मुख्य समाचार :


चरण सर्दै आ-आफ्नै आन्दोलन

कालेबुङ, 20 दिसम्बर।
अब छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मोठ तिनोटा आन्दोलन हुने भएको छ। गोर्खाल्याण्ड टास्क फोर्स, युवा मोर्चा अनि गोजमुमोको। कसले बेशी आन्दोलन गर्ने? भन्ने खेल खेलेको जस्तो अब जसले पायो त्यसले गर्ने आन्दोलनमा जनताको आफ्नो विचार भने कसैले सोधेका छैनन्‌। गोर्खाल्याण्ड टास्क फोर्सले पनि छुट्टै राज्यको निम्ति नै आन्दोलन गरिरहेको छ भने अब युवा मोर्चापछि फेरि विमल गुरूङले पनि आन्दोलन गर्ने भएका छन्‌। एउटै दलबाट दुइवटा आन्दोलन हुने कुराले राजनैतिक सचेतहरूको निम्ति माथापच्ची शुरू भइसकेको छ। बिमल गुरूङले जीटीए ढिलो गठन गरेकोमा ममता व्यानर्जीसित मनदुःख त गरे नै चुनौती पनि दिएका छन्‌। डा. हर्कबहादुर छेत्रीले जीटीए ढिलो हुँदा केही असर मोर्चालाई नपर्ने बताइरहेको बेलामा अध्यक्ष विमल गुरूङको मनदुःख विरोधाभाषपूर्ण देखिएको छ। अध्यक्षले जीटीए ढिलो भएकोमा अब छुट्टै राज्यको दोस्रो चरणको आन्दोलन गर्ने भइरहेका छन्‌ भने विधानसभामा सरकारी बेञ्चमा बस्ने विधायक डा. हर्कबहादुर छेत्रीले भने एकैवर्ष ढिलो हुँदा पनि फरक नपर्ने बताइरहेका छन्‌। प्रवक्तालाई फरक नपर्ने तर अध्यक्षलाई फरक पर्ने कुराले मोर्चाभित्र वैचारिक र मुद्दागत एकरुपता नरहेको कुरालाई पुष्टि गरेको छ। अब भने जीटीएको कारण नै छुट्टै राज्यको आन्दोलन हुने भएको छ। यस अघि छैटौं अनुसूचीको कारण छुट्टै राज्यको आन्दोलन भएको थियो। छैटौं अनुसूची जनताको माग नरहेको भन्दै छुट्टै राज्यको आन्दोलन गर्ने मोर्चाले पनि जनताले नचाहेकै जीटीएमा आन्दोलन टुङ्गाएपछि गोजमुमो र जीटीए विरुद्ध अर्को राजनैतिक दल गठन गर्ने हल्ला चलिरहेको छ। यता विपक्षी शक्तिलाई सङ्गठित गर्दै राष्ट्रिय सङ्गठन भारतीय गोर्खा परिसङ्घले राष्ट्रियरुपमा तीन चरणमा आन्दोलन गरिरहेको छ। अहिले राष्ट्रिय अनि क्षेत्रीय दुइरुपमा मोर्चा र मोर्चा बाहिरका सङ्गठनहरूको आन्दोलन भइरहेको छ। गोर्खाल्याण्ड टास्क फोर्सको आन्दोलन राष्ट्रिय अनि गोजमुमो र गोजयुमोको आन्दोलन क्षेत्रीय। दुइवटै आन्दोलनलाई तुलनात्मकरुपले हेर्दा राष्ट्रियरुपको आन्दोलन नै आजको समयको माग रहेको सबैले अनुभव गरिरहेका छन्‌। पहाडमा जनसभा र र्‍याली गर्दैमा त्यो आन्दोलन हुनेछैन। हुने छ भने त्यो केवल दलीय कार्यक्रम मात्र। मुद्दाको निम्ति राष्ट्रिय सहमतिको परिस्थिति निर्माण गरिन अनिवार्य रहेको छ। जुन काम नगरेर छुट्टै राज्यलाई टाडाको सपना बताउँदै मोर्चाले कमाइखाने भॉंडोकोरुपमा जीटीएमा हस्ताक्षर गरिसकेको छ। इन्द्रेको बाबु चन्द्रे आए पनि अहिले नै छुट्टै राज्य बनाउन सक्दैन भन्ने मोर्चाका प्रवक्ता डा.हर्कबहादुर छेत्रीले बारम्बार नै मोर्चाले आन्दोलनको क्रम स्थगित भएको पुष्टि गरिरहेका छन्‌। डा. छेत्रीले स्पष्ट भनेका छन्‌, छुट्टै राज्य गोर्खाल्याण्ड अहिले नै हुन सक्दैन। समय लाग्छ। यसकारण नै त्यो लामो समयसम्म आन्दोलन भएमा पहाडको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा व्यापक नोक्सानी हुनेछ। यसैकारण नै पहाडको विकास पनि गर्दै गर्ने अनि आन्दोलन पनि विस्तारै जारी राख्ने उद्देश्यमा मोर्चाले जीटीएमा हस्ताक्षर गरेको हो। जुन जीटीएमा हस्ताक्षर गरिएको छ वास्तवमा त्यो नै राज्य भन्दा कम्ति छैन। तिनले केवल पहाडको तीन महकुमाका जनसंख्यालाई नै केन्द्रमा राख्दै जीटीएलाई 50 प्रतिशत छुट्टै राज्य अनि 20 प्रतिशत मात्र बङ्गाल अधिनस्त रहेको पनि स्पष्ट पार्दै आइरहेका छन्‌। तिनको यस्तो वयानले मोर्चा पार्टी बचाउको राजनीतिमा ओर्लिएको अनि छुट्टै राज्यको निम्ति क्षमता गुमाइसकेको स्पष्ट पार्दै आइरहेको छ। तेलङ्गनामा जति सांसद, विधायक , क्षेत्र, राजनैतिक शक्ति र जनशक्ति छ, त्यसको तुलनामा गोर्खाहरू एकांश पनि नरहेको डा.हर्कबहादुर छेत्रीको भनाइ रहने गरेको छ। यता गोर्खाल्याण्ड टास्क फोर्स अनुसार आन्दोलनलाई तीन महकुमाभित्र सिमित गराइँदा नै आन्दोलनकारी सङ्गठन शक्तिहीन हुने गर्छ। मोर्चाको पनि त्यस्तै अवस्था भइसकेको छ। गोटाफो(गोर्खाल्याण्ड टास्क फोर्स)ले राष्ट्रियस्तरमा गोर्खाहरूलाई एकिकृत गर्ने अनि अन्य समुदाय र आन्दोलनकारीहरूसित पनि सहकार्य नगरी सफलता हात नलाग्ने कुरा बताइरहेको छ। सांसदहरूबाट सहमति जुटाउने कार्य अनि अन्य सम्प्रदाय र देशका नीति निर्धारकहरूलाई गोर्खाहरूले दाबी गरेको छुट्टै राज्यको अनिवार्यता र तथ्यपरकताबारे अवगत गराइए छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्ने परिस्थिति बन्न सक्छ भन्ने विश्वास गोटाफोले राखेको बताइएको छ। आन्दोलनलाई राष्ट्रियरुप दिइएमात्र जनाकांक्षा पुर्तिको परिस्थिति बन्ने कुरा गर्दै गोटाफोले राष्ट्रिय कार्यक्रम गरिरहेको छ। तर यता पहाडको तीनवटा महकुमामा भने गोजयुमोले आन्दोलनको हुङ्‌कार गरिरहेको छ तर आन्दोलन भने केवल जनसभा र र्‍याली बताइरहेको छ।जनसभा र र्‍यालीले छुट्टै राज्यहुने हो भने मोर्चाले गरेको जनसभा र र्‍यालीहरू अझ पनि जनताले विर्सन सकेका छैनन्‌। जुन शक्ति गोजयुमोले पहाडमा देखाइरहेको छ, त्यही र त्यत्रै शक्ति दिल्लीमा देखाए केन्द्र सरकार हल्लिने स्पष्ट छ तर यसो गरिरहेको छैन। अर्को तिर विमल गुरूङले आफै पनि आन्दोलन गर्ने बताइरहेका छन्‌। अब कसको आन्दोलनले जनमुद्दालाई सम्बोधन गर्ने र सफल पार्ने हो त्यो त दलीय कार्यक्रममा नै निर्भर रहने कुरा हो। तर केन्द्र र राज्यको दृष्टिकोणमा छुट्टै राज्य आन्दोलनकारी गोर्खाहरूमा विभाजन रहेको स्पष्ट छ। विभाजनको समस्यालाई समाधान नगरी चरण मात्र फेर्ने आन्दोलन के सॉंच्चैका आन्दोलन हुन्‌ त? सोंच्ने पालो जनताको रहेको छ।
 


0 comments: on "चरण सर्दै आ-आफ्नै आन्दोलन"