मुख्य समाचार :


पर्वतारोही नवाङ गम्फूको निधन

25 अप्रेल,कालेबुङ, प्रदीप लोहगुण

दुइपल्ट लगातार सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका पर्वतारोही नवाङ गम्फूको आइतबार बिहान दार्जीलिङको सिंहमारीस्थित निवासमा निधन भयो। उनी 79 वर्ष पुगेका थिए। उनी केही दिनदेखि अस्वस्थ थिए। उनले अमेरिकी पर्वतारोही जिम विटटाकरसित सन् 1963मा सगरमाथा आरोहण गरेका थिए भने यसको लगत्तै सन् 1965मा क्याप्टन ए एस चिमाको नेतृत्वमा यस सर्वोच्च पर्वतको उचाँई नाप्ने दलको सद्स्यको रुपमा पनि उनले सगरमाथा आरोहण गरेका थिए।


यस अघि सन् 1953मा सगरमाथा अरोहण गर्ने एड्मण्ड हिलेरी र तेंजिङ नोर्गेको दलको सहायकको रुपमा पनि उनले सगरमाथा आरोहण गरेका थिए तर त्यस समय तिनी शिखरमा पुग्न सफल भएका थिएनन्। सन् 1954मा स्वीजरल्याण्डमा उनी र तेंजिङ शेर्पाले पर्वतारोहणका प्रशिक्षण पनि लिएका थिए।

उनको लगातार यस सहासिक कार्यको निम्ति भारत सरकारले उनलाई 1966मा पद्माभुषण, 1964मा पद्माश्री ,1965मा अर्जुन पुरस्कार अनि 2005मा तेंजिङ नोर्गे लाइफटाइम एचिभमेण्ट अवार्डले सम्मानित गरिसकेको छ। सन 1963मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले वाइट हाउसमा तिनलाई निमन्त्रणा गरेका थिए भने युके सरकारले रानी एलिजाबेथ दोस्रो राज्याभिषेक पदकले सम्मानित गरेको थियो। उनको अंतिम संस्कार बिहीबार दार्जीलिङमा सम्पन्न हुनेछ।

0 comments: on "पर्वतारोही नवाङ गम्फूको निधन"