मुख्य समाचार :


मोर्चाले परिषद् थापिहाल्न परोस्‌

गोर्जमान गुरूङ

गोर्खा जनमुक्ति मोर्चाले परिषद् थापिहाल्न परोस्‌। अचम्म लाग्छ होला मोर्चाका नेताहरू पनि यो कुनचॉंही आयो, जसले कमसेकम मोर्चाको मनकै कुरा गर्‍यो भनेर। कोही त रहेछन्‌ कि मोर्चालाई बुझ्न सकेछ भनेर। यत्रोे महिनाको मोर्चाको कोशिष सफल भइहालोस्‌ प्रभो। कमसेकम मोर्चा यस्तो पार्टी हो जसले हॉंक्काहॉंक्की परिषद् थाप्छौं भनेर खुल्लम खुल्ला भन्यो। घिसिङले पनि यति सजिलै दागोपाप थाप्छु भनेनन्‌। दागोपाप थाप्नुको निम्ति 12 सय मार्नु पर्‍यो। 40 दिन बन्द गेर जनतालाई भोकभोकै राख्न पर्‍यो। मोर्चाले 12 सय नै मार्न परेन अनि जनतालाई भोकभोकै राख्न पनि परेन। गान्धीवादी भएपछि गोरामुमोकै हाराहारी आउन पनि भएन नी त।

फरक हेर्नुहोस्‌ न, घिसिङले ड्रप गर्‍यो, मोर्चाले सम्झौतामा परिषद्ले आन्दोलनलाई बाधा गर्दैन भनेर लेख्ने छ। यो मोर्चाको एचिभमेन्ट हो। दागोपापमा 22 वटा विभाग थियो मोर्चाको 55 वटा हुनेछ। फरक हेर्दै जानुहोस्‌ है त। तीनवटा महकुमा थियो अब तराई र डुवर्सका केही भाग पनि हुने छ। 86 मा 7 रुपियॉं पर्ने चामल अहिले तीस रुपियॉं पर्छ। दागोपापमा आउने पैसा र परिषद्मा आउने पैसाको तुलना र विभागको तुलना यसैबाट गर्नुहोस्‌। मोर्चामा यसै पनि टिचरहरू धेरै नेताहरू छन्‌। हिसाब त पक्का आउँछ नै होला। दार्जीलिङ गोर्खा पार्वत्य परिषद् थियो अब गोर्खाल्याण्ड पार्वत्य परिषद् हुनेछ। घिसिङले चौतारी भनेका थिए विमलले घड़ेरी भन्दैछन्‌। अर्काको जमीनमा घड़ेरी खन्नेहरू कसको दास हुन्छन्‌ त्यो त 104 वर्षदेखि माटो माग्नेहरूलाई हिसाब आउनुपर्ने।

विमल भाइले गर्वले भने-जो माग्दैछौं त्यो संवैधानिक होइन। संवैधानिक नहुनुमाथि गर्व गर्नु भनेको बङ्गालको दास हुनु बाहेक अर्को पनि केही हो भने त्यो त तर्कबहादुरहरूले नै भन्न सक्छन्‌। संवैधानिक हुनुभनेको जमीन भारतको हुनु हो। ऐतिहासिकरुपले भारतको नरहेको प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रलाई भारतको वा बङ्गालको बनाउँछ भने संविधानले बनाउँछ। मोर्चाका चिफ सेक्रेटेरी र आइपीएसहरुलाई इतिहास कतिको थाहा छ कुन्नी। विमल भाइलाई संविधान कति थाहा छ, त्यो त सबैलाई छर्लङ्ग होला। छैन भने पनि मोर्चाका क्याडरहरूले एकदिन तर्कसभा राखेर अध्यक्षलाई जॉंच्दा हुन्छ। जसलाई पनि संविधान थाहा छ उसलाई यो पनि थाहा छ कि संविधानमा लेख्यो भन्दैमा पाइन्छ त? बुद्धिवादी र जुक्तिवादीहरूलाई कताबाट गोर्खाल्याण्ड हुँदैन त्यसको वकालत गर्नु सिकाउनु पर्दैन। कताबाट गोर्खाल्याण्ड हुन्छ भनेर बुझ्नु धेरैवर्षदेखि चौकीमा बस्ने र मोज गर्ने भनेर देखेको सपनामा बाधा खड़ा गर्नु हो।

सबैलाई थाहा छ, छुट्टैराज्य हुनुको निम्ति संसद नै मुख्य ढोका हो। त्यसको ढोकामा बसेर गोर्खाल्याण्डको निम्ति वानथर्ड मेजोरिटीलाई सहमतिमा ल्याउनु सबैभन्दा चर्को कुरा हो। तर त्रिपक्षीय वार्तामा बसेर तीनवटा महकुमा र थप दुइ चोइटा तराई र डुवर्सको निम्ति छुट्टै अथोरिटीमा सहमति गर्नु सबैभन्दा सजिलो कुरा हो। राज्य मागेपछि अफर त दागोपाप हुनु भएन नै, दागोपापलाई नै अलिकति क्षमता दिने अफर हो भने मोर्चाको सपना पुरा हुन्छ। जुन परिषद् बङ्गालको कानूनले चल्छ, बङ्गालको विधानसभाले चल्छ। पैसा आउँछ, केही विभाग आउँछ, त्यसको सञ्चालन गर्ने अधिकार जसले चुनाउमा जित्छ उसको हो। अबको चुनाउमा मोर्चाको जित शंकाको कुरा त छ नै, अस्तित्वको निम्ति पनि गम्भीर मसला छ।

