दार्जिलिङभित्रै तपाई बसाइँ सर्न बाध्य हुनुभएको थियो नि, किन?
मेरो बुबाले १९५० मा तुङसुङ बस्तीमा एउटा घर बनाउनुभयो, जहाँ मैले बस्न पाएँ। तर, सन् १९७० को दशकमा सुभाष घिसिङको आन्दोलनले हामी कतिपयलाई शत्रु देख्यो। हामी भाषाको नाम नेपाली हो, घिसिङले भनेको जस्तो ‘गोर्खा' होइन भन्थ्यौं। त्यही निहुँमा घिसिङको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले मेरो घरमा एकपटक बम हान्यो भने अर्कोपटक आगो लगाउने प्रयास गर्यो। त्यसपछि मैले सन् १९७५ तिर तुङसुङ छाडी बजारबीचको लोचनगर क्षेत्रमा घर बनाएर बस्नुपर्यो। तर, तुङसुङको घर अझै छ, भाइहरू बस्छन्। त्यहाँ ठूलो जमिन छ, पाँच एकड जति। त्यसमै छ मेरो भाग।
शिक्षण पेशा रोजेर यसमै रिटायर्ड हुनुभयो। शिक्षणमा किन यति समर्पण?
सन् १९५० मा बीएको परीक्षा दिएँ, त्यसको परिणाम घोषित नभइकनै मेरो पुरानो स्कुल सेन्ट रबर्ट हाइस्कुलका प्रिन्सिपल रेभरेन्ट फादर अरिमोले शिक्षण गरिदिनुस् भनिहाल्नुभयो। अनि म शिक्षक नै बनेँ।
अरू पेशामा पनि अवसर थिए होला नि?
त्यसबेला ग्य्राजुयट गर्नेको संख्या थोरै थियो। अरू विभागीय नोकरी पाउन सक्थेँ तर शिक्षक नै बनेर रहेँ।
तहल्कै मच्चिने गरी साहित्यमा आयामेली अभियान कसरी सुरु भएको थियो?
सन् १९६० को दशकमा वैरागी काइँला, ईश्वरवल्लभ र म एउटा पुस्तकको विषयमा चर्चा गर्थ्यौं। त्यो पुस्तक थियो, हर्बट मार्कुसले लेखेको ‘द थर्ड डाइमेन्सनल म्यान'। त्यस पुस्तकले भनेको थियो, आजका सामाजिक, राजनीतिक, आर्थिक र धार्मिक व्यवस्थाले नै सबै मानिसलाई तेस्रो आयाम वा चेप्टोपनमात्र भएको जस्तो तुल्याउँछ। हामी भन्थ्यौं, मानिस चेप्टो आयामको मात्र हुनु हुँदैन, तीनै आयाम भएको अर्थात् मोटाइ, लम्बाइ र चौडाइ भएको हुनुपर्छ। र, अझ काल समयको चेतनाको थप आयाम भएको चार आयामिक हुनुपर्छ। यस ज्ञानलाई हामीले आयामिक सिद्धान्त, आयामिक कथा र आयामिक कवितामा अपनायौं।
आयामेली लेखनले साहित्य र जनजीवनमा कस्तो प्रभाव पारेको पाउनुभयो?
हामीले लेखेका कविता, कथा तथा साहित्य सिद्धान्तले पाठकहरूको जीवनमा कति प्रभाव पार्यो त्यो त भन्न सकिँदैन। केहीले हाम्रा कुरालाई मनमा लिएको पायौं। समय बित्दै गएर आज देख्छौं, अभियानले नेपाली साहित्यको भाषा लेखनमा केही प्रत्यक्ष प्रभाव पार्दै आएको छ।
दार्जिलिङमा नेपालीहरूको जीवन निर्वाहको पद्धति पहिले कस्तो थियो, अहिले कस्तो हुँदै आएको छ?
