मुख्य समाचार :


गोर्खाल्याण्ड : कारण अनि वास्तविकता

सी. के. श्रेष्ठ

भारतवर्षमा उठेका, नयॉं होस्‌ वा पुराना, अलग राज्यका सबै मागहरूमा गोर्खाराज्यको माग आज सबैभन्दा गलत रुपले उठान गरिएको, गलत रुपले व्याख्यान गरिएको, गलत रुपले बुझिएको माग बनेको छ। जसले यो मागबारे बुझेजस्तो भान गर्छन्‌ उनीहरूले पनि यसलाई तेलेंगना, बुन्देलखण्ड, विदर्भ आदिजस्तै आर्थिक विकास अनि राजनीतिक क्षमताका निम्ति गरिएको साधारण माग नै सम्झन्छन्‌। अनि अन्यले यसलाई सरासरी उनीहरूको राज्य वा देशलाई विभाजन गर्ने राक्षसी परिकल्पना भनेर अमान्य ठान्छन्‌ जबकि भारतीय संविधानको धारा 3 (क) -मा स्पष्ट रुपमा लेखिएको छ , राज्य निर्माण हुनसक्छ......इत्यादि।

वास्तविकता के छ भने चाहे केन्द्र सरकार होस्‌ वा यो समस्याको समाधानार्थ खटाइएका व्यक्तिहरू कोही पनि गोर्खाल्याण्डको आन्दोलनको वास्तविक पृष्ठभूमि र कारणहरूबारे सचेत छैनन्‌। परिणामस्वरुप, मुद्दाको समाधानको बहानामा भारतीय गोर्खाहरूको राष्ट्रिय आकांक्षालाई आँखीओझेल गर्दै स्थानीय अनि क्षेत्रीय राजनीतिक स्वार्थले प्राथमिकता पाइरहेका छन्‌। महत्त्वाकांक्षी नेताहरू र स्वार्थनिहित राजनीतिज्ञहरूको अबैध सम्बन्धको कारण यो मुद्दाको केन्द्रबिन्दु अब राष्ट्रियदेखि स्थानीय स्तरमा गिरेको छ।

गोर्खाल्याण्ड आन्दोलन केको निम्ति हो भन्ने वास्तवमा बुझ्नका निम्ति यो मुद्दा के हो अनि के होइन सो बुझ्न नितान्त आवश्यक छ। अवधारणालाई स्पष्ट पार्नका निम्ति विस्तृत विवरणतिर नगएर केही मुख्य अनि विशेष विषयहरू यसरी बुझ्नसकिन्छ -

गोर्खाल्याण्ड - यो के हो अनि के होइन?

यो हो - भारतभरि छरिएर बसेका ती 1.25 करोड़ गोर्खाहरूको आकांक्षा जो यो देशमा उनीहरूको राष्ट्रिय साथसाथै राजनीतिक अधिकारको खोजीमा छन्‌ अनि गोर्खाल्याण्डबिना उनीहरू सधैँ नै यो देशमा बहिरागत, सुकुमवासी, अप्रवासी अनि कहिलेकाहिँ त विदेशी भनेर पनि भूल बुझाइएका र गलत अर्थ लगाइएका छन्‌।
एउटा समस्या जो भारतको जुनै ठाउँमा बसे पनि हरेक गोर्खाले हरपल सामना गर्नुपरिरहेको छ त्यो हो उनीहरूको राष्ट्रिय चिह्नारीमाथि घरिघरि गरिने शङ्कापूर्ण अनि आक्रमक प्रश्न। गोर्खाल्याण्डको माग भारतीय गोर्खाहरूलाई सधैँभरि बिझाइरहने यसै समस्याको समाधानको निम्ति उठेको मुद्दा हो।

