‘नानीहरूले भरपेट खाएर पढेको देख्दा आनन्द मिल्छ’
प्रज्ज्वल छेत्री
कालेबुङ, 11 अप्रेल।
‘यी नानीहरूको सुर्तामा राती पटक्क निन्द्रा लाग्दैन। तरैपनि सम्झन्छु यी नानीहरूले राम्ररी शिक्षा आर्जन गर्दैछन्, उनीहरूले भरपेट खाएर सुतिरहेका छन्, जसले गर्दा आत्मासन्तुष्टि मिल्छ। आनन्द लाग्छ, केही गरिरहेको छु भन्ने ठानेर आफैआफ सन्तुष्ट हुन्छु’-अबनेर राई भन्छन्। आफ्नो बाल्यकालको तितो अनुभव भोगेका अबनेरलाई लाग्छ-हाम्रो समाज धेरै विकसित भयो भनेर हामी भन्छौं, तर हाम्रो समाजको एकपाटो अझपनि दयनीय अवस्थामा छ। हाम्रै समाजका एकपाटोका नानीहरूले शिक्षा लिन पाइरहेका छैनन्।
लिटल एञ्जेल्स चिल्ड्रन्स होमका असाहय नानीहरू |
उनीहरूले बस्न, लाउन खान, पाइरहेका छैनन्। डुवर्समा चियाकमानहरू बन्द हुँदा उनीहरू आफ्नै आमा बाबुबाट बेचिन पुग्छन्। स-साना नानीहरूको दुखदायी अवस्था पटक्क हेर्न नसक्ने अबनेरले अहिले 53 जना यस्ता असाहय नानीहरूलाई लिएर व्यक्तिगत प्रयासमा अंग्रेजी माध्यमको शिक्षा दिँदै लिटल एन्जेल्स चिल्ड्रेन्स होममा बाबु आमा दुवैको प्रेम दिँदै भरण पोषण गरिरहेका छन्। पेशाले प्राथमिक शिक्षक रहेका पेदोङ निवासी पास्टर अबनेर राई आफ्नो बाल्यकाल दुखदायीपूर्ण बितेको कारण असाहय नानीहरूको दुःख पटक्क सहन गर्न नसक्ने बताउँछन्। यी होममा रहने 53 जना नानीहरूको निम्ति तिनले 2010 देखि नै बजारमा लिटल एन्जेल्स एकाडेमी खोलेर उच्च स्तरीय अंग्रेजी माध्यमको शिक्षा पनि दिँदैछन्। छैटौं श्रेणीसम्म रहेको यस स्कूललाई 10 औं श्रेणीसम्म बढोत्तरी गरेर सीबीएसई बोर्डसित जोड्ने तिनको चाहना छ। हाल यस च्यारेटी स्कूलमा होमका 53 जना लगाएर मोठ 115 जना विद्यार्थीहरू अध्ययनरत छन्। ‘2001 तिर नै मलाई यस्ता नानीहरूलाई भरण पोषण गरी शिशित बनाउने इच्छा जाग्नथाल्यो’-अबनेरले भने, ‘खरसाङ सिमलबारीमा कार्यरत छँदा एक विकलाङ्ग नानीलाई भेटेर घर ल्याएँ।
पछिबाट डुवर्सतिरबाट अनेकौं बेचिन लागेका नानीहरूलाई पनि मैले घर ल्याएँ।
पहिले 10 जनासम्मलाई घरमा राखेर पढाउँछु भन्नै सोँच राखेको थिएँ। तर पछिबाट यी नानीहरू बढ्दै गए अनि डेरा र पानीको अभावमा मैलै पुर्ख्यौली अलैँचीबारी जमिनलाई फॉंडेर नानीहरूलाई यहॉं राख्न शुरू गरे।’ यहॉं बस्ने नानीहरूलाई भरणपोषणको लागि तिनले 3 जना कर्मचारी पनि नियुक्त गरेका छन्। नानीहरूलाई दूध खुवाउन यहॉं गाईहरू पालिएको छ। मासु खुवाउन सुङ्गुर अनि बाख्राहरू पालिएको छ। विशेष यहॉंका नानीहरूलाई नैतिक शिक्षा प्रदान गरिएको छ। जसले गर्दा यिनीहरू ठुलोले सानालाई माया गर्नुपर्छ भन्ने जान्दछन्। ठूला नानीहरूले स-साना नानीहरूलाई दोह्रयाउँदै स्कूल लैजान्छन्, विरामी छँदा हेरचाह गर्छन् अनि एकाअर्कामा खुब हेलमेल हुन्छन्। यहॉं पालिएका कुकुर, हॉंस, कुखुरा, गाई, ब्राख्रा खरायोसित नानीहरू रम्छन्।
‘खुबै अनुशासित रहने यी नानीहरूले गाउँमा परेको बिहे मरौमा पनि खुब काम सघााउँछन्-’ स्थानीय ड्राइभरले भने। यहॉं बेसहारा नानीहरू मात्र नभएर आमा बाबुले छोडेर बेहाल भएका नानीहरूलाई पनि राखिएको छ।
‘आमा अर्कोसित गइछन्, बाबुले अर्को ल्याएछन्’ -एक आखॉं बाहिर निस्किसकेका एक नानीलाई देखाउँदै अबनेरले भने। तिनीअनुसार कोइलाखानीमा लडिराखेको अवस्थामा यी नानीलाई मानिसहरूले भेटेछन्। नानीको आँखा दुखेको देख्दा आँखामा केही बिझ्यो भन्ने मानिसहरूले ठानेछन्।
तर ती नानीले खान नपाउन भिटामिनको कमिले आँखा विस्तारैै बन्द हुने अवस्थामा पुगिसकेकोले नानीलाई उनले होममा ल्याएर अहिलेसम्म थुप्रै उपाचरहरू गराइसकेको भएपनि केही फाइदा नभएको बताउँछन् अबनेर।
‘मलाई सुर्ता लाग्छ, यी केही नानीहरू पढेर डाक्टर, इन्जिनियर बन्ने क्षमता बोक्दैनन्’-अबनेरले भने, ‘तरैपनि म यी नानीहरूलाई केही न केही गरेर स्वनिर्भर बनाउनेछु।’ होम अनि एकाडेमी सञ्चालनमा आफ्नो पत्नीले पनि आफूलाई खुब सहयोग गर्ने गरेको पनि अबनेरले बताए। तिनले भने, ‘यी नानीहरूले मलाई सर होइन बाबा भन्छन्, म यी नानीहरूलाई आफ्नै बाबुको झै माया दिन चाहन्छु।
नानीहरूलाई राम्रो बाटोमा हिनाउन केहीबेला पिट्न अनि गाली गर्न परेपनि उनीहरूलाई आफूमाथि अत्याचार भएको भान हुन म दिँदिन।’
7 जना ट्रस्टीरहेको रहेको संस्था आशादीप चेरिटेबल ट्रससित यो जोडिएको जानकारी गराउँदै तिनले अहिलेसम्म ठोस रूपमा सरकारी गैर-सरकारी संस्था कसैबाट आफूले सहयोग नपाएको बताए।
कसैले व्यक्तिगत रूपमा केही सहयोग पुर्याउने गरेको बताउँदै तिनले आफूलाई आंशिक रूपमा भएपनि सहयोग पुर्याउने केही नामहरू लिए।
गान्तोकबाट स्थानीय केही चालकहरू साथै हेब्सीबा चर्च, रेभ. आरएस योञ्जन, चालक जोसिया राई, अलगढाबाट लक्ष्मी, माया राई, यहॉं बसेका सेनाहरूले पनि कहिलेकॉंही होमलाई सहयोग पु़र्याउने गरेको छ। सामान्य तरिकाराले यी नानीहरूलाई राख्दा, एकाडेमीमा 12 जना शिक्षकहरू, होमका तीन कर्मचारी आदिलाई कमभन्दा कम राशि दिँदा पनि 35 हजारभन्दा अधिक आफ्नो खर्च हुनेगरेको अबनेर राईले बताए। नानीहरूलाई लाग्ने खर्च जोहो गर्न अवरेनरले पेदोङमा होस्टेल नै खोलेका छन्।
जहॉंबाट आएको पैसा तिनले यी नै नानीहरूको निम्ति खर्च गर्छन्। सडक छेउमा आफ्नो घर भएकोले हास्टेलबाट आएको राशि, आफ्नो कमाइ आदि जम्मै लगाएर यी नानीहरूलाई तिनले भरणपोशण सितै शिक्षा दिइरहेको भएपनि जतिजति नानीहरूले उच्च शिक्षा लिँदै जान्छन् उतिउति आफ्नो जिम्मेवारी बढ्दै जाने चिन्ता तिनीसित रहेको छ। अबनेर राईका अघिल्ला बाटाहरू सहज नरहेको भएपनि तिनी यी नानीहरूको उज्ज्वल भविष्यको निम्ति हताश नबनी निस्वार्थ सेवाको भावमा अघि बढ्दै समाजलाई मानवताको पाठ सिकाइरहेका छन्।
0 comments: on "53 असाहय नानीहरूको बाबु अबनेर"
Post a Comment