मुख्य समाचार :


जीना हत्याकाण्ड प्रकरणः फोरेन्सिक रिपोर्टपछि चुलियो रहस्य


हत्याः उठिरहेको छ प्रश्न
मनोज वोगटी
पेदोङ, 20 नोभेम्बर।
पहाडमा हत्याकाण्ड कुनै खेल बारबर बनिरहेको छ। आत्महत्या त सामान्य बन्दै गइरहेको छ तर अहिले हत्या पनि नगण्य घटना बन्दै गइरहेको छ। दार्जीलिङ पहाडमा अनैकौं हत्याका घटनाहरू भए तर अचम्म लाग्दो कुरा के छ भने कुनै पनि हत्याका हत्याराहरू पक्रा परेका छैनन्‌। चाहे त्यो सीके प्रधान, रुद्र प्रधान, प्रकाश थिङ, सुदर्शन शर्मा, गुमानसिह राई हत्याकाण्ड होस्‌, चाहे मदन तामङ हत्याकाण्ड होस्‌ वा चाहे कालेबुङको टीकाराम छेत्री, बिजनबारीको पुष्पजङ्ग थापा होस्‌ वा त राजनीति बाहिरको जीना हत्याकाण्ड होस्‌। पुलिस प्रशासन हत्याको मामिलामा नितान्तै असाहय देखापरेको छ अनि हत्याराहरूको छाती चौडा भइरहेको छ। आखिर हत्याको मामिलामा किन भारतको कानूनले हत्याराहरूको खोजी गर्न सक्दैन? किन हत्याको घटना दिनोदिन बढ्‌दै गइरहेको छ? किन हत्याराहरू पक्रा पर्न सक्दैनन्‌ अनि सबै भन्दा मूल कुरा के पक्रा परेका हत्याराहरूले उनीहरूले गरेको कर्म अनुसारको दण्ड पाइरहेका छन्‌ त? अहिले पेदोङमा भएको जीना हत्याकाण्डले फेरि यी नै प्रश्नहरुको उठान गर्दै गइरहेको छ।
 जीनाको हत्या भएको पॉंच दिन भयो अहिलेसम्म पुलिसले हत्याराहरूको सुइँको नै पाउन सकेको छैन। के जीना हत्या प्रकरण पनि हत्याराहरूको पक्राउ बिना नै सेलाएर जान्छ त? यो प्रश्न अहिले उठिरहेको छ।
अहिले जीना हत्याकाण्डले अनेकौं शंका र प्रश्नहरू खडा गरिरहेको छ, जो दिनोदिन रहस्यमय बन्दै गइरहेको छ।