सुगौली सन्धिपछि दार्जिलिङ क्षेत्र ब्रिटिस राज्यमा गाभियो। त्यसबेलामा भएका नेपालीहरूले साधारण खेतीपाती गरेर, कुखुरा बाख्रा पालेर जीवन निर्वाह गर्थे। अंग्रेजले त्यहाँ चियाको खेती गर्न थालेपछि नेपालका पहाड खण्डबाट धेरै मानिस मुग्लान पसे। अनि चियाबारीमा काम गर्ने कुल्ली कबाडी बने। केही पछि नै तर ब्रिटिस सरकारबाट जमिन लिई खेती गर्ने नेपालीहरू पनि भए, त्यसपछि ब्रिटिस फौजमा भर्ना हुने गोर्खा सिपाहीहरू भए। अनि केही पछि प्राथमिक पाठशालामा पढाउने र सरकारी अफिसमा किरानी काम गर्ने मौका पनि नेपालीले पाए। उच्च शिक्षा पाएका उच्च सरकारी ओहोदामा पुगेका र व्यापार धन्दातिर लागेका नेपाली पनि भेटिन थाले तैपनि आजसम्म ठूला उद्योगपति बन्ने औकातमा हामी पुगेका छैनौं।
दार्जिलिङदेखि उताका नेपालीहरूलाई के भन्ने? प्रवासी नेपाली कि भारतीय नेपाली?
उत्तर आधुनिकतावादले परिभाषालाई वा परिभाषित गर्ने कार्यलाई साह्रै शंकाको दृष्टिले हेर्दछ। प्रवासनको परिभाषा नयाँ दृष्टिले गर्नुपर्ने आवश्यकता अनुभव हुन्छ। दार्जिलिङका नेपालीहरूले सन् १९५० सम्म आफूलाई प्रवासी नेपाली भन्थे। त्यसपछि भने प्रवासी भनिएको नरुचाई आफूलाई भारतीय नेपाली भन्न थालेका छन्। अर्थात् भारतमै रैथाने भएर बसेका नेपाली समुदायहरू। कसको ऐतिहासिक दृष्टि कस्तो छ, त्यसै अनुसार आफ्नो परिचय बताउँछन् उनीहरू।
साहित्यका मार्गदर्शक सर्जकहरू जन्माउने दार्जिलिङतिर हिजोआज नेपाली साहित्यको अवस्था कस्तो छ?
दार्जिलिङ नभनौं, भारतपट्टिको भनौं। दार्जिलिङ, सिक्किम र आसामसम्म समेटिन्छ। यहाँ पुस्तक प्रकाशन हेर्दा सन्तोषजनक नै देखिन्छ। प्रत्येक महिना ५-७ पुस्तक प्रकाशित हुन्छन्। नयाँ कविलेखकहरू आइरहेकै छन्। तर, गुणात्मक दृष्टिले हेर्दा भने थोरै कृतिमात्र हामी दिन सकेको जस्तो लाग्छ।
उताका आशालाग्दा साहित्यकारका केही नाम याद छ?
कविताको क्षेत्रमा मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, केवलचन्द्र लामा, मोहन ठकुरी, भविलाल लामिछाने आदि प्रमुख छन्। कथा लेखनमा चाहिँ सानु लामा, सूर्यकुमार सुब्बा, प्रवीण राई जुमेली, गुप्त प्रधान र विन्ध्या सुब्बा तथा समालोचनामा कुमार प्रधान, डा लक्कीदेवी सुन्दास, कविता लामा, पेम्बा तामाङ र घनश्याम नेपाल प्रमुख छन्।
दार्जिलिङमा बसेर नेपाली कृति पढ्न कति सहज छ? नेपाली पुस्तक र कृतिहरू उपलब्ध हुन्छन्?
दुःख मान्नुपर्ने खण्ड छ। नेपालमा प्रकाशित कृतिहरू भारतमा पुग्दैनन्। भारतका पुस्तक र पत्रपत्रिका खुलासँग नेपालमा आउँछन् तर नेपाली प्रकाशन भारततर्फ छिर्न किन दिइँदैन, यो उच्च सरकारी स्तरमा नेपालले उठाउनु पर्ने विषय छ।
त्यसो भए उताका पाठकहरू नेपालका समकालीन साहित्यसँग कसरी परिचित हुन्छन्?
