मुख्य समाचार :


खालिखुट्टे हुसेन

कुनै बेला 'भारतका पिकासो' भनिएका एमएफ हुसेन (मकबुल फिदा हुसेन) धेरै वर्षदेखि प्रवासमा थिए । कहिले माधुरी दीक्षित, कहिले अमृता राव हुँदै अहिले अनुश्का शर्माका प्रति 'फिदा' यी ९६ वषर्ीय मकबुल फिदाले गत वर्ष कतारको नागरिकता लिए ।

प्राय: विवादमा परिरहने हुसेनले हिन्दी फिल्मका पोस्टरका लागि चित्र बनाएर आपनो करिअर सुरु गरेका थिए । भारतका सबभन्दा महँगा कलाकारका रूपमा प्रसिद्ध हुसेनले केही फिल्म बनाएका छन् भन्ने तपाईंलाई थाहा होला । तर, उनको फिल्मले विश्वको प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जितेको छ भन्नेचाहिँ थाहा नहुन सक्छ । सन् १९६७ मा उनले बनाएको पहिलो फिल्म 'थु्र द आइज अफ पेन्टर'ले बर्लिन फिल्मफेस्टिभलमा 'गोल्डन वियर' जितेको थियो ।

पछिल्लोपटक भने उनले बनाएको फिल्म थियो, 'मिनाक्षी : टेल अफ थ्री सिटिज' । यो फिल्ममा तब्बुले तीन फरक ठाउँका युवतीको भूमिका निर्वाह गरेकी थिइन् । यी तीनमध्ये एउटा प्राग सहरकी केटीको भूमिका थियो । वास्तवमा यी युवती हुसेनकी प्रेमिका थिइन् । मारिया नाम गरेकी आपनी यी प्रेमिकालाई हुसेनले थुप्रै चित्र बनाएर उपहार दिएका थिए । केही वर्षअघि उनले 'अब मैले यी बहुमूल्य चित्रको संरक्षण गर्न सक्दिनँ,' भनेर सबै चित्र हुसेनलाई फिर्ता दिएकी थिइन् । ती चित्र राख्नका लागि मात्रै हुसेनले दुबईमा एउटा घर किनेर 'रेडलाइट ग्यालरी' बनाएका छन्, जसमा प्रकाश र तापक्रम मिलाएर चित्र राखिएका छन् ।

हिन्दु भावनासँग छेडखानी गर्ने किसिमका चित्र बनाएको आरोपमा लामो समय मुद्दा मामिला खेपेका हुसेनका चित्र प्रदर्शनीमाथि भारतमा परोक्ष किसिमको प्रतिबन्ध नै छ । सेतै फूलेका दाह्री कपालले भयाप्प अनुहार भएका हुसेनको एउटा विशेषता छ उनी खाली खुट्टै हिँड्छन् ।

संसारका धनी कलाकारमध्ये पर्ने हुसेनसँग जुत्ता-चप्पल किन्ने पैसा नहुने भन्ने कुरै आउँदैन । तैपनि उनी खाली खुट्टा हिँड्छन्, किन होला ? केहीअघि एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यसको कारण खोलेका थिए । प्रख्यात भारतीय कवि गजानन माधव मुक्तिबोधका उनी प्रशंसक थिए । लामो समय रोगव्याध, गरिबी र अभाव झेलेका मुक्तिबोधको ४६ वर्षको उमेरमा सन् १९६४ मा मृत्यु भयो । मुक्तिबोधको संगत गरेका हुसेनले उनको मलामीमा हिँड्दा कविको पीडा महसुस गर्नका लागि भनेर आफूले लगाएको जुत्ता फुकालेका थिए । त्यो मलामीमा खाली खुट्टा हिँडेदेखि नै हुसेनले जुत्ता-चप्पल लगाउन छोडेका हुन् ।

उनका आलोचकहरू भने खाली खुट्टा हिँड्ने उनको यो बानीलाई 'पब्लिसिटी स्टन्ट' भन्छन् । केही वर्षअघि मुम्बईको एउटा ठूलो रेस्टुरेन्टको पार्टीमा उनलाई खाली खुट्टा आएको भनी प्रवेश गर्न दिइएको थिइएन । भारतीय संसद्को उपल्लो सदन राज्यसभाको सदस्य हुँदा उनी खाली खुट्टै ससंद् गएका थिए । सामाजिक विषयमा टिप्पणी गर्ने लेखिका शोभा डेले पनि आपना लेखमा हुसेनको खाली खुट्टा हिँड्ने बानीको आलोचना गर्दै लेखेकी थिइन्, 'हुसेन यता भएका बेला खाली खुट्टा हिँड्ने हुन् तर न्युयोर्कजस्तो चिसो सहरमा भने उनी गजबका बुट लगाएर हिँड्छन् ।'

0 comments: on "खालिखुट्टे हुसेन"