मुख्य समाचार :


जागे जागे सारा रात ब्राइन आउँछन्‌ भनेर...


मनोज वोगटी
कालेबुङ,22 अप्रेल।
जागे जागे सारा रात
मायालु आउँछिन्‌ भनेर
यस्तो मास्टरपीस गीतका गायक-संगीतकार ब्राइन मोक्तान फर्किआउने आशामा तिनको परिवार चारदिनदेखि जागो बसेका छन्‌। ब्राइन मोक्तानले यही गीत गाउन गिटार बजाउने वित्तिकै तिनका प्रसंशकहरूले कार्यक्रम भवन नै थर्काउने गर्थे। अहिले मोक्तान निखोज भएकोले तिनका प्रसंशकहरू शोकित छन्‌। सारा रात जागै बसेर प्रियसी आउने आशामा बस्ने ब्राइन मोक्तान निखोज भएदेखि तिनकी बृद्ध आमा, पत्नी, छोरीहरू अनि भाइहरू तिनी फर्किआउने आशामा नै बसिरहेका छन्‌। तिनका भाइ प्रशान्त वाइबा भन्छन्‌, दाजु, केही दिनको निम्ति कतै गएका छन्‌। उनी फर्कि आउनेछन्‌। हामी तिनी आउने आशामा बसिरहेका छौं। चारैतिर खोजिरहेका छौं। हामीलाई विश्वास छ, तिनी फर्किनेछन्‌।

सबैले प्रतीक्षा गरेको विधानसभा चुनाउ-2011 आयो अनि गयो पनि तर यही चुनाउलाई सफल बनाउन ड्युटीमा गएका ब्राइन मोक्तान फर्किएनन्‌। 16 अप्रेलको दिन ब्राइन मोक्तान चुनाउको ड्युटी पाएर अन्य साथीहरूसित नै सरसाङको बन्दाखेती गएका थिए। तिनीले आफ्नो ड्युटी निभाए अनि चुनाउ सकेर तिनी उनीहरूलाई लिएर गएको बस सिक्किम व्युटीमा नै 19 अप्रेलको दिन सिलगढ़ी भएर फर्किरहेका थिए। सबै कुरा ठीकै थियो। साथीहरूसित राम्रै कुराकानी गरिरहेका थिए। टिस्टाको 18 माइलमा आइपुग्दा बस जाममा पर्‍यो। त्यसैबेला बाहिर निस्किएका ब्राइन मोक्तान फेरि बसमा चढ़ेनन्‌। सोही दिनदेखि ब्राइन मोक्तान लापत्ता छन्‌।

मोक्तानसित नै प्रिसाइडिङ अफिसर बनेर गएका दिलु ठटाल भन्छन्‌, मोक्तान निखोज भएको कुराले म आहत छु। तिनले नै सबै काम गरेका थिए। हामी ले त उनीजति काम गर्नै परेन। सबै उनैले गरे। तिनले माहौल नै रमाइलो पारेका थिए। 18 तारिक हामी 12 बजी छुट्टिएका थियौं। तिनी यसरी लापत्ता बन्ला भन्नेे कुरा पत्याउनै सकेको छैन। तिनको अनुहारमा कुनै पीड़ा त के आशान्तिको कुनै छनक थिएन। जे भए पनि मोक्तान लापत्ता भएको खबर चारैतिर फैलिएको थियो। यसबीच ब्राइन मोक्तानलाई लिएर कतिपय अपवाह चलेकोले परिवार पक्ष आहत बनेको प्रशान्तले जनाए। तिनले भने, तिनी ड्युटी जॉंदैगर्दा मलाई फोन गरेका थिए। त्यही अन्तिम बातचित बन्यो हाम्रो। तिनी निडर र मिलनसार थिए। तिनी बेपत्ता भएको कुरा नै विश्वास लागेको छैन। मोक्तानसित हरेकदिन सगैँ हुने प्रशिद्ध फुटबल खेलाड़ी साथी उर्गेन लामा उर्फ मिनी भन्छन्‌, ब्राइन सबैभन्दा नजिकको साथी हुन्‌ मेरो। तिनलाई पाइएन भने संगीत जगतमा गतिलो क्षति हुनेछ। तिनी यस्ता संगीतकार थिए जसलाई वर्ड भन्दा पनि धेर कर्ड थाहा थियो। उनी जस्तो मान्छे संगीत क्षेत्रले अर्को पाउने छैनन्‌। गीतकार विपिन स्याङदेन भन्छन्‌, उनी वेपत्ता बनेकोले टुहुरो अनुभव गरेको छु। नितान्त एक्लो  अनुभव गरेको छु। तिनले अझ भने, तिनले मेरो खोलै खोला बगेर पुग्यो सागरैमा, भन्ने गीतमा संगीत दिएका थिए जसले गृहलक्ष्मी पुरस्कार जितेको थियो। तिनी टिस्टाबाट नै हराए। मलाई मेरै गीतले अहिले पिरोलिरहेको छ। युवा संगीतकार किरण छेत्रीले आफ्नो मेरूदण्ड नै गुमेको बताउँदै भन्छन्‌, उनी आउनेछन्‌, मलाई यो विश्वास छ।

चारदिनदेखि छोरो हराएकोमा छटपट्टिएकी मोक्तानकी आमा सुलोचना मोक्तानले भनिन्‌, चुनाउको निम्ति ड्युटीमा गएका सबै फर्किए, मेरो छोरो फर्किएको छैन। जानेबेला दुइ छोरीलाई बाई भनेर गएका, गएकै गएकै भए। घरमा आएका छैनन्‌। सबै उसैलाई पर्खिरहेका छौं। यता कालेबुङमा ब्राइन मोक्तानसित पहिलो म्युजिकल व्याण्ड खोल्ने केशर मोक्तान भन्छन्‌, फिलिङगो व्याण्ड खोलेका थियौं, जसको नाइके ब्राइन नै थिए। अहिले सबै बितेका दिनहरू ताजा भइरहेको छ। म पीड़ित छु। यस्ता कोही छैनन्‌ जो ब्राइन निखोजको खबरले आहत नहोस्‌। यसकारण ब्राइनका निकटवर्ती मित्र, शुभचिन्तक, प्रशंसकहरूले तिनको खोजी कार्य जारी राखेका छन्‌। तिनी निखोज रहेको प्राथमिकी दर्ता पनि गरिएको छ भने महकुमा अधिकारीलाई पनि चुनाउ ड्युटी गएका मोक्तान घर नफर्किएको कुरा जनाइएको छ। परिवार पक्षले कसैले पनि कतै देखे परिवार पक्षलाई जनाइदिने अपील पनि गरेको छ। ब्राइन मोक्तानकी आमा भन्छिन्‌, चार दिन भयो, छोरो घर आएको छैन। किसिमकिसिमको खबर आइरहेको छ। मलाई त जस्तोरूपमा नै भएपनि छोरो घर आइदिओस्‌ लागेको छ।

0 comments: on "जागे जागे सारा रात ब्राइन आउँछन्‌ भनेर..."