जीना हत्याकाण्डः घटना
पेदोङकी 22 वर्षिय जीना प्रधान बिहान चिया पिउन अनि बेलुकी सब्जी पकाउन दूध र इस्कुस लिन घरबाट निस्किएकी थिइन्‌। 4ः30 बजी सॉंझ घरबाट निस्किएकी जीना त्यसदिन दूध र इस्कूस लिएर घर पसिनन्‌। तिनी घरबाट निस्किएको ठीक एकघण्टामा तिनको घरबाट केवल 40 फिट पर खेत नजिकको खोल्सामा घाइते अवस्थामा भेटियो। केही क्षण अघि जीनाले तोपखानास्थित दोकानमा तीस रुपियॉंको मोबाइल भाउचर, अनि दाजुको निम्ति सुपारी किनेकी थिइन्‌। हातमा बोकेकी थिइन्‌ इस्कूसको झोला अनि दूधको बट्टा। दोकानबाट घर गएको जीना घर पुगिनन्‌। छोरी नआएपछि तिनकी आमा अन्नामारियालाई छटपट्टि भयो। तिनले छोरीलाई फोन लगाइन्‌, फोनबाट बढाको घरमा इस्कूस लिन पुगेकी जवाब आयो। त्यो जवाब आएको आधा घण्टा वितिसक्दा पनि छोरी घर नआएपछि ठूलो छोरालाई अन्ना मिरियाले फोन लगाइन्‌। त्यसैबेला फोनमा बेल्दाबेल्दै हल्लाखल्ला भयो अनि छोरा रिचर्डबाट आमाको फोनमा 'आमा बहिनीलाई कसले हिर्काएछ...' भन्ने शब्द मात्र आयो।
 त्यसबेलासम्म जीनाको टाउकोमा हत्याराले चार ठाउँ ढुङ्गाले कुच्चाइसकेको थियो अनि अचेत अवस्थामा गाउँकी एक महिलाले खोल्सामा जीनालाई विभत्स अवस्थामा फेला पारेेको हल्ला फैलिसकेको थियो। रिचर्ड आमालाई त्यति मात्र भनेर घटनास्थल पुगिसकेका थिए। जीनाको घरदेखि 40 फिट परको खेतमा एकातिर दूधको बट्टा लडिरहेको थियो भने अर्कोतिर  झोलाबाट छरपस्ट थिए इस्कूसहरू। छेउमा सेल फोन अनि दुइ कान्लामा एकएकवटा चप्पल अनि अर्को गह्रामा जीनाले लगाएको सुरूवाल। जतिबेला जीनालाई प्रत्यक्षदर्शीहरूले देखेका थिए, त्यसबेला जीनाको कम्मर मुनीको लुगा थिएन। लुगा खेतमा नै थियो। तिनको कम्मरमुनीका लुगा पाएको खेतदेखि दसफिट परको खोल्सामा जीनालाई फ्यॉंकिएको थियो। प्रत्यक्षदर्शीहरूले त्यसैबेला शंका गरेका थिए, कुकर्मपछि नै जीनाको हत्या गर्न खोजिएको होे। जीनालाई खोल्साबाट उठाएर पेदोङ स्वास्थ्य चौकी लगियो। जीनाको अवस्था हेर्ने बित्तिकै डाक्टरले कालेबुङ रेफर गरिदिए। त्यहॉं जीनाको प्राथमिक उपचारसमेत भएन, न त सलाइन नै दिइयो। पेदोङबाट कालेबुङ ल्याउँदा ल्याउँदै जीनाले दम तोडिन। तर दम तोड्‌न अघि तिनले हातको इशाराले तीन औंला देखाएको हल्ला पेदोङभरि छ।
 
बलात्कार होइन?
जीना हत्याकाण्डपछि पेदाङबासी मात्र होइन कालेबुङवासी पनि आक्रोशित बनेको छ। उनीहरू चहान्छन्‌-हत्याराहरूको खोजी शीघ्र नै हुनु पर्छ अनि हत्याराहरूलाई कडा भन्डा कडा दण्ड दिइनुपर्छ। तर अहिलेसम्म पुलिसले हत्याराको सानो सुइँको पनि पाएको छैन। जीना सम्बन्धका जम्मै जॉंच कार्यलाई पुलिसले गोप्य राखेको छ अनि पाइएका क्लुहरू अनुसार हत्यारासम्म पुग्न धेरै प्रक्रियाहरू अप्नाइरहेको थाना सूत्रको रिपोर्ट  छ। जीनालाई कालेबुङ ल्याइए पनि कालेबुङ अस्पतालमा डीएनए परिक्षण हुन सकेन। अनि उत्तरबङ्गाल मेडिकल कलेजमा तिनको शव फोरेन्सिक जॉंचको निम्ति लगियो। जब त्यसको रिपोर्ट आज मीडियामा आयो त्यसले स्पष्ट पारेको छ कि जीनासित कुकर्म भएको थिएन।
चुलियो शंका
यो रिपोर्ट तर जीनाको परिवारलाई अझसम्म पनि पुलिसले बताएको छैन। जब जीनालाई विभत्स अवस्थामा भेटिएको थियो त्यसबेला जीनाको कम्मरमुनीको लुगा थिएन। तिनी अर्धनग्न थिए। त्यसैलाई हेरेर प्रत्यक्षर्शीहरूले शंका गरेका थिए कि जीनालाई बलात्कार गरिएको हो। तर फोरेन्सिक रिपोर्टले कसैको शंकालाई पनि प्रमाणित गरेन। उसो भए के को निम्ति जीनाको हत्या गरियो त? जीना चर्चमा युवा संगठनका सक्रिय सदस्य थिए। मिष्टभाषी, लजाउने प्रवृति भएको अनि सबैसित आदरभावले बोल्ने गाउँकी सबैभन्दा शिष्ट थिइन्‌ जीना। चल्चलता तिनमा थिएन। सामाजिक कार्यमा चासो राख्ने, राम्रो आनाबानी भएको जीनालाई टाउको कुच्चाएर हत्या गर्नुमा कसको कस्तो स्वार्थ छ? यो रहस्य अहिले गहिरो बनेको छ। बलात्कार गरिएको होइन भने कुन अभिप्साको निम्ति सरल ठिटीलाई त्यस्तो निर्ममरुपले हत्या गरिएको हो त? हत्या घरदेखि केवल 40 फीट पर भएको छ अनि खेतबाट तिनलाई घिस्याउँदै खोल्सामा फ्यॉंकिएको थियो, तर कसैले पनि कुनै पनि आवाज सुनेन। घटनास्थलको नजिक तीनवटा घरहरू छन्‌ तर कसैले पनि खुस्रुक्क पनि आवाज सुनेनन्‌। स्थानीय एक महिला झमक्क साझमा टर्च बालेर दूध लिन गइरहेको समय अप्ठ्यारोमा परेर कसैले सास फेरिरहेको आवाज सुनिन्‌। आवाज आएतिर खोज्दै जॉंदा तिनी खोल्सा पुगिन। घोप्टो परेर कोही लडिरहेको देखेपछि हल्लाखल्ला गरिन्‌ अनि सबैले देखे जीनालाई त्यो अवस्थामा।