यो हो - आफ्नै देशमा अन्य भातृ जातिहरू बराबर गणतन्त्रको फल उपभोग गर्दै ससम्मान अनि सगौरव बॉंच्न चाहने एउटा पछौटे समुदायको सङ्घर्ष। उनीहरूको आफ्नै एउटा राज्यको अनुपस्थितिमा भारतीय गोर्खाहरूको राष्ट्रिय चिह्नारीलाई सदैव प्रश्नवाचक रुपमा उभ्याइएको छ। सधैँभरि आफ्नै देशले यस्तो सोच राखेर परीक्षण गर्ने गरेको स्थितिलाई भारतका गोर्खाहरूले आफ्नो गलामा जॉंतो झुण्यड्याइएजस्तै अनुभव गरेका छन्‌। यसैले गोर्खा समुदाय यो देशको राष्ट्रिय प्रतिस्पर्धाको चित्रमा निम्न दर्जामा देखा पर्नुमा कुनै शङ्का छैन।

यो हो - भारतको हरेक गोर्खाले आफ्नो ठेगाना देखाएर सगौरव भारतीय भएर बॉंच्न अनि मर्नका लागि देखेको सुनौलो सपनाको साकार रूप। वास्तवमा उत्तर-पूर्वाञ्चलका सबै अभारतीयजस्तै भारतीय जातीय समुदायले पनि यही चिह्नारीको समस्याको सामना गर्नुपर्नेथियो यदि उनीहरूको आफ्नै राज्य नभएको भए जसलाई उनीहरू आफ्नो ठेगानाको रुपमा चिनाउँछन्‌।


यो हो - राष्ट्रिय तहमा सुल्झाइनुपर्ने गोर्खाहरूको एउटा राष्ट्रिय मुद्दा। गोर्खाल्याण्ड भनेको दार्जलिङ होइन। केही दार्जलिङे राजनीतिक नेताहरूलाई रुझाएर यो समस्यालाई जबरजस्ती दार्जलिङकेन्द्रित बनाउँदै यसको समाधान खोज्नु भारतभरि छरिएर बसेका सम्पूर्ण गोर्खाहरूको आन्तरिक मुद्दालाई अलग बनाउन खोज्नु हो। यो दार्जलिङ केन्द्रित पहल भारतको सम्पूर्ण गोर्खा समुदायप्रतिको एउटा ठूलो अन्याय मात्रै होइन तर गोर्खा मुद्दाप्रति एउटा अविस्मरणीय धोखा पनि हो।

गोर्खाल्याण्ड गोर्खाहरूले स्वाधीनता सङ्ग्राममा निर्वाह गरेको भूमिका अनि यो देशको निर्माण र सुरक्षामा उदाहरणीय वीरता र इमानदारी प्रदर्शन गर्दै पुर्‍याएको योगदानलाई भारतवर्षले स्वीकार अनि सम्मान गर्नुपर्ने माग पनि हो।

एउटा विडम्बना भारतमा के भएको छ भने जुन राष्ट्रभक्त गोर्खाहरूले भारतको स्वाधीनता सङ्ग्रामको निम्ति ब्रिटिशको हातबाट फॉंसीमा झुण्डिनुपर्‍यो, यो देशको संविधान निर्माण समितिका सदस्यको रुपमा योगदान गर्‍यो अनि राष्ट्रिय गीतको धुन सिर्जना गर्‍यो तिनका सन्ततिहरूले आज आफ्नै भारतीयपनको प्रमाण दिनका लागि सङ्घर्ष गर्नुपरिरहेको छ।

यो होइन -
एउटा अलगाववादी आन्दोलन ः 1.25 करोड़भन्दा धेरै गोर्खा जनसङ्ख्यामा केवल 15-20 लाख प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रभित्र पर्दछन्‌। देशका अन्य भूभागमा रहने करोड़भन्दा अधिक गोर्खाहरूलाई लत्याएर गोर्खाल्याण्डका गोर्खाहरू अलग्गिने प्रयास गर्नेछन्‌ भन्ने सोच राख्नु अव्यावहारिक अनि हास्यस्पद विषय हो।
गोर्खाल्याण्डको समग्र मुद्दा नै भारतीय भनेर आफूलाई परिचित गराउन खोज्ने एउटा समुदायको कठोर सङ्घर्षको किंवदन्ती हो। अलग गोर्खा राज्यको मुद्दा पृथक्‌ताको निम्ति अलग हुनु होइन तर अखण्डताको निम्ति अलग हुनु हो।

