मुख्य समाचार :


आन्द्रमा गुञ्जियो गोर्खाल्याण्डको आवाज

राष्ट्रियस्तरमा नै सहयोग गर्नेछौं-अभाप्रम एसोसिएसन
आन्द्रप्रदेश,९ फरवरी|
आन्द्रप्रदेशको विजयवाडामा क्रामाकपाको नारी सङ्गठन गणतान्त्रिक क्रान्तिकारी नारी मोर्चाले हिजो अनि आज दुवै दिन छुट्टै राज्य गोर्खाल्याण्डको आवाज उठाएको छ|

गक्रानामो टोली अखिल भारतीय प्रगतिशील महिला एसोसिएसनको दुइदिने अधिवेशनमासहभागी हुन विजयवाडा पुगेको थियो| गक्रानामोका १६ सदस्यीय टोलीले विजयवाडाको थोमलपल्ली कलाक्षेत्रम भवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा सहभागिता दिँदै छुट्टै राज्य गोर्खाल्याण्ड भारतभरिका गोर्खाहरूको राष्ट्रिय चिह्नारीको लडाई रहेको कुरा देशका विभिन्न राज्यबाट आएका विभिन्न सङ्गठनका क्रान्तिकारी महिलाहरूलाई अवगत गराएको छ| विन्द्या गोतामेले बताए अनुसार सम्मेलन अघि नारीमुक्तिको निम्ति महाजुलूस निकालिएको थियो|

अखिल भारतीय प्रगतिशील महिला एसोसिएसनका नेतृत्वले अगुवाई गरेको र्‍यालीमा महिला हकहितमा ३३ प्रतिशत महिला आरक्षण हुनुपर्ने, पुलिसी अत्याचार बन्द गर्नुपर्ने आवाज उठाइएको थियो भने भ्रष्टचारलाई संरक्षण गर्ने युपीए सरकारले चौकी छोड्ने माग पनि गरिएको थियो| यसैबीच देशले गर्ने महिला भेदभाव बन्द गर्नुपर्ने मात्र होइन आशाकर्मीहरूलाई सरकारी मान्यता दिइनुपर्ने माग पनि उठाइएको थियो| जुलूसपछि सम्पन्न भएको अधिवेशनमा गक्रानामो केन्द्रिय सचिव सञ्जिला घिसिङले आफ्नो सम्बोधन राखिन्| तिनले भनिन्, देश निर्माणमा गोर्खाहरूको भूमिका अक्षुण्ण छ| देशरक्षामा गोर्खाहरूले रगत बगाएको छ| जुन देशलाई गोर्खाहरूले बचॉंइरहेको छ त्यही देशमा देश बचाउने गोर्खाहरूलाई विदेशी भनिन्छ| यसै कारण देशमा गोर्खाहरूको अलग्गै चिह्नारी स्थापित गरिनुपर्छ|

गोर्खाहरूको राष्ट्रिय चिन्हारी केवल राज्य निर्माणले मात्र गर्नसक्छ| तिनले क्रामाकपा लगायत गोर्खाहरूको राष्ट्रिय चिह्नारीको निम्ति भइरहेको आन्दोलनबारे पनि विभिन्न राज्यबाट आएका समूहलाई बताइन्| तिनले गोर्खाहरूको चिह्नारीको आन्दोलनलाई दबाइने कार्य भइरहको सन्दर्भमा बोल्दै एउटा जिल्लाको विकास एजेन्सी देखाएर छुट्टै राज्यको मुद्दालाई बिथोल्ने षडयन्त्र भइरहेको बताइन्| तिनले भनिन्, यसै कारण अहिले राष्ट्रियस्तरमा मुद्दाको औचित्य बुझाइने कार्य भइरहेको छ| तिनले अझ भनिन्, देशमा अन्य ठाउँमा पनि छुट्टै राज्यको माग गरिएको छ, तर उनीहरूसित गोर्खाल्याण्डको मुद्दा मल्दैन| हाम्रो चिन्हारीको मुद्दा हो, उनीहरूको विकासको मुद्दा हो|यसैबीच गक्रानामो टोलीले विभिन्न राज्यका प्रतिनिधिहरलाई छुट्टै राज्यबारेको दस्तावेज पनि प्रदान गर्‍यो|

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अखिल भारतीय प्रगतिशील महिला एसोसिएसनका सचिव मिना तिवारीले गक्रानामोले प्रस्तुत गरेको गोर्खाहरूको चिह्नारीको मुद्दालाई अखिल भारतीय प्रगतिशील महिला एसोसिएसनले राष्ट्रियस्तरमा समर्थन र सहयोग गर्ने बताइन्| तिनले भनिन्, यसको निम्ति प्रस्ताव नै लिइनेछ| गोर्खाहरूको देन देशमा अतुलनीय छ| आत्मनिर्णयको अधिकारबाट गोर्खाहरूलाई बाहिर राखिने कार्य भइरहको छ| छुट्टै राज्यले गोर्खाहरूको चिन्हारी स्पष्ट बन्ने छ| अखिल भारतीय प्रगतिशील महिला एसोसिएसका अध्यक्ष श्रीलता स्वामीनायन, स्त्री विमुक्ति संगठनका चालापली विजया, नेश्‍नल फ्रण्ट इण्डियन वुमनका दुर्गा भवानीले पनि अधिवेशनलाई सम्बोधन गरेकी थिइन्| गक्रानामोबाट विन्द्या डुक्पा, मणिका राई, पद्मा राई विमति राई लगायत १३ जना कार्यकर्ताहरू अधिवेशनमा उपस्थित थिए|

0 comments: on "आन्द्रमा गुञ्जियो गोर्खाल्याण्डको आवाज"