मुख्य समाचार :


दिसम्बरदेखि क्रामाकपाको कार्यक्रम शुरू

कालेबुङ, २६ नोभेम्बर|
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको हाइवे खण्ड-१, जोनल कमिटीको विशेष साङ्गठानिक अधिवेशन नजोक फरेष्ट बस्तीमा सम्पन्न भयो| अधिवेशनमा क्रामाकपा महासचिव तारामणि राई, उपाध्यक्ष जेबी राई, कालेबुङ शाखाध्यक्ष किशोर प्रधान, सचिव मोहन पौड्याल, गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा महासचिव अरुण घतानी लगायत जोनका प्रतिनिधिहरू उपस्थित थिए| अधिवेशनमा हाइवे खण्ड, १ जोनल कमिटीका सचिव सन्तोष प्रधानले सचिवको प्रतिवेदन राख्दै साङ्गठानिक विस्तार अनि यसबीच आएका अडचनहरूबारे अवगत गराए| हाइवेमा तीनवटा शाखाले साङ्गठानिक विस्तारको कार्य गरिरहेको बताउँदै तिनले क्रामाकपाले आगामी दिनमा गर्ने कार्यक्रममा डटेर अघि बढ्ने बताए| अधिवेशनमा छुट्टैराज्य गोर्खाल्याण्ड गठन गर्नुपर्ने प्रस्तावसित नै चियाकमान, बनबस्ती, सिन्कोना र राष्ट्रिय राजमार्ग ३१ ए-का जनसाधरण मजदूर, कर्मचारीहरूले दखल गरेको घरघरेटी र कोठेबारीको परिमाणलाई समानरुपले सच्याएर उनीहरूलाई पर्चापट्टा दिइनुपर्ने प्रस्ताव पनि लिइएको छ| सन्तोष प्रधानले बताए अनुसार, नजोक बनबस्ती सेपखोलामा एनएचपीसीले शीघ्र नै बिजुली जडान गर्नुपर्ने, कालिझोडा सेवक अघि १० माइल वनबस्तीलाई कालेबुङ महकुमाभित्र अन्तरभुक्त गर्नुपर्ने अनि कालिझोडा, सेवक, १० माइल वनबस्ती, मङपङ कर्मठ अनि बीसमाइललाई मिलाएर छुट्टै ग्राम पञ्चायत गठन गर्नुपर्ने बारे पनि प्रस्ताव लिइएको छ| रेली खोलामा एनएचपीसीले पुल हाल्नुपर्ने, परियोजनाद्वारा प्रभावित कालिझोडाको ११  परिवारलाई पुनर्वास गराइनुपर्ने, २७ माइलदेखि रबी झोडासम्म नयॉं बाटो निर्माण गर्दा २९ माइल गेलखोलाका व्यापारी अनि जनसाधरणलाई धेरै आर्थिक मर्का पर्ने भएकोले यसको वैकल्पिक व्यवस्था मिलाइनुपर्ने विषयमा पनि प्रस्ताव लिइएको छ| अधिवेशनलाई सम्झौता गर्दै किशोर प्रधानले दिसम्बरदेखि क्रामाकपाको विभिन्न कार्यक्रमहरू छुट्टै राज्यको निम्ति शुरू हुने बताए|
तिनले ४ दिसम्बरदेखि कार्यक्रम हुने बताए| क्रामाकपाको स्थापना दिवस महिनाव्यापी हुने पनि तिनले बताए| पटनामा छट्टै राज्य गोर्खाल्याण्डको आवाज उठाएको बताउँदै गक्रायुमो महासचिव अरुण घतानीले अब क्रामाकपाले जनताको बुनियादी आवश्यकताको निम्ति पनि विभिन्न स्तरमा कार्य गर्ने बताए| तिनले मोर्चाले आन्दोलनको नाममा गरिरहेको नाटकलाई विश्‍लेषण गर्दै सङ्घर्षको निम्ति क्रामाकपाको हरेक सङ्गठन तयार हुनुपर्ने पनि बताए| महकुमा सचिव मोहन पौड्यालले मोर्चाको झुटो जातिवादी शक्तिले जनतालाई दिग्भ्रमित गरिरहेको बताउँदै क्रामाकपाले झुटो आन्दोलनकारीहरूको कुटनीतिको विरुद्ध छुट्टै राज्यको निम्ति बाटो तय गर्नुपर्ने बताए| क्रामाकपा महासचिव तारामणि राईले क्रामाकपाको आन्दोलन तीन चरणमा हुने बताउँदै भने, क्रामाकपाले सडक, संसद अनि बौद्धिक जमातलाई आन्दोलनको औचित्य बुझाउन राष्ट्रियस्तरका छुट्टै राज्यपन्थीहरूको सहयोगमा आन्दोलन गर्ने छ| तीनै चरणको आन्दोलनको कर्मसूची तयार भइसकेको छ अब जनतासमक्ष कार्यक्रम अघि राखेर दिसम्बरदेखि कटिबद्धरुपले अघि बढ्नेछौं| तिनले मोर्चालाई लक्ष्य गर्दै भने, बाबु जीटीए भन्दैछ अनि छोरा छुट्टै राज्य भन्दैछ| बाबुलाई परेको कष्टलाई छोराले बुझेको जस्तो मात्र भइरहेको छ| बाबुको जीटीए छिर्ने बित्तिकै छोराहरूको छुट्टै राज्यको आन्दोलन पैसा, गाडी अनि कन्ट्राक्टरीमा रुपान्तर भइहाल्ने छ|  अधिवेशनमा टिस्टा आञ्चलिक सचिव श्याम गुरूङ, भरत छेत्री तथा अन्य कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो| 

0 comments: on "दिसम्बरदेखि क्रामाकपाको कार्यक्रम शुरू"