मुख्य समाचार :


फेरि पनि सउदी अरबबाट युवती उद्दार 6 वर्षदेखि एक युवती लापत्ता रहेको खुलासा


प्रज्ज्वल छेत्री
कालेबुङ, 13 जनवरी।
बिना जानकारी अन्धाधुन्द पैसा कमाउने प्रलोभनमा फँसेर विदेश जाने दार्जीलिङ-सिक्किमका युवतीहरूको दुर्गती दिनहौं प्रकाशमा आइरहेको छ। दार्जीलिङको एउटा चियाकमानकी  20 वर्षिय युवतीलाई भर्खरै साउदी अरबबाट उद्दार गरिएको थियो भने आज फेरि त्यस्तै घटना कालेबुङको एक युवतीसँग पनि दोहोरिएको छ। स्थानीय एक एजेन्टकै माध्यमबाट पैसा कमाउन गएकी गाउँकी 32 वर्षीय युवतीलाई सउदी अरबबाट कालेबुङ महकुमा थानाको प्रयासमा आज उद्दार गरेर घर फर्काइएको छ। कालेबुङ महकुमा थाना प्रभारी प्रसाद प्रधानले बताएअनुसार 2008 सालमा सुष्मा( परिवर्तित नाम) गरिबीको कराण पैसा कमाउन भनी खाडी देश गएकी थिइन्‌। विदेश गएपछि तिनले एकपल्ट घरमा पैसा पठाइदिइन्‌। त्यसपछि घर परिवारसँग सुष्माको सम्पर्क नै टुटेपछि परिवारपक्षले सुष्मा हराएकोबारे चार महिनाअघि थानामा प्राथमिकी दर्ता गरेका थिए। त्यसै समयदेखि नै पुलिसले  सुुष्मालाई लाने एजेन्टलाई धम्काएर, डराएर, अपहरहरणसम्मको मुद्दा लगाइदिनेसम्मको चेतावनी दिएपछि एजेन्टले सुष्मालाई खोजी निकाल्ने  बतायो। र त्यही एजेन्ट लगाएर नै प्रशासन युवतीलाई खोजी निकाल्न सफल भयो। जसमा नारी उन्मुलनमाथि कार्य गरिरहेकी युडेन भोटियाको पनि भरपूर सहयोग रहेको प्रधानले बताए। प्रधानले भने, शुरूमा विदेशमा काम गर्नजाने युवतीहरूलाई प्रायः पहिले एउटा घरमा काम मिलाइदिएको हुन्छ। त्यतिञ्जेसम्म युवतीहरू ठिकै रहेपनि त्यहॉंबाट अर्को घरमा स्थान्तरण हुनेबित्तिकैदेखि युवतीहरूमाथि शोषण हुनेगरेको अनि फेरि घर फर्कनसम्म नसक्ने अवस्थामा पुग्ने गरेको छ। सुष्माले विदेशमा  भोग्न परेको समस्या उसलाई हेर्दा नै सहजै झल्कन्छ। अनुहार निष्पष्ट कालो, हात खुट्टा चरचरी फूटेका, त्यैमाथि पनि शरिरमा चोटैचोट, कमजोर, खिन्न-नियास्रो अनुसार, एकोहोरिरहेकी, भन्न चाहेर पनि केही भन्न नसक्ने अवस्थामा रहेकी सुष्मालाई हेर्दा नै उनको विदेशको भोगाइ सहजै झल्कन्छ। उनका पतिले पनि सुष्माको विदेश जानअघिको फोटो देखाउँदै अहिलेको सुष्मालाई देखाउँदै सुष्माको अवस्थाको वर्णन गरे।  मोटी, गहुँगोरो वर्णकी, बान्कीपरेकी, हँसीलो अनुसारमा  खुशीसाथ गएकी सुष्मा आज यस्तो अवस्थामा आइपुग्ने कल्पनासम्म पनि नगरेको उनका पति बताउँछन्‌। सुष्माको अवस्थालाई हेरेर उनीमाथि हुनसम्मको शारिरिक शोषण भएको बुझिएकोले राम्रो फिजिसियनसँग उपचार गराउने पनि थानी प्रभारी प्रसाद प्रधानले परिवालाई अनुरोध गरेका छन्‌। सुष्मा भाग्यले फर्किन्‌ तर त्यही गाउँकी मुना(परिवर्ति नाम) छ वर्षदेखि खाडी देशमा नै लापत्ता छन्‌, जसको परिवारले पनि थानामा मुना हराएको प्रथमिकी दर्ता गरेका छन्‌। थाना प्रभारी प्रसाद प्रधानले बताए अनुसार मुनाको पनि प्रशासनले भरसक पत्तो लगाउने कोशिश गरिरहेको छ। यसको निम्ति पनि पहल तीब्र रूपमा भइरहेको छ भने चॉंडै मुना पनि फर्काउने प्रशासनले आशा गरेको छ। यस्ता  कैयौं सुष्मा अनि मुनाजस्ता दार्जीलिङ-सिक्किमका चेलीहरू अझपनि विदेशको कुनै कुनामा दलदलमा फँसेका छन्‌ जसबाट उनीहरू चाहेर पनि उम्कन सक्दैनन्‌। भाग्यले कति फर्कन्छन्‌, नत्र शोषण सहन गर्न नसकेर विदेशमै दम तोडेर परिवारले शवसम्म भेट्टाउन सक्तैनन्‌। आफ्नो छोराछोरीको शवसम्म भेट्टाउन नसक्दा परिवारले भोग्नपरेको मानसिक पीडा अन्धाधुन्ध, कुनै जानकारीबिना विदेशीने युवतीहरूले बुझ्न अनिवार्य रहेको देखिएको छ।

0 comments: on "फेरि पनि सउदी अरबबाट युवती उद्दार 6 वर्षदेखि एक युवती लापत्ता रहेको खुलासा"