मुख्य समाचार :


भागोप र सबै विपक्षले बतायो जीटीएलाई छुट्टै राज्य विरोधी व्यवस्था राष्ट्रिय स्तरबाट नै जीटीएको विरोध हुने सम्भावना

 कालेबुङ, ६ दिसम्बर|
भागोपले मोर्चाले धुइरो लागेर मागिरहेको जीटीए केवल गोर्खाल्याण्डको मुद्दामा मात्र होइन, देशभरि छुट्टै राज्यको निम्ति भइरहेको आन्दोलनको निम्ति पनि मूल बाधक रहेको दाबी गरेको छ|
    भागोपले सोझै गोर्खा जनमुक्ति मोर्चालाई छुट्टै राज्य विरोधी दलको संज्ञा त दिएको छैन तर केन्द्र र राज्यले छुट्टै राज्यको मुद्दा दबाउन निकालेको जीटीएको सूत्रलाई मोर्चाले ग्रहण गरेर ऐतिहासिक भूल गरेको भने दाबी गरेको छ| भागोपका राष्ट्रिय अध्यक्ष डा. एनोस दास प्रधानले स्पष्टरुपले भने, जीटीए छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाको निम्ति त महाबाधक बनेकै छ, अन्य छुट्टै राज्यको निम्ति पनि बाधक बनेको छ| जीटीए गठन नभइहाले पनि यो मूल मुद्दाको बाटोमा घचारो भने रहेको छ| दिल्लीमा आजदेखि भागोपको कार्यक्रम शुरू हुनेछ| भागोप प्रतिनिधिहरूले कार्यक्रमबारे स्पष्ट नपारे पनि विश्‍लेषकहरूले भने भागोपको पहिलो पहल नै जीटीए खारेज गराउनु रहेको देखिएको बताइरहेका छन्| एक बुद्धिजीवीले बताए अनुसार मोर्चाले पनि पहाडमा गोरामुमोकै बाटो पछ्याइरहेको छ| किन भने तराई र डुवर्सको निम्ति जीएटीए गठन गर्नु भनेको सीमानाको कुरा छोड्नु हो|
     वास्तवमा जीटीएमा तराई र डुवर्सको अन्तरभुक्ति सम्भव थिएन| यता मोर्चाले जनतालाई तराई र डुवर्सको एक इञ्च पनि नछोड्ने बचन दिएकोले भुभाग छोडेर जीटीए थाप्नु अफ्ठ्यारो पर्‍यो|
     यसकारण जोन बारलालाई तराई र डुर्सको बागडोर थमाएर मोर्चाले तराई र डुवर्स छोडिसकेको छ| यता मोर्चाले थापेको यही जीटीएलाई उदाहरण देखाएर देशभरि भइरहेको छुट्टै राज्यको आन्दोलनकारीहरूलाई जीटीए कै फर्मुला अप्नाउने विषयमा प्रचार प्रसार गरिरहेको छ| यस कारण जीटीए खारेज गर्न केवल क्षेत्रीय दलहरूले मात्र होइन, देशभरि छुट्टै राज्यको आन्दोलन गरिरहेको आन्दोलनकारीहरूको सहयोग लिनुपर्छ| यसको निम्ति उनीहरूले भागोपलाई सहयोग गर्न सक्छन्|
 किन भने भागोपको राष्ट्रिय पहिचान छ, मोर्चालाई राष्ट्रियस्तरमा चिन्दैन| मोर्चा भनेको तीनवटा मकुमामा खेल्ने राजनैतिक दल हो| जसले आफ्नो अस्तित्व तीनवटा महकुमा नै कायम गर्नु उसको राजनैतिक बाध्यता हो|  यसैकारण नै मोर्चाले जीटीएको रट लगाइरहेको छ| तिनी अनुसार मोर्चा वास्तवमा बुद्धिजीवीहरूको कारण भडखालोमा परिरहेको छ| मोर्चाका नेताहरूलाई पनि थाहा छ गोरामुमोका नेताहरुको जस्तै अवस्था बन्ने दिन धेरै टाडो छैन भनेर यसकारण मोर्चाले पहाडमा आतङ्क मच्चाउन सक्छ अनि त्यो आतङ्कलाई ममता व्यानर्जीले सहयोग गर्न सक्छ| यता भागोपले दिल्लीमा नै रणनीति निर्माण गर्नुले पनि पनि जीटीएको विरोध र छुट्टै राज्यको आन्दोलनको निम्ति रणनीति तयार पार्ने सम्भावना छ| जीटीए छुट्टै राज्यको मार्गमा अवरोध खडा गर्ने हो भने निश्‍चय नै पहिले जीटीएलाई खारेज गराउनु अनिवार्य छ, जसरी छैटौं अनुसूचीलाई खारेज गरिएको थियो|
 जसरी छैटौं अनुसूची खारेज गर्न पहाडका सम्पूर्ण विपक्ष एक भएका थिए, त्यही फर्मुला यसपल्ट पनि अप्नाइन अनिवार्य छ| एनोदास प्रधानले बताए अनुसार जीटीए केवल विकास एजेन्सी मात्र रहेको भए भागोपलाई भन्नु केही थिएन तर राज्य सरकार र केन्द्र सरकारले जीटीए नै गोर्खाहरूको समस्याको समाधान समाधान भयो भनेर प्रचार गरिएको अनि मोर्चाले यसलाई नाच्दै थप्पडी मार्दै समर्थन गरेकोले चिन्ता व्यक्त गरिएको हो| मुख्य मन्त्री ममता व्यार्जीले जीटीएको हस्ताक्षर भएको दिन, बङ्गाल विभाजन हुँदैन भनेर घोषणा गरेकी थिइन् अनि त्यसलाई मोर्चाका नेताहरूले समर्थन जनाएका थिए| यता भागोपले भने टास्क फोर्सको आन्दोलन बङ्गालबाट मुक्ति रहेको बताएको छ|
 एनोस दास प्रधानले भने, बङ्गालबाट अलग्ग रहेको एउटा छुट्टै राज्यको निम्ति टास्क फोर्सको पहल हो| यता मोर्चाले मुख्यमन्त्रीले बङ्गाल विभाजन नहुने कुरामा समर्थन गरेकोले भागोपको बङ्गालबाट अलग्ग रहने भनेर गरिएको कुरालाई व्यापक विरोध गर्ने देखिएको छ| एक बुद्धिजीवी अनुसार यसैको निम्ति युवा मोर्चालाई लगाएर मोर्चाले भागोपको आन्दोलनमा बाधा सृष्टि गर्ने खेल चालिसकेको छ| युवा मोर्चाले गोर्खाल्याड भनेकोले पहाडका जनताको ध्यान यसैमा जाने अनि भागोपलाई त्यसको असर पर्ने उद्देश्य युवा मोर्चाको आन्दोलनभित्र रहेको छ| भागोपले कुनै कार्यक्रमबारे नखुलाए पनि अब जीटीएको विरोधमा राष्ट्रियस्तरबाट नै आवाज उठ्ने सम्भावना भने व्यापक रहेको विश्‍लेषकहरूको अनुमान रहेको छ|


0 comments: on "भागोप र सबै विपक्षले बतायो जीटीएलाई छुट्टै राज्य विरोधी व्यवस्था राष्ट्रिय स्तरबाट नै जीटीएको विरोध हुने सम्भावना"