कालेबुङ,28जून।
गोर्खा जनमुक्ति मोर्चाले आखिरमा जन

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले अहिले जनताले दोस्रो चरणमा महाधोका पाइरहेको स्थितिकोरुपमा वर्तमानलाई परिभाषित गरेको छ। क्रामाकपाको आरोप अनुसार मोर्चाले भोट गोर्खाल्याण्डको निम्ति मागेर जनताले दुत्कारेको परिषद नै थापेर देशभरिका गोर्खाहरूको आकांक्षाको हत्या गरेको छ। क्रामाकपाका सचिव तारामणि राईले मोर्चाको यही छलपकट उदाङ्गो पार्न जनतामा पुग्ने मतो गरिसकेको जनाएका छन्। यसै शिलशिलामा कालेबुङ आइपुगेका राईले प्रारम्भिक चरणमा मोर्चाले जनतालाई दिइरहेको तथ्यहरू बोकेर डुवर्स र तराई जाने बताएका छन्।
तिनले भने, मोर्चाले अर्को दागोपापको निम्ति गरिरहेको चलखेलबारे क्रामाकपाले जनतालाई अवगत र सतर्क गराउँदै आइरहेको हो। यसपल्ट जनतालाई भ्र्रममा राखियो। परिषद्को निम्ति पनि मोर्चालाई जनमत देखाउने राज्य र केन्द्रले अड्को राखेको थियो। यसकारण मोर्चाले विभिन्न नाटकबाजी गरेर गोर्खाल्याण्डको निम्ति भन्दै जनतालाई भोट माग्यो। जनता पनि भरोसा गरेर मोर्चालाई भोट दियो तर जनताको भोट परिषद्को जनमतकोरूपमा राज्य र केन्द्रमा राखेर मोर्चाले रोटी सेक्ने काम गर्यो। मोर्चाले अहिले जुन सीमाङ्कनको कुरा गरिरहेको छ, अब यसमा पनि जनतालाई भ्रममा नै राख्ने काम भइरहेकोले जनतालाई सही कुरा बताउन क्रामाकपाले कार्यक्रम हातमा लिएको हो। तिनी अनुसार परिषदमा गोर्खाल्याण्डको मानचित्रमा रहेका क्षेत्र वा प्रस्तावित राज्यभित्र राखिएका तराई र डुवर्स परस्दैन।
यसको निम्ति मोर्चाले राज्य र केन्द्रलाई सहमति पनि दिइसकेको छ। राईले भने, जोइन्ट भेरिफिकेशन कमिटी जुन गठन गरिने कुरा चलिरहेको छ, यसैमा हामीलाई शंका लागेको छ। अहिलेलाई शंकै भनौं किन भने सही कुरा शीघ्र नै अघि आइहाल्ने छ। तिनले मोर्चाले गुप्ती रिपोर्ट पठाएदेखि नै गोर्खाल्याण्डको मुद्दा छोड़ेको बताउँदै भने, भ्रामक टिप्पणी र सचेतना दिइने कार्य गरेर मोर्चाले आफ्नो रोटी सेकिरहेको छ। मोर्चाले खासमा नै गोर्खाल्याण्ड जस्तै व्यवस्था मात्र ल्याइने कुरा छर्लङ्ग पारेको हो।
गोर्खाल्याण्ड जस्तै भनिएको कुरा राज्य होइन भन्ने कुरा बुझ्न जनतालाई समय लाग्न सक्छ र जनताले यो कुरा बुझ्ने नै छन्। जनतालाई बुझाउनको निम्ति नै क्रामाकपाले अहिले विभिन्न कार्यक्रमहरू हातमा लिएको छ। तिनी अनुसार मोर्चा नैतिकरूपमा नै राज्यको पक्षमा रहेको दल होइन। किन भने मोर्चाले जति पनि गोर्खाल्याण्डको नाममा आन्दोलनको बहानामा कार्यक्रमहरू गर्यो, त्यसको लक्ष्य परिषद् नै थियो। मोर्चाका कार्यक्रमहरूलाई विश्लेषण गरेर हेर्नेहरूले यो कुरा छर्लङ्ग बुझ्नेछन्।
तिनले भने, मोर्चाले गुप्ती रिपोर्ट ल्यायो, त्यो पनि विवादास्पद् छ। पछि प्राधिकरण भन्यो त्यो पनि स्पष्ट थिएन। विधान सभा चुनाउको कारण दुइवर्षको मियाद पनि राख्यो। त्यसबेला दुइवर्षपछि के हुन्छ स्पष्ट पार भनेका थियौं। मोर्चाले त्यसको जवाब दिएन। अहिले चुनाउ सकियो त्यही परिषद थाप्ने भइरहेको छ। क्रामाकपाले जनतालाई धोेका हुन दिने छैन।
0 comments: on "जनतालाई दिइएको धोकाबारे बुझाउन जनतामा जानेछौं-तारामणि राई"
Post a Comment