जसले आन्दोलन गोर्खाल्याण्डको निम्ति गरेन, उबाट गोर्खाल्याण्डको आशा गर्नु भन्दा झुण्डिएर मर्नु नै बुद्धिमत्ताको कुरा हो। गोर्खाल्याण्डको निम्ति जहॉं काम गर्नुपर्ने त्यहॉं नगरेर पहाड़मा गोर्खाल्याण्डको बोर्ड झुण्डाउँछ भने यस्तो आन्दोलनको तार्गेट नोट र मोज होइन भनेर भन्ने ठाउँ कतै छैन।

अब पहाड़का पसलपसलमा लेखिएको गोर्खाल्याण्डको बोर्डको हातल के होला नी प्रभो? तर सुर्ता गर्नुपर्दैन, यही परिषद् गोर्खाल्याण्ड हो किन भने परिषद्को अघि गोर्खाल्याण्ड शब्द झुण्डाइने छ। रोशन गिरीलाई रामरी थाहा छ कि ममता व्यानर्जीले सीमाङ्‌कनको कुरालाई सोझै कसरी नकारी दिएका छन्‌ अनि यसको कारण हुने समस्याको समाधान पनि कसरी गरिने तय भइसकेको छ। डुवर्सले भेउ पाएकोले त्यसको विरोध हुँदैछ तर विरोध गर्ने त भर्खर यसैवर्षको फरवरीमा पो आएको रे। फरवरीमा आएकाहरूले पो अब के गर्ने हुन्‌।

तय के भइसकेको छ भने सीमाङ्‌कन हुँदैगर्छ। पहिले सम्झौता र हस्ताक्षर हुनुपर्छ। त्यसपछि सीमाङ्‌कनको निम्ति कमिशन बसाइन्छ। यस्ता कमिशनहरू जो भारतमा किलोको हिसाबमा पाइन्छन्‌। कसलाई कति किलो चाहिन्छ। मोर्चालाई कति किलो चाहिएको होे त्यो त हस्ताक्षर गरेको महिनादिनमा नै पो पत्तो पाइन्छ। पैसाले डुवर्सका नेताहरू ककसलाई थाम्न सक्ने हो, हेर्नु पर्ने रमिता हुनेछ। आविप पहिले वामफ्रण्टबाट चल्थ्यो अब तृणमूलबाट चल्नेछ। आविप भनेको आँटा हो, जसले गुन्दा पनि हुन्छ र जे बनाउँदा पनि हुन्छ। किन भने उनीहरू भाग्यले ठगेका हामी जस्तै एउटा विशेष वर्ग हुन्‌, यसलाई जतैबाट चलाउँदा पनि हुन्छ। सीमाङ्‌कन भयो भने छुट्टैराज्यको निम्ति। छुट्टैराज्यको कट्टर विरोधी ममता। ममताले नै बसाएको कमिशन। कमिशनमा बङ्गालकै मान्छे। डुवर्सको एकजना डुवर्सकै मान्छे होलान्‌ तर परियारसमेत बङ्गाल कै हुन्‌। तीनजनाको जति चलखेल हुनेछ, डुवर्सको एकजनाले भेउ पनि पाउनेछैनन्‌। गोर्खाल्याण्डको विरोध गर्दै स्वीट्‌जरल्याण्डको कुरा ममताले गर्दै ममता म्याजिकमा जाकिन्छ भने विमलले पालेको सपना जनताको होइन। पैसाको हो। अन्ततः सीमाङ्‌कनको कुरालाई ममताले थॉंतीमा राखेनछ भने म कान काटिदिन्छु। कान किन काट्‌छु भने ममताले मोर्चालाई खुशी पार्न दुइएक मौजा त दिन्छ नै। घिसिङलाई नै पनि 18 वटा मौजा दिएकै हो। राज्य सरकारको खातामा पनि 23 वटा मौजाबाहेक धेर त छैन। टिस्टादेखि सुनकोषसम्म रेखा कोर्ने विमल गुरूङलाई तिनकै स्टडी फोरम र सचिवले हिस्रिक्क पारेको दिन ममता व्यानर्जीले पहाड़मा अर्को शक्ति स्थापित गरिसक्नेछन्‌। तराईमा त अघि नै स्थापित भइसक्नेछ।

