मुख्य समाचार :


जनलोकपालमा सीबीआई परे मदन तामाङ हत्याकाण्ड सुल्झिने?




कालेबुङ, 22 दिसम्बर।
सीआइडीको हातबाट फुत्केका मदन तामाङ हत्याकाण्डका प्रमुख आरोपी निकोल तामाङको अझसम्म अत्तोपत्तो छैन। निखोज निकोललाई अझसम्म सीबीआईले खोजी निकाल्न सकेको छैन। सीबीआईले निकोल नेपालमा नै लुकेर बसेको आशंका गरिरहेकोे भएपनि आजसम्म खोजी निकाल्न नसक्नुमा मदन तामाङ हत्याकाण्डका आरोपीहरूलाई सरकारले कुनै स्वार्थको कारण अहिले नै पक्रन नचाहेको हो कि भन्ने प्रश्न लोकतन्त्रप्रेमी जनसाधरणले गरिरहेका छन्‌।  मदन तामाङ हत्याकाण्डको    मूल लकरको चाबी निकोलसित नै   हुनसक्ने प्रबल सम्भावनाहरू रहँदा रहँदै पनि निकोल जीवित छन्‌ या छैनन्‌ आजसम्म  स्पष्ट छैन। यसैले सीबीआईलाई पनि मानिसहरूले पत्यारो दिन छोडेका छन्‌। सीबीआईबाट विश्वस उठ्‌नुको कारण अन्य राजनैतिक हत्या र त्यसमाथि चलिरहेको जॉंच प्रमुख रहेको छ। अर्कोतिर, मदन तामाङले न्याय पाउने आशामा अझसम्म बसिरहेकी भारती तमाङको पर्खाइ निखोज निकोलको कारण अझ लम्बिएर गइरहेको छ। त्यसैपनि अहिलेसम्म दार्जीलिङ पहाडमा भएको राजनैतिक हत्याहरूलाई सीबीआईले टुङ्गो लगाउन  सकेको छैन। सीबीआईको यस्तै कार्यप्रणालीले गर्दा नै सीबीआई पनि सरकार प्रायोजित नै हुनसक्ने सम्भावनाहरूलाई हेरेर नै अन्ना हजारेले सीबीआई पनि जनलोकपालको  दायराभित्र हुनपर्ने माग गरिरहेका छन्‌। अन्नाको विचारअनुसार सीबीआई पनि सरकार प्रायोजित हुन्छ अनि सरकारकै निर्देशनमा चल्ने गर्छ। यसैले सीबीआई जनलोकपालको दायराभित्र हुनुपर्ने कुरालाई सीबीआई अनि सरकार दुवैले नकारिरहेको छ। यता अन्नाको दाबीलाई विश्लेषण गरेर हेर्दा उसो भए  मदन तमाङ हत्याकाण्डलाई अघि बढाइरहेको सीबीआई पनि सरकार प्रयोजित नै त होइन भन्ने प्रश्न अहिले टङ्‌कारो भएर उभिएको छ। यदि अन्ना हजारेले चाहेजस्तै सीबीआई जनलोकपालको दायराभित्र परे मात्र मदन तमाङले न्याय पाउने आशा गर्न सकिन्छ। यदि जनलोकपालभित्र सीबीआई नपरे मदन तामाङ हत्याकाण्डको पनि नौं वर्षपछि सीके प्रधान हत्याकाण्डको जस्तै नितान्तै ढिलो मुद्दा शुरू भयो भन्ने कुरा सुन्न पाइनेछ। धेरैले मदन तामाङलाई भन्ने गरेको 'लास्ट हिरो अफ गोर्खाज' ले न्याय पाउन अझ कति समय लाग्ने हो  वा न्याय पनि पाउँछन्‌ पाउँदैनन्‌ यो भारतको न्यायपालिकामा नै भर पर्नेछ। 21 मई 2010 मा खुलेआम हत्या गरिएको मदन तमाङको हत्याराहरूलाई पक्राउ गर्न त परको कुरो पक्रेका आरोपीलाई पनि फुत्काई पठाउनु अनि अहिलेसम्म नभेट्टाउनुमा कसै न कसैको स्वार्थ लुकेको हुनसक्ने स्पष्ट छ। मदन तामाङ हत्याकाण्डमा प्राथमिकीमा नाम रहेकोले हत्या हुनेबित्तिकैदेखि  आजसम्म  अण्डरग्राउण्ड बन्नेहरूलाई धरी प्रसासनले पक्राउ गर्न नसक्नु अथवा पक्राउ गर्न नचाहनुले हत्याकाण्डमा थुप्रै रहस्य लुकेको हुनसक्ने कुरोलाई नै पुष्टि गर्दछ। 


0 comments: on "जनलोकपालमा सीबीआई परे मदन तामाङ हत्याकाण्ड सुल्झिने?"