मुख्य समाचार :


देवकुमारी थापा रहिनन्‌

साहित्यकार देवकुमारी थापाको ८४ वर्षको उमेरमा विराटनगर-१७ स्थित निवासमा निधन भएको छ । नसासम्बन्धी रोगबाट पीडित उनको पौने ७ बजे निधन भएको हो । सन् १९२८ मा खर्साङ दार्जिलिङमा जन्मेका उनले बाल मनोविज्ञानमा आधारित कथामा कलम चाउँदै आएकी थिइन् । थापाका एक दर्जन कथा संग्रह प्रकाशित छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञका रूपमा २०५२ देखि २०५७ सम्म कार्य गरिसकेकी थापाको 'टपरी', 'झझल्का', 'सेतो बिरालो' र 'देवकुमारी थापाका कथाहरू', 'सुनपखेटी चरी', 'जंगलको कथा' लगायत कृति चर्चित छन् । बबरसिंह थापा सेवा गुठीकी संस्थापक एवं संरक्षक रहेकी थापाले अहिलेसम्म एक दर्जन साहित्यकारलाई पुरस्कृत गरिसकेकी छन् । श्रीमान् बरबरसिंह थापा डेढ दशकअघि नै बितेकाले उनको स्मृतिमा थापाले सेवा गुठी सञ्चालन गरेकी थिइन् । महेन्द्ररत्न भूषण, गोरखा दक्षिण बाहु, सेवा पदकलगायतका सम्मान पाएका उनका कुनै सन्तान छैनन् ।

समलोचक दधिराज सुवेदीले थापाको पार्थिव शरीर शुक्रबार ११ बजेसम्म निवासमै श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि विराटनगरको सिंघिया खोलास्थित परोपकार घाटमा अन्त्येष्टि गरिने बताए । दार्जिलिङ छँदा नै नेपाली साहित्यमा कलम चलाएकी थापा सूर्यविक्रम ज्ञावाली, धरणीधर कोइराला, पारसमणि प्रधानलगायतको संगतले साहित्यमा लागेकी सुवेदीले बताए ।

0 comments: on "देवकुमारी थापा रहिनन्‌"