यो होइन -
भारतको कुनै राज्य अनि समुदायको विरोधको माग। भारतमा एउटा राज्यले चिह्नारी मात्रै प्रदान गर्दैन तर यसले राजनीतिक सुरक्षा अनि सामाजिक-सांस्कृतिक संरक्षण पनि प्रदान गर्दछ। जसरी बिहार बिहारीहरूका निम्ति छ अनि बंगाल बंगालीहरूका लागि चाहे उनीहरू भारतको जुनै राज्यमा बसेका हुन्‌, उसरी नै भारतभरिका गोर्खाहरूका लागि गोर्खाल्याण्ड राज्य रहनेछ।

यो होइन -
बंगालसितको सॉंधसिमानाको विवादको मुद्दा होइन। दार्जलिङ अनि संलग्न डुअर्स क्षेत्रलाई यसको उपयुक्तता अनि व्यावहारिकताको साधारण कारणले गर्दा नै गोर्खाल्याण्ड राज्यको निम्ति रेखाङ्कित गरिएको हो। प्रथमतः यस क्षेत्रमा गोर्खा जनसङ्ख्याको घनत्व सर्वोच्च रहेको छ अनि द्वितीयतः यो क्षेत्र कहिल्यै पनि बंगालको भूभाग थिएन भन्ने ऐतिहासिक रूपले प्रमाणित सत्य हो।

यो होइन -
दार्जलिङको आर्थिक विकास अनि त्यहॉंको स्थानीय स्वायत्त प्रशासनलाई शक्तिशाली बनाउने विषय। गोर्खाल्याण्ड राज्यको माग गर्ने अधिकतर भारतीय गोर्खाहरूको दार्जलिङसित कुनै लेनदेन नै छैन। भन्नु नै हो भने भारतका अन्य भागमा रहने धेरै गोर्खाहरूले दार्जलिङ देखेका पनि छैनन्‌। यदि यो मुद्दा दार्जलिङसित मात्रै सम्बन्धित रहेको भए यसले भारतव्यापी समर्थन कदापि पाउने थिएन।

भारतमा गोर्खा राज्यको निर्माण के राष्ट्रिय हितमा छ?
छ। भारतका गोर्खाहरूको राष्ट्रिय आकांक्षा पूर्ण हुनु अनि साना प्रशासनिक एकाई गठन गरेर विकेन्द्रीकरणको राष्ट्रिय नीतिलाई विस्तारित गर्नबाहेक गोर्खाल्याण्ड राज्य गठनका दुइवटा बृहत्तम्‌ लाभ छन्‌ ः

आष्ट्रिय सुरक्षा बललाई नैतिक प्रोत्साहन पुग्नु ः
गोर्खाल्याण्डको सिर्जना हुनु भनेको भारतमा पहिलोपल्ट गोर्खा समुदायले आफ्नै रगत र पसिनाले निर्माण गरे देशको राष्ट्रिय प्रशासनमा सहभागिता जनाउने मौका पाउनु हो। गणतन्त्रको महानन्त्र, जनताको लागि, जनताको अनि जनताद्वारा भन्ने गणतन्त्रको मूलमन्त्र सॉंचो अर्थमा उनीहरूका लागि पहिलोपल्ट सान्दर्भिक अनि अर्थपूर्ण हुनेछन्‌।

