मनोज वोगटी
कालेबुङमा ऐतिहासिक धरोहरहरू दिनोदिन पतनोन्मुख बनिरहेको छ। कालेबुङ वरिपरि यसप्रकारका धरोहरहरू धेरै छन् जो उचित संरक्षण नपाएर अस्तित्वहीन बन्ने अवस्थामा छन्। 86 को आन्दोलनमा यस्ता धरोहरहरू पहाड़मा धेरै जलाइए भने तीमध्ये सबैभन्दा अधिक कालेबुङमा जलाएको कतिपय स्थानीय बृद्धहरू बताउँछन्। यसै क्रममा डम्बरचौक छेउको जनमुक्ति पार्क भएको ठाउँमा पनि ब्रिटिशकालीन हस्तशिल्प केन्द्र रहेको अनि त्यही केन्द्रमा तालिम लिएर डम्बरचौक छेउमा पसल थापेर बसेको बताउँछन् 93 वर्षीय फुपछिरिङ भोटिया। कालेबुङमा अधिकांश लेप्चाहरूसित नै अन्य मिश्रित नेपाली अनि भोटेहरू पनि बसोबास गर्थे। त्यसताक श्रीमती ग्राहम्स कालेबुङमा थिइन्।
अहिलेको कालेबुङको मेन रोड
उनको आफ्नो कर्मक्षेत्र डा. ग्राहम्स होम्स रहेको भए पनि कालेबुङको मानिसहरूको अवस्था बुझेर औ त्यस समयको बाल विवाह, दाइजो प्रथा, कलिलो उमेरमा सन्तानोत्पति, त्यसै घरमा कुरेर बस्नेहरूको समस्यालाई मध्यनजर गर्दै आयरल्याण्ड अनि स्कटल्याण्डबाट धागो ल्याएर लगभग 1902 सालतिर तान बुन्न सिकाउन शुरू गरिन्। 1905 सालतिर उनले यहॉंका महिलाहरूलाई भेला गरी सानो खरको छाप्रो लगाई स्वास्थ्य शिक्षा, अङ्ग्रेजी अक्षर सिकाउन शुरू गरिन्। वृद्धहरूलाई कुखुरा अनि परेवा पाल्न सिकाइन्। जसले गर्दा त्यहॉंका मानिसहरूको आर्थिक विकास हुन थाल्यो। श्रीमती ग्राहम्सले यहॉंको पुरुषवर्गलाई पनि काठ, चॉंदी आदिको तिब्बती डिजाइनमा गहनाहरू बनाउन प्रोत्साहन दिइन्। पछिपछि कालेबुङमा बनिएका सामानहरू इंग्ल्याण्ड, आयरल्याण्ड अनि अन्य ठाउँहरूमा प्रसिद्ध बन्दै गयो। उनले अहिलेको जनमुक्ति पार्क अनि गोर्खा
जनमुक्ति मोर्चाको कार्यालय भएको ठाउँमा 1907 सालमा चार-पॉंचजना महिलाहरूलाई लिएर आट्र्स एण्ड क्राफ्ट इण्डस्ट्रियल स्कूल स्थापना गरेकी थिइन्। त्यसताक कालेबुङमा दक्ष सिकर्मीहरू एकाध रहेकोले अन्य तराई खण्डबाट ल्याउन पर्थ्यो। स्थानीय मानिसहरूलाई पनि काष्ठकलामा दक्ष बनाउन श्रीमती ग्राहम्सले 1909 सालमा काष्ठशिल्प तालिम केन्द्र पनि खोलिन्। कालेबुङका मानिसहरू केन्द्रमा तालिम लिन धेरै मात्रामा आउने गर्थे। पछिबाट अङ्ग्रेजले छोड़ेर गएपछि मिशिनेरी कार्यालय कालेबुङका छिरिङ काबो, लाछिरिङ टाइपिस्ट बाबु, पी.एन. विश्व, हर्कधोज राई, रणदीप राई, फूपछिरिङ भोटिया, एन.बी. दाहाल अनि अन्यले चलाउन थाले। भारत स्वतन्त्र भएपछि यो संस्था 1958 सालमा को-अपरेटिभ सोसाइटी बन्न गयो। ग्राहम्सले केन्द्रमा जाने बाटोमा आफ्नो छोरी क्याथरिनको नाममा 1957 मा गेट बनाइदिएकी थिइन् जो आज पनि डम्बरचौक पछाड़ि जननजरदेखि ओझेलमा परेर बसेको छ।
जसलाई कालेबुङको धरोहर मान्न सकिन्छ। यस गेटबाट मानिसहरू मात्र होइन गाड़ीहरू पनि छिर्ने गरेको बताउँछन् फूपछिरिङ भोटिया। उनी अझ भन्छन्-15 मई 1919 मा क्याथरिन ग्राहम्सको देहान्त भयो। सोही दिन छोरी बण्टी अनि नर्मन ओर्लिङले महत्त्वपूर्ण जिन्कोबोयोलोबाको पौधा आमाको सम्झनामा आट्र्स एण्ड क्राफ्ट परिसरमा रोपेका थिए जो आज पनि जनमुक्ति पार्कको बीचमा सोंचनीय अवस्थामा रहेको छ। यो वृक्ष एशिया महादेशमा यहॉं मात्र रहेको औ यसको बोक्रा