मुख्य समाचार :


गोर्खालिगले चुनाउ आयोगलाई पठायो परियार विरुद्ध पत्र

कालेबुङ, 16 नोभेम्बर।
पूर्व आईपीएस एलबी परियार कालेबुङ नगरपालिकाका पूर्वघोषित अध्यक्ष हुन्‌। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले कालेबुङ नगरपालिकाका अन्य उम्मेदवारहरुको छनौट गर्न अघि नै परियारलाई  कालेबुङ नगरपालिकाको अध्यक्षकोरुपमा छानिसकेका थिए। जीटीएको निम्ति प्राविधिक व्यक्तिकोरुपमा कार्य गरिरहेका परियार आफै पनि नगराध्यक्ष हुने कुराले धेरै उत्साहित छन्‌। तर तिनै विरुद्धमा आज अखिल भारतीय गोर्खालिगले भने चुनाउ आयोगलाई पत्र पठाएर परियारको उम्मेदारिता खारेज हुनुपर्ने माग गरेको छ। नगरपालिका रिटर्निङ अफिसर अनि महकुमा अधिकारीमार्फत  चुनाउ आयोग प्रमुखलाई लेखिएको पत्रमा एक सरकारी कर्मचारी, त्यो पनि उच्चस्थ पदमा छन्‌, तिनले कसरी चुनाउ लड्‌न सक्छन्‌ भन्ने प्रश्न उठाइएको छ। लीग कालेबुङ महकुमा अध्यक्ष त्रिभुवन राईले चुनाउ आयुक्तलाई पठाएको पत्रमा उल्लेख गरिए अनुसार परियार दार्जीलिङ  डिस्ट्रिक्ट स्कूल बोर्डका अध्यक्ष हुन्‌। तिनले प्रति महिना 25 हजार गरेर सरकारको वेतन खाने गरेका छन्‌। सरकारी अधिसूचना जारी गरेर तिनलाई दार्जीलिङ जिल्ला शिक्षा पर्षदको अध्यक्षकोरुपमा नियुक्त गरिएकोले तिनी कुनै पनि चुनाउमा उठ्‌नु कानूनको विरुद्ध हो। गोर्खालिग महासचिव प्रताप खातीले बताए अनुसार परियारले शिक्षा पर्षदको अध्यक्ष पद्मा राजिनामा दियो भन्ने कुरा सुनिएको छ तर आधिकारिक छैन। हो नै भने पनि परियारले आफ्नो चार्ज अरुलाई हेण्डोभर गरेको छैन। गोर्खालिगको माग छ कि परियारको उम्मेदारिता खारेज हुनुपर्छ। तिनी अनुसार दागोपाप कै कर्मचारीसम्मले चुनाउ लड्‌न पाउँदैन तर परियारले जिल्ला शिक्षा पर्षद जस्तो विभागको अध्यक्षको पदमा रहेर चुनाउ लड्‌नु चुनाउ आयोगकै नियमहरूको विरुद्धको कार्य हो। अर्कोतिर परियारले आफ्नो पद वेतनहीन अनि एडहक रहेको बताएका छन्‌।

0 comments: on "गोर्खालिगले चुनाउ आयोगलाई पठायो परियार विरुद्ध पत्र"