मुख्य समाचार :


नगरपालिका वोर्ड गठन हुन एक महिना लाग्नसक्ने डम्पिङः नगराअध्यक्षकोे पहिलो प्राथमिकता


प्रज्ज्वल छेत्री
कालेबुङ, 21 नोभेम्बर।
कालेबुङ नगरपालिका समष्टिमा मोर्चाले निर्विरोध जीत हासिल गरेपछि कूल 23 जना उम्मेदवारहरूलाई नगर पार्षदको प्रमाण पत्र दिइसकेको छ। 22 जना उम्मेदवारहरूले अघिबाटै प्रमाण पत्र लिइसकेका छन्‌ भने पूर्वघोषित नगराध्यक्ष एलबी परियारले पनि आज महकुमा अधिकारीबाट प्रमाण पत्र लिए। जम्मै नगर पार्षदहरूले प्रमाण पत्र पाइसकेको भएपनि नगरपालिका वोर्ड गठन हुन अझ एक महिनासम्म लाग्नसक्ने नगराध्यक्ष एलबी परियारले बताएका छन्‌। तिनीअनुसार मिरिकको चुनाउ सकिएपछि केही दिनमा मात्र ग्याजेट नोटिफिकेशन जारी हुन्छ। ग्याजेट नोटिफिकेशन आएपछि मात्र वोर्ड गठन हुनेछ। यसर्थ  दार्जीलिङ, खरसाङ, मिरिक अनि कालेबुङ नगरपालिकाको वोर्ड गठन हुन महिनादिनसम्म लाग्नेछ। कालेबुङ नगरभित्र रहेको समस्याहरूको समाधान गर्नु नै यसपल्टको मोर्चाको नगरपालिका  बोर्डको निम्ति गत्तिलै चुनौती हुनजान्छ। किनभने, कालेबुङभित्रको जम्मै वार्डहरू समस्याको घेरोदेखि बाहिर छैन। यसभन्दा पनि कालेबुङको वर्तमान प्रमुख समस्या भनेको पानी अनि मैलाको समस्या रहेको छ। नगरपालिका वोर्ड गठन भएपछि  वोर्डले सबैभन्दा प्रमुखताकासाथ डम्पिङ ग्राउण्डको समस्या समाधानार्थ कार्य गर्ने आज नगराध्यक्ष एलबी परियारले बताए। तिनले भने, कालेबुङमा थुप्रै समस्याहरू रहेको छ। यीमध्ये पनि मैलाको समस्या प्रमुख रहेकोले सर्वप्रथम वोर्डले डम्पिङलाई पहिलो प्रथमिकता दिनेछ।
 तिनले मैलालाई पुरानो पद्धतिलाई छोडेर नयॉं तरिकाहरू अप्नाउनुपर्ने बताए। जलाउन सकिने मैलालाई जलाएर अनि अरू मैलाहरूलाई मल बनाउनमा प्रयोग गर्नुपर्ने बताउँदै  नगरको थुप्रिने मैलालाई स्थायी रूपमा टुङ्गो लगाउन पछिबाट बाहिरका नगरपालिका वोर्डहरूबाट सुझाउ लिएर कार्य गर्ने तिनले बताए। मकैबारीमा मैलाबाट मल बनाउने कार्य भइरहेको बताउँदै त्यसबारे पनि जानकारी लिएर मैला पनि सहजै फ्यॉंक्न सकिने अनि आर्थिक उन्ननति पनि हुनसक्ने तिनको योजना रहेको बताए। अहिले भालूखोप दलमान गाउँमा बनिँदै गरेको डम्पिङ ग्राउण्ड परिसरनै पैह्रोले खतरामा परेपछि यसकोे निम्ति पनि केही सोंचेर नै निर्णय गर्ने एलबी परियारले बताए। यसबाहेक कालेबुङ पानी, बाटो, झोडा आदिको समस्या रहेको बताउँदै तिनले यी मूलभूत कुराहरूलाई यथाशीघ्र समाधान गरेर नगर सुन्दरीकरणको निम्ति जोड दिने बताए। नगरपालिका बोर्ड गठन भएपछि  भ्रष्टचारमुक्त बनाउने मोर्चा अध्यक्ष विमल गुरूङले भनिसकेका छन्‌। यससम्बन्धमा नगराध्यक्ष परियारले कुनै पनि काममा पारदर्शिता भएन भने त्यहॉं भ्रष्टचार हुनसक्ने बताए। यसर्थ, मोर्चाको बोर्ड गठन भएपछि कुनै पनि काम गर्दा पारदर्शितासँग नै हुने बताउँदै भने, भ्रष्टचार हुन नदिनुमा वार्ड कमिटीहरूको भूमिका महत्वपूर्ण हुन्छ।  वार्डको समस्याहरूसँग दिन रात जुझ्नेहरू भएकाले उनीहरू भुक्तभोगीहरू हुन्‌। यसर्थ कुनै पनि काम गर्दा वोर्डको निगरानीमा भएपछि त्यहॉं भ्रष्टचार हुने प्रश्न कमै हुन्छ। यसैले मोर्चा अध्यक्ष विमल गुरूङले नै वोर्ड गठन गर्न शुरू गरेको तिनले बताए। 

0 comments: on "नगरपालिका वोर्ड गठन हुन एक महिना लाग्नसक्ने डम्पिङः नगराअध्यक्षकोे पहिलो प्राथमिकता"