डाइनोसरले खोजी खोजी खाने गरेकोले यसको छुट्टै महत्त्व रहेको कतिपय बृद्धहरूको भनाइ रहेको छ। यहॉंको आट्र्स एण्ड क्राफ्ट इण्डस्ट्रीमा बुनिएको सामानहरू, जङ्गली झारपातबाट तयार पारिएका रङहरू विदेशमा पनि प्रसिद्ध बन्दै गयो। त्यसबेला इण्डस्ट्रीमा ऊनीको, सुतीको गलैंचा, पेचवर्क स्थानीय चित्राङ्कन, लाप्चे नाम्जा, टेबल छोप्ने लुगा, आगोको राप छेल्ने पर्दा, रूमाल, काठ अनि बॉंसबाट खोपिएको हस्तकला बनिने गर्थ्यो।
सुन्दर रूपमा तयार पारिएको समान प्रदर्शन गर्ने शोरूम 1964 सालमा आगलागी भएपछि करोड़ौं रुपियॉंको समानाहरू खरानी भएको थियो। लगत्तै पछि 24 मई 1965 सालमा पश्चिम बङ्गालका मुख्यमन्त्री पी.सी. सेनले शिलान्यास गरेर पुनः निर्माण गरियो। तर पछिबाट 1986 देखि दार्जीलिङमा गोर्खाल्याण्डको आन्दोलन गोरामुमोले चर्काएर अघि बढ़ाउन शुरू गर्यो अनि 40 दिनको बन्द पनि डाकिएको थियो। त्यही बन्दको समयमा 16 फरवरी 1988 सालमा कालेबुङको सुन्दर आट्र्स एण्ड क्राफ्ट धरोहर ध्वस्त बन्यो। यसरी ध्वस्त बनेपछि यहॉं इण्डस्ट्रियल पार्क बनिएर गयो पछिबाट 2008 सालमा गोजमुमोले यसलाई जनमुक्ति पार्क नामाकरण गर्यो। 45 वर्षसम्म आट्र्स एण्ड क्राफ्टमा काम गरेपछि लगभग 35 वर्ष अघि फुपछिरिङ भोटियाले दोकान शुरू गरे। आज उनको दोकान भएको ठाउँमा राजा एडवर्ड सातौं अनि रानी अलेक्जाण्डरको स्मृति स्वरूप बाबु रामचरण मिन्त्रीले 1902 सालमा कोरोनेशन डिस्पेन्सरी खोलेका थिए।
पछिबाट डिस्पेन्सरी यहॉंको महकुमा अस्पताल परिसरमा सारिएपछि खाली रहेको ठाउँमा भोटियाले दोकान शुरू गरे। 93 वर्षीय फुपछिरिङ भोटिया आज पनि हसिँला रसिला छन्। दोकानमा आउनेहरूलाई जोड़ी चकलेट दिन्छन् उनी। उनी नेपाली, अङ्ग्रेजी, हिन्दी, बङ्गला भाषा पनि स्पष्ट बोल्न सक्छन्। उनी आफ्नै हातले काठको ड्—यागन, लाप्चे टोपी, बटुवा, काठको मार्क्स, झोला, जातीय वेशभूषा प्याचवर्क आदि बनाएर पसलमा राख्ने गर्छन्। सिजन भएको बेला कारीगर राखेर काम गर्ने गरेको तर सिजन नहुँदा भने एक्लै काम गर्ने गरेको बताउँछन् उनी। विशेष गरेर दोकानको सामानहरू पर्यटकहरूले मात्र किन्ने गरेको तर स्थानीय जनसाधारणले भने हस्तकलाको महत्त्व नबुझेको पनि गुनासो गर्छन् उनी। तर पनि पहाड़वासी एवं आदिवासीहरूको संस्कृतिमा आधारित सामाग्रीहरू पर्यटकहरूको केन्द्र बन्दै गइरहेको छ। यस पसलमा कालेबुङका कतिपय कलाकारहरूले आफ्नो मेहनतलाई व्यवसायमा संलग्न बनाइरहेको भोटिया बताउछन्।
मुख्यगरी यस पसलमा स्थानीय घरेलु उद्योग धन्दा गर्ने कलाकारहरूद्वारा निर्मित सामाग्रीहरू बिक्री गरिन्छन्। फलस्वरूप बेकारी समस्या समाधान मात्र नभएर कतिपय युवा तथा परिवारको आर्थिक अवस्थामा पनि विकास ल्याउन सहायता पुगेको भोटिया बताउँछन्। हस्तशिल्प नै लगनशीलतासँग सिकेर काम गरे सरकारी नोकरी खोज्न नपर्ने पनि बताउँछन् भोटिया। घरेलु उद्योगलाई विभागले ध्यान दिए सायद यहॉंको कला पनि ठूला-ठूला नगर तथा अन्तराष्ट्रिय बजारमा पुर्याउन सकिन्छ भन्ने यहॉंका कलाकारहरूले विश्वास राखेका छन्।
पग्ला कुकुर
12 years ago
0 comments: on "पतनको मुखेञ्जी ब्रिटीशकालीन हस्तशिल्प केन्द्र"
Post a Comment