखुट्टा बॉंधिएको छ, उनीहरू सरकारको विरुद्धमा चुइँसम्म बोल्न सक्दैनन्‌। गुरूङ अनुसार मोर्चाले ग्रहण गरेको जीटीए मोर्चाले मागेको होइन।

मोर्चाका प्रवक्ता डा. हर्कबहादुर छेत्रीलाई उल्लेख गर्दै गुरूङले भने, बहादुर छेत्रीले जीटीए मोर्चाले नमागेको अनि सरकारले दिएको भनेका छन्‌। अहिले सरकारले दिएको कुरा मोर्चालाई दिएन, त्यो त सरकारको खुशी हो। मोर्चा सरकारमा रहेको पार्टी रहेकोले सरकारमा मुद्दा स्वीकृत गराउनु पर्ने हो, आन्दोलन गर्नु त हॉंसोको पात्र हुनु हो। गुरूङले भने डा. छेत्रीले नै दाबी गरेका छन्‌ कि जीटीएको निम्ति नै पहाडमा शान्ति राख्न आन्दोलन नगर्ने भनेर सरकारसित सम्झौता भए अनुसार मोर्चाले आन्दोलन जीटीएसित साटेको हो।

कसैले मोर्चालाई दोष्याउनै पर्दैन किन भने प्रवक्ताले नै भनिसकेका छन्‌ कि जीटीएको निम्ति आन्दोलन नगर्ने सम्झौतालाई मोर्चाले कार्यरुप दिइसकेको छ। मोर्चालाई आफ्नै सरकारले लण्डाएको छ, फेरि किन तमासा गरिरहेको छ? तिनी अनुसार राज्य सरकार अनि दागोपापमा मोर्चा छ। आफू रहेको प्रशासनिक निकायसित फेरि आफै नैै आन्दोलन गर्छु भन्नु हास्यस्पद कुरा हो। सबैलाई थाहा छ, मोर्चाले आन्दोलन गर्न सक्दैन। जनसभा त जनतालाई भ्रममा पारेर जीटीएको समर्थन देखाउनु मात्र हो। तिनी अनुसार मोर्चाले गोर्खाल्याण्डको निम्ति थुपारेको समर्थन जीटीएको निम्ति प्रयोग गरेर जनतालाई धोका दिइसकेको छ।

जनता सचेत भएको दिन मोर्चाको अवस्था गोरामुमो नेताहरूको भन्दा नराम्रो हुने छ। सुकनाको जनसभाबाट नै मोर्चाले झण्डा विसर्जन गर्नुपर्ने बताउँदै तिनले भने, मोर्चाको आन्दोलन सकिएको छ। अब पिपल्स फोरमले आन्दोलन गर्ने छ। गोर्खाल्याण्डको नाम गरेर जनतालाई धोका दिएर जीटीए थाप्नेले फेरि आन्दोलन गर्छु भन्नुले स्पष्ट पारेको छ कि वास्तवमा नै मोर्चाले आन्दोलन नै गरेको थिएन। गरेको थियो भने जीटीएको निम्ति गरेको थियो किन भने मोर्चाले नै भनेको छ गोर्खाल्याण्ड ल्याउँछु भन्ने धुर्त हो। अहिले मोर्चा आफै गोर्खाल्याण्ड ल्याउने आन्दोलन गर्नु भनेको धुर्त हुनुको प्रमाण दिनु मात्र हो। इन्द्रेको बाबु चन्द्रे आए पनि छुट्टै राज्य हुन सक्दैन भन्नेले फेरि छुट्टै राज्यको आन्दोलन गर्छु भन्नु जस्तो पटमुर्खता अर्को छैन।

तिनी अनुसार मोर्चाले आन्दोलन होइन पहाडको समस्याहरूको समाधान गर्नुपर्छ। अस्थायीलाई स्थायी, खाली पद्मा शिक्षक नियुक्ति, बाटो, पानी बिजुलीको निम्ति काम गर्नुपर्छ। बन्द चियाबारी खोलाउनुपर्छ किन भने मोर्चा सत्ताधारी पार्टी हो। विकास नगरेर छुट्टै राज्य ल्याउँछु भन्नु धुर्त कुरा हो। मोर्चाको च्याप्टर सकियो अब पिपल्स फोरमले जनताको हितमा मोर्चाले गर्न नसकेको कार्य गर्ने छ।

0 comments: on "17 देखि पिपल्स फोरमले आन्दोलन गर्ने"