परिवारको बिन्ति
आज पॉंचदिन बित्यो, यो मामिलामा पुलिसी रिपोर्ट प्रगतिमा नरहेको अनुभव गरिरहेकी छन्‌ तिनकी आमा अन्नामेरीले। तिनले भनिन्‌, जीनालाई यस्तो निर्मम अत्याचार होला भनेर सोंच्न पनि सकेकी छैन। कस्तो पापी हो जसले कुक्कुरलाई पनि नगर्ने अत्याचार गर्‍यो। के चाहान्छन्‌ हत्यारा? को हुन्‌ हत्यारा? सोंच्न पनि सकेकी छैन। अहिले हामी परिवार नै शोकमा छौं, भोलि अन्त्येष्टी क्रिया छ। कसैले पनि भरोसा लाग्दो आड दिइरहेको छैन। न त ठूलाठालू नै आइरहेका छन्‌, न त पार्टीले नै केही गरिरहेको छ, न त पुलिस प्रशासनले नै हत्यारा पक्राउ गरेको छ। मैले छोरी त गुमाएँ, यस्तो घटना अरुसित नहोस्‌ भनेर म पुलिसलाई न्यायको निम्ति अपील गरिरहेको छु। दाजु रिचार्ड र बोनीले पनि भने, बाबालाई 6 महिना अघि गुमायौं अनि अहिले बहिनीलाई गुमायौं तर यस्तो हालतमा। हामीलाई सबैको सहयोग चाहिएको छ। हामी जीनालाई न्याय दिलाउन चहान्छौं। कसरी न्याय दिलाउने हो केही सोंच्न सकिरहेका छैनौं। जीनाकी फुपु जोनमेरीले पनि भनिन्‌, जीनाको बलात्कार होइन भने तिनको लुगा किन खोलिएको थियो त? के यो कुनै सुनियोजित घटना त होइन? पुलिस प्रशासनले यसको खोजी गरिदेओस्‌। नागरिक समाज, पार्टी, सामाजिक सङ्गठन, बुद्धिजीवी, सचेतवर्गलाई  म अपील गर्छु कि जीनालाई सबैले न्याय दिलाउनमा सहयोग गरिदिनोस्‌, हामी असाहय छौं, कहॉं के गर्नु पर्ने केही गर्न सकिरहेका छैनौं। भोलि अन्त्येष्टी सकेर जीनालाई न्याय दिलाउनको निम्ति हामी अघि बड्‌नेछौं। हामी सय भन्दा धेर आफन्त छौं तर केही गर्न सकिरहेका छैनौं। यस्तो निर्मरुपले हत्या गरिएको छ, कि यस्तो घटना फेरि फेरि पेदोङमा हुन नपाओस्‌, त्यसको निम्ति सबैले नै हत्यारालाई पक्राउ गर्न सहयोग गरिदिनोस्‌। हामी त शोकमा छौं तर सचेत समाजले पनि केही गर्न सकिरहेका छैनन्‌। के हत्यारा अघि सबै लाचार छन्‌? आज हाम्री छोरीमाथि यस्तो घटना भयो भोलि अरुको पनि हुन सक्छ। जीनालाई फर्काएर ल्याउन त सक्दैनौं तर कमसेकम हत्यारालाई पक्राउ गरेर कठोर दण्ड दिएर तिनलाई न्याय त दिलाउन सक्छौं। दोषीले यस्तो दण्ड पाओस्‌ कि कसैले पनि नारीमाथि ठाडो आँखा उठाउन अघि हजारपल्ट सोंचोस्‌। अपराधी घुुमिरहेका होलान्‌। पक्राउ गराउन सकिएन भने केवल हाम्रो हार हुने छैन सबै सचेत नागरिकको हार हुनेछ। तिनले पुलिसी जॉंच प्रक्रियामाथि सन्तुष्ट हुन पनि सक्ने नहुन पनि सक्ने बताइन्‌। तिनलाई धेरै लाचार देखिन्थ्यो। धेरै कुरा भन्न चहान्थिन्‌ तर मामिला बिग्रेला र पुलिसले उचित जॉंच नगरिदेलाकी भन्ने त्रास तिनमा रहेको पनि देखिन्थ्यो।