भारतका नेपाली लेखकहरू काठमाडौं आइरहन्छन्। आएका बेला पाइएका चर्चित पुस्तकहरू लिएरै फर्किन्छन्। यसरी नेपालका समकालीन साहित्यसँग धेरथोर अवगत नै रहन्छौं हामी।
अहिले नेपालका कस्ता कृति रुचाइएको छ त्यहाँ?
दार्जिलिङका साहित्यप्रेमीहरूको कपाल दुखाइरहन सफल कृतिमा सञ्जीव उप्रेतीको ‘घनचक्कर', कुमार नगरकोटीको ‘मोक्षान्तः काठमाडौं फिभर', जगदीश शम्शेर राणाको ‘सेतो ख्याकको आख्यान' मुख्य छन्। राणाको किताब त्यता भर्खरै पुगेको हो। यी कृति पढ्नलाई पाठकले मिहेनत गर्नुपर्छ। त्यसैले मन पराइएको हो।
यी त आख्यान भए, कवितामा मन जित्न सफल कोही छ जस्तो लाग्छ?
मोहन कोइरालाका कविता सबैलाई चाम्रो च्युरा चपाइपछिको मिठो स्वाद पाइने कृति हुन्थ्यो। त्यसपछि भने चपाउनु पर्ने कविता कृति प्रायः छैनन्। कसैकसैले नयाँ शैलीको भाषामा प्रयोग गर्दै गरेको हो कि जस्तो चाहिँ भएको छ।
तपाईको भाषालाई पनि क्लिष्ट मानिन्थ्यो। भाषा सजिलै बुझिनु ठिक कि क्लिष्ट हुनु?
भाषाको क्लिष्टता कृतिकारको लेखन लक्ष्यमा भर पर्छ। लेखकको लक्ष्य कथा भन्नेमात्र हो भने सहजै बुझिने भाषा हुन्छ। तर कसैकसैको लेखन लक्ष्य एकभन्दा धेरै हुनसक्छ। सूचना दिँदादिँदै लेखकको मानसिक अनुभूति पनि दिने भाषा केही क्लिष्ट त भइहाल्छ। तर, जुनै लेखकले पनि आफूले लेखेको पढ्दा आनन्द लाग्ने होस् भन्ने इच्छा छाड्न सक्दैन। आनन्दप्रदता सबै लेखनको अभीष्ट हुनुपर्छ।
तपाईले १९७२ तिर थाल्नुभएको लीलालेखन किन आलोचित भयो?
लीला लेखनको सिद्धान्तका व्याख्या गरेर अरूले प्रशस्त कृति लेखेका छन्। समर्थनमा पनि। विरोधमा पनि। पाठक वर्गले ती हेर्नु भए आफ्नो विचार बनाउन सक्नुहुन्छ।
दार्जिलिङका पात्रहरूका आकांक्षाप्रति तपाईले आफ्ना कृतिहरूमा निकै संवेदनशीलता अपनाउनु भएको छ। अहिले त्यहाँ गोर्खाल्यान्डको प्राप्ति नै ठूलो आकांक्षा बनेको छ, पूरा होला यो?
दार्जिलिङ, सिलगुडी र डुअर्स् क्षेत्र कहिले पनि बंगाल थिएन। यो क्षेत्र कहिले नेपाल, कहिले सिक्किम त कहिले भुटानको अधिनमा थियो। अंग्रेजको भूलले गर्दा हाम्रो क्षेत्र बंगालको उपनिवेश बन्यो। यसको मुक्तिको निम्ति हामी सधैं लड्नेछौं। सधैं एक भएर। बंगाल एकदिन यो क्षेत्र छाडेर जानेछ।
0 comments: on "‘प्रवासीको परिभाषा फेरिएको छ'"
Post a Comment