मुख्य समाचार :


७१-औं प्रतिभा मिलन

पीयूष, बरुवा र मिश्र अभिनन्दित

गान्तोक, २६ जून|

अगस्त, २००५-देखि अनवरत आयोजित भइरहेको मासिक साहित्यिक कार्यक्रमद्वारा साहित्य तथा कलाको क्षेत्रमा योगदान पुर्‍याउँदै आइरहेका व्यक्तित्वहरूलाई सम्मानस्वरूप अभिनन्दन एवं अभ्यर्थना जनाउन शुरु गरेको छ| अहिलेसम्म कुनै पनि महिना नबिराई कार्यक्रम सम्पन्न गर्न सफल प्रतिभा मिलनद्वारा यस महिनाको कार्यक्रम अथवा ७१ औं संस्करणमा आएर दोस्रोपल्ट आज कला तथा साहित्य जगतका तीन ब्यक्तित्वलाई अभ्यर्थना जनायो|

संयोजकद्वय अमर बानियॉं ‘लोहोरो’ र चन्द्र दुलालको सतप्रयासमा सम्पन्न आजको कार्यक्रममा वरिष्ठ साहित्यकार एवं पत्रकार अर्जुन पीयूष, बहुप्रतिभाशाली व्यक्तित्व तथा साहित्यकार भुवनेश्‍वर बरुवा र साहित्यिक व्यक्तित्व एवं चित्रकार होमनाथ मिश्रलाई सभाध्यक्ष डा. पुष्प शर्मा तथा मुख्य अतिथि केएन शर्माको बाहुलीबाट अभिनन्दन जनाइयो|

यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष डा. पुष्प शर्माले विश्‍वजनिन कुराहरू तथा विश्‍वमा घटिरहेका कुराहरूलाई आजको पिँढीले अप्नाइरहेको बताउँदै सिक्किममा नेपाली साहित्य धेरै मौलाइरहेको, धेरै विकसित बनिरहेको मन्तव्य पोखिन्|
यसरी नै मुख्य अतिथि एवं साहित्यिक व्यक्तित्व केएन शर्माले समर्पणको भावनाले सॉंचो साहित्य सिर्जना हुनसक्ने बताए| यसरी नै प्रतिभा मिलनले आदर्शमय काम गरिरहेको बताउँदै सबैका निम्ति प्रतिभा मिलन पथ-प्रदर्शक बनिरहेको पनि बताए| यसका साथै नव-प्रतिभाहरूलाई पनि स्थान दिइरहेको उनले बताए|
कार्यक्रमको अर्को मुख्य आकर्षणस्वरूप दार्जीलिङ सरकारी महाविद्यालयका प्रा. नवीन पौड्यालको वार्ता रहेको थियो| सिक्किमेली कविता साहित्यमाथि वार्ता प्रस्तुत गर्दै प्राध्यापक पौड्यालले कविताले पाठकलाई आनन्द दिनुपर्ने बताए| उनले कविता कहिलै नमर्ने अनि कविताको अस्तित्व कविता आफैमा बॉंच्छ भने|

आफ्नो वार्ताको क्रममा उनले भने, दार्जीलिङले नेपाली साहित्यको जुन पगरी पहिरिएको छ अथवा पाएको छ त्यो सिक्किमतिर हस्तान्तरण हुँदैआएको जस्तो लाग्छ| यद्यपि, सिक्किम र दार्जीलिङ एउटै सिक्काका दुइ पाटासरह रहेको अवगत गराउँदै दुवै ठाउँको कथा-व्यथा एकै रहेको पनि उनले बताए| अर्कोतिर, दार्जीलिङ भेकमा नयॉं-नयॉं प्रयोगको जुन धाराप्रवाह छ त्यो सिक्किममा कम देखिएको पनि उनले बताएका छन्|

कार्यक्रमलाई आज अभिनन्दित तीनै व्यक्तित्वले पनि सम्बोधन गरेका थिए भने प्रतिभा मिलनका संयोजक-२ चन्द्र दुलालले प्रतिभा मिलन कार्यक्रम विषय जानकारी गराउँदै निरन्तरता दिने बताए|

यसरी नै कार्यक्रममा सधैंझै चन्द्र दुलाल, शिव दर्नाल, टीका प्रसाद शिवाकोटी, भूपाल कौशिक, भीम प्रधान, एसबी कार्की र पूर्ण जोञ्जनले कविता वाचन गरेका थिए| कार्यक्रममा साहित्यकार प्रद्युम्न श्रेष्ठ, भीम ठटाल, रवि अदृश्य, प्रेस क्लब अव सिक्किमका पूर्व महासचिव भीम रावत तथा अन्य गन्यमान्य व्यक्तित्वको उपस्थिति रहेको थियो|

0 comments: on "७१-औं प्रतिभा मिलन"