चलिरहेको छ पुलिसी जॉंच
पुलिस सूत्रले बताए अनुसार विभिन्न कोणबाट घटनालाई पुलिसले हेर्ने कार्य भइरहेको छ। धेरैवटा क्लूहरू पनि पाइएको छ तर सही मौकामा सही कदम उठाउनलाई घटनामाथि अध्ययन गर्ने कार्य भइरहेको छ। अपील गर्ने वित्तिकै हत्यारा पक्राउ पर्दैन घटनालाई अध्ययन गरेर धेरै चलाकीसाथ अघि बढ्‌नुपर्छ। पुलिसलाई आशा छ, शीग्र जॉंच नै कुनै न कुनै निचोडमा पुग्नेछ, जीनाको फोन बरामद गरिएका ेछ। यसबाट पनि धेरै सहयोग हुने आशा गरिएको छ-सूत्रले भनेकोछ।

नियुक्ती हुनेवाला थियो जीनाको

जीनाकी बुबा इजाक प्रधान भुमि सुधार विभागमा नोकरी गर्थे। तिनको मृत्यु नोकरीमा हुँदा नै 6 वर्ष अघि भएको थियो। तिनको परिवारमा दुइ छोरा अनि एक छोरी। कान्छि छोरी हुन्‌ जीना। जीनाले बाबुकै कार्यालयमा भर्खर अन्तरवार्ता दिएकी थिएन्‌। जहॉं तिनी उतीर्ण भइकेकी थिइन्‌। केही दिनपछि नै तिनलाई नियुक्तिको निम्ति बोलाइएको थियो। तिनको नियुक्ति हुन अघि नै जीनाको निर्मम हत्या भयो। जीनाले अब भुमि सुधार विभागमा नोकरी गर्न पाइनन्‌। के तिनले पाएको नियुक्तिसित घटनाको कुनै सरोकार छ त? यसरी पनि हेर्न थालिएको गाउँलेहरूसितको कुराकानीमा थाहा पाइएको छ। यता पुलिस सुत्रले जीनाको इतिहासलाई पनि अध्ययन गरिरहेको छ। के जीनाको प्रेम कोहीसित थियो? के जीनाको दुश्मनी कोही सित थियो? जीनालाई न्याय दिलाउन लागिपरेकाहरूसित अहिले यस्तै अनेकौं प्रश्नहरू रहेको देखिएको छ।

0 comments: on "जीना हत्याकाण्ड प्रकरणः फोरेन्सिक रिपोर्टपछि चुलियो रहस्य"