मोर्चाले डुवर्सलाई धोका दिनेछ। भविष्यवाणी कै रुपमा यति कुरालाई मनमा खिलेर राख्दा हुन्छ। यसैकारण नै मोर्चाले यो परिषद् थापिहाल्न परोस्‌। गोर्खाल्याण्डको नाम गरी परिषद् थाप्ने छ मोर्चाले। जनताले मोर्चालाई यहीँदेखि मनभित्रैबाट गोरामुमो र घिसिङको अर्कोरूपमा हेर्दै जानेछन्‌। यसैले मोर्चाले परिषद् थापिहाल्न परोस्‌। पहाड़का विपक्ष किन नबोलेको भनेर पत्रकारहरूले निक्कै खोजीनिति गरिरहेका छन्‌। पत्रकारहरूलाई पनि भनिराखौं, उनीहरू पनि मोर्चाले परिषद् थापिहाल्न परोस्‌ भनेर नबोलेका हुन्‌। किन भने परिषद् भने विमल गुरूङको भिजन हो। बन्दकी परेको आमा हो। भारतभरिका गोर्खाहरूको चिन्हारी हो। गुरूङको भिजन जब पुरा हुन्छ तब मात्र फाटक खुलिन्छ। अहिले भित्रभित्रै धेरै युवाभाइहरूले छुकछुक गर्दैछन्‌। सबै चुपो लागेर बस्नु। बरू प्रार्थना गर्नु, मोर्चाले परिषद् थापन परिहालोस्‌।

मोर्चा परिषद् थापेर जब चारैतिरबाट बेह्रिन्छ, तब उ आफै हिँढ्‌दा बुङ्‌बुङ्‌ लड्ने हुन्छ। लड़ाउनु पनि पर्दैन। सबैलाई थाहै छ, अब जनता गोरामुमोकालको होइन। 20 वर्षमा नयॉं पुस्ता आइसकेको छन्‌ जसलाई गठट्‌े नेता र आन्दोलनको पारम्परिक पद्धति मन पर्दैन। यसै पनि गोर्खाल्याण्ड अहिले नै हुने होइन। समय लाग्छ नै। यसकारण समय लगाएर काम गर्ने हो भने मोर्चाले जति छिटो हुन्छ परिषद् थापिहालेको राम्रो हुन्छ। म त भन्छु मोर्चाले 10 वर्ष सकोस्‌। 20 वर्ष नै सकेपनि राम्रो। किन भने मोठ चालीस वर्षको वद्ला लिने पुस्ता आउनेछ। जो खॉंटी गोर्खाल्याण्डको निम्ति आउनेछन्‌। हुन त अब 20 वर्ष नजाला। 10 पनि नपुग्ला। पहिलो पॉंचवर्षमा नै मोर्चाले गुमाउनुर्ने सबै विश्वास त गुमाउने छैन छ। मोर्चा आफैले अर्को शक्तिलाई आफ्नो विरुद्ध तयार पार्नुपर्ने हुन्छ, जसरी घिसिङले पारे। यो पनि राजनीति नै हो।

यस्तो कुरा डा.हर्कबहादुर छेत्रीलाई रामरी थाहा छ। अहिलेदेखि नै शिक्षित युवाले परिस्थितिलाई केलाउने काम भने गरिरहेको हुनुपर्छ। मोर्चाभित्र नै पसेर गोर्खाल्याण्डको काम गरिरहेकै हुनुपर्छ। सबैलाई थाहा छ, ममतासित चुक्ति भएपछि जो जो चापल्ुसेहरू थिए उनीहरूले मात्र पहाड़मा पटेका पड्‌काएका छन्‌। धेरैले पटेका पढ्‌काएनन्‌ है मोर्चाले गोर्खाल्याण्ड झुण्डाएको परिषद्मा सम्झौता गर्ने खबर आउँदा।

अहिलेसम्म पनि गाउँबस्तीकाहरूले पत्तो पाएका छैनन्‌ है मोर्चाले के ल्याइरहेको छ भनेर। यसमा मोर्चा खुशी छ, खुशी भएकै राम्रो। अहिले विधायकहरू ममतासित मिलेर गोर्खाल्याण्ड होइन स्वीट्‌जरल्याण्ड बनाउनमा लागिपरेका छन्‌। अहिलो दागोपापलाई तीन विधायक पसेर चलाउने भएको छ। यो शुरू हुन थालेपछि मोर्चाका खॉंटी नेताहरू यसैमा भुलिनेछन्‌। विमल एप्लिकेशन थाप्दै बस्नेछन्‌। अर्डर गर्नेछन्‌, कहॉंको झोड़ा बनाउनु, कहॉंको नाली।

यसकारण मोर्चाले परिषद् थापिहाल्न परोस्‌।
त्यसपछि पो यतिञ्जेल मोर्चामा आशा गरेका र धोका पाएकाहरूभित्रबाट नै गोर्खाल्याण्डको मुद्दालाई अघि बढाउन सक्नेछन्‌। विमललाई त गोर्खाल्याण्ड भन्यो कि मदन तामङको फोटो देखाइदिनेछन्‌। आउनुहोस्‌ भगवानलाई प्रार्थना गरौं र श्राप दिउँ-मोर्चाले परिषद् थाप्न परिहालोस्‌।

0 comments: on "मोर्चाले परिषद् थापिहाल्न परोस्‌"