यसरी देशले गोर्खाल्याण्डको गठनसहित यो जातिलाई स्वीकार गर्दा साहित्यकार, संगीतकार, कलाकार, खेलाड़ी, राजनीतिज्ञ, प्रशासक आदिले भरिएको यस देशभक्त अनि राष्ट्रवादी गोर्खा समुदाय प्रेरित र प्रोत्साहित त हुने नै छ साथै यसले गोर्खाहरूको संलग्नता रहेकोसम्पूर्ण सैनिक, अर्द्धसैनिक, पुलिस अनि सुरक्षा बलका जवान र अधिकारीहरूको आत्मविश्वास अझ दोब्बर भएर बढ़ाउनेछ।

भनिन्छ नि, देशको लागि मर्नु राम्रो हो तर मर्नका लागि एउटा देश हुनु जरुरी हुन्छ।



2. उत्तर-पूर्वाञ्चलको भू-राजनीतिमा सकारात्मक प्रभाव ः
महात्मा गान्धीको ऐतिहासिक दाण्डी यात्रा होस्‌ वा नेताजी सुभाषचन्द्र बोसको आजाद हिन्द फौजमा होस्‌ भारतीय गोर्खाहरू सदैव राष्ट्र अनि राष्ट्रिय स्वाधीनता आन्दोलनका सङ्ग्रामीका रुपमा अघि बढ़ेका छन्‌ - गोर्खाहरूको इतिहास भारतको राष्ट्रिय इतिहासको एउटा अखण्ड अध्याय हो। यसोस्ले यदि गोर्खाल्याण्डको गठन भए यो देशको झगड़ालु अनि राजनीतिक रुपले अस्थिर उत्तर-पूर्वाञ्चल क्षेत्रबीच एउटा देशभक्त अनि राष्ट्रवादी राज्य बन्नेछ। यस क्षेत्रमा विच्छिन्नतावाद अनि राष्ट्रविरोधी शैतानिक तत्त्वहरू आतङ्कवाद र उग्रवादका रुपमा गतिशील अनि क्रियाशील छन्‌ जो सारा देशकै निम्ति एउटा टाउको दुखाइको विषय बनेको छ।

नवगठित गोर्खा राज्यले अवश्यै उत्तर-पूर्वाञ्चलको मानसिकतामा सकारात्मक असर पुर्‍याउनेछ अनि देशभक्तिले पूर्ण सोच र विचारहरू विस्तारित गर्दै राष्ट्रिय अखण्डताको कार्यप्रणालीलाई यस क्षेत्रभरि नै प्रसार-प्रचार गर्नेछ। यो सम्भव छ किनभने भारतका एक करोड़ बीस लाख गोर्खाहरूमा सर्वाधिक रासोबासो उत्तर-पूर्वाञ्चल क्षेत्रमै रहेको छ अनि आ-आफ्नै राज्यमा रहेका उत्तर-पूर्वाञ्चलका अन्य समुदायको विपरीत गोर्खाहरू भने सबै राज्यमा छरपस्टिएका छन्‌।

यसैले, यदि गोर्खाहरूको यो दीर्घकालीन समस्याको समाधान खोज्नु हो भने गोर्खाल्याण्ड आन्दोलनका कारण अनि वास्तविकतालाई गम्भीर रुपले विचार गर्नु अति नै आवश्यक छ। यो एउटा उचित समय हो कि संसारको सर्वबृहत्‌ लोकतन्त्र अब जागोस्‌‌‌ अनि राष्ट्रिय चिह्नारीको वोधबाट विचलित बनी सामाजिक रुपले वञ्चित, आर्थिक रूपले किनारीकृत अनि राजनीतिक रुपले पीड़ित भारतीय गोर्खा जनसमुदाय न्याय प्रदान गर्दै आफ्नो लोकतान्त्रिक चरित्रको प्रमाण दिने कार्यमा जुटोस्‌।

भारतका गोर्खाहरूको यो राष्ट्रिय समस्या केवल यो देशको संविधानअन्तर्गत एउटा अलग गोर्खा राज्यको निर्माणले मात्र समस्या हुनेछ।

0 comments: on "गोर्खाल्याण्ड : कारण अनि